Comments Add Comment

‘समर लभ’ हेरेपछि म खुशी छुः सुविन, क्याजुअल कुराले फिल्म बनाउने आँट आयोः मुस्कान

कृतीमाथि निर्माण भएका चलचित्रहरु सफल नभएको उदाहरण नेपाली चलचित्रमा धेरै छ । अर्कोतिर, रिलिज भैरहेका चलचित्रमा दर्शक नआएको पीडा पनि छ । यो पीडाले अहिले चलचित्र ‘समर लभ’का निर्देशक मुस्कान ढकालको मनमा चिसो पसेको छ । सुविन भट्टराइको चर्चित उपन्यासलाई दृश्यमा ढालिएर यो चलचित्र बनाइएको हो । यो चलचित्रका लेखक सुविन भट्टराई भने उपन्यासमा चलचित्र बनेकोमा खुशी देखिएका छन् । उनले भने–‘ ‘मेरो हरेक उपन्यासमा चलचित्र बनोस् भन्ने लाग्छ । ‘समर लभ’मा चलचित्र बन्दा खुशी छु ।’

पुस्तक पढेका हरेक पाठकको दिमागमा आफ्नै खालको दृश्य पनि बनेको छ । त्यसैले दर्शक चलचित्रबाट निकै आशावादी पनि छन् । किताब र चलचित्रमा तुलना गर्नेको जमात पनि निकै छ । धेरै पाठकले चलचित्रका पात्रहरुमाथि औला उठाइरहेका छन् ।

लेखक सुविन भट्टराई पनि चलचित्रका पात्रबाट असन्तुष्ट छन् । उनी भन्छन्,‘केही कलाकारहरुबाट म सन्तुष्ट छु तर, केही कलाकारबाट म निकै असन्तुष्ट पनि छु ।’ उनी आफूले किताबमा लेखेको पात्र जस्तै पात्र चलचित्रमा भइदिएको भए सुनमा सुगन्ध हुने बताउँछन् ।

सुविनले पूरा चलचित्र हेर्नु अघि चलचित्रको गीत र ट्रेलर हेरेर निर्माण युनिटलाई ‘यो भएन, त्यो भएन’ भनेर गाली गरिरहेका थिए । तर, जब उनले चलचित्र हेरे त्यसपश्चात् उनी चलचित्रबाट सन्तुष्ट छन् । सुविन भन्छन्, ‘चलचित्र नहेर्दा त बिगारे कि भन्ने लागेको थियो । तर, चलचित्र हेरेपछि म उहाँहरु प्रति निकै सन्तुष्ट भए ।’

सुविन चलचित्रले उपन्यासको चर्चालाई छुने दावी गर्छन् । उनी भन्छन्, ‘पुरा उपन्यास साढे २ घण्टाको चलचित्रमा अटाउन गाह्रो हुने रहेछ । तर चलचित्रको उपन्यासको मर्मलाई मर्न दिएको छैन ।’ चलचित्रमा इन्गेजिङ, इन्टरटेनिङ र इमोशन तीनवटै भएको सुविनको भनाई छ ।

उपन्यास पढेका दर्शकले चलचित्र र किताबलाई तुलना गर्ने कुराले लेखक र निर्देशक दुबैलाई निकै तनाब भइरहेको छ । सुविन भन्छन्, ‘यदि उपन्यास नपढेका दर्शक चलचित्र हेर्न जानुभयो भने पूर्ण मनोरञ्जन लिनुहुनेछ ।’
निर्देशक मुस्कान ढकाल ‘समर लभ’ चलचित्र निर्माण गर्न निकै गाह्रो भएको बताउँछन् । ‘हिट उपन्यासमा चलचित्र निर्माण गर्दा निकै गाह्रो हुने रहेछ’, निर्देशक ढकालले भने, ‘सबैको दिमागमा रहेको कुरालाई दृश्यको माध्यमबाट पुरा गर्नु आफैमा चुनौती हो, ढकालले भने ।

निर्देशक मुस्कानले ‘समर लभ’ क्याजुअल स्टोरी भएको कारण चलचित्र निर्माणमा आट गरेको बताए । उनले भने, ’उपन्यासहरु धेरै छन् । तर, मैले समर लभ छान्नुको मुख्य कारण भनेको यसमा भएको क्याजुअल कुराहरु नै हो । यहाँ नेपाल यातायात छ, नयाँ बानेश्वर छ, टीयु छ । यी सब कुरा भएपछि चलचित्र निर्माण गर्न सजिलो हुने देखेर नै यसमा हात हालेको हुँ ।’

सुविन र मुस्कान मिलेर अर्को चलचित्रमा पनि सहकार्य गर्ने तयारीमा छन् । सुविनको अर्को चर्चित उपन्यास ’साया’को पनि मुस्कानले निर्देशन गर्ने तयारी गरेका छन् । ‘यदि समर लभ सफल भएछ भने हामी साया पनि बनाउने तयारीमा छौँ’, मुस्कानले भने, ’तर, समर लभले सफलता पाएन भने अर्को जोखिम उठाउने कुरा हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment