Comments Add Comment

पेप गार्डिओला भन्छन् – अन्तिम खेलमा प्रिमियर लिगको नतिजा !

२४ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले अन्तिम एक या दुई खेलले विजेताको टुंगो लाग्ने आँकलन गरेका छन् ।

बुधबार राति इभर्टनलाई २–० ले हराएपछि सिटी शीर्ष स्थानमा उक्लिएको हो । २६ खेल खेलेको सिटीको ६२ अंकसहित गोल डिफरेन्सका आधारमा शीर्षमा छ भने २५ खेल खेलेको लिभरपुल ६२ अंकसहित नै दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको टोटनह्यामको २५ खेलबाट ५७ अंक, चौथोमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक रहेको छ ।

मंगलबार शीर्षमा रहेको लिभरपुलले वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेपछि सिटीलाई यो हप्ता फाइदा मिलेको थियो । यसैले लिगमा प्रतिस्पर्धा राम्रो हुँदै जाँदा प्रशिक्षक गार्डिओलाले अन्तिम एक या दुई खेलले नै विजेताको टुंगो लाग्ने बताएका हुन् ।

‘प्रिमियर लिगको उपाधि अन्तिम एक या दुई खेलमा निर्भर रहन्छ । इभर्टनविरुद्धको हाम्रो खेलले मनोबल बढेको छ’ गार्डिओला भन्छन्,

‘हामीले राम्रो गर्ने यसरी नै हो । वास्तविकता के भने एक महिना अघिसम्म हामी लिभरपुलभन्दा १० अंकले अघि थियौँ । फेरि केही दिनअघिसम्म हामी लिभरपुलभन्दा ७ अंकले पछि भयौँ । अहिले हामी शीर्ष स्थानमा छौँ ।’

आउँदो आइतबार चेल्सीसँग खेल्ने तयारीमा जुटेका गार्डिओलाले शीर्ष स्थानमा आएपछि आफूहरुले जस्तो अवस्थामा पनि कडा मेहनत गर्नुपर्ने ज्ञान पाएको बताएका छन् ।

‘मुख्य कुरा कहिल्यै हार मान्नु हुँदैन । फुटबलमा मात्रै होइन हरेक खेलाडीका लागि नै यो एउटा पाठ हो । जितको लागि मेहनत गर, किनभने अवस्था एकक्षणमै फेरिन सक्छ’ उनले भने,

‘प्रिमियर लिग उपाधिका दाबेदार धेरै छन् । अझै धेरै खेल खेल्नै छ । हामीले केही अंक गुमायौँ भने विपक्षीले पनि केही गुमाइरहेका हुन्छन् ।’

चेल्सीसँग आइतबार नै खेल्नुपर्ने भएकाले खेलाडीले आरामको समय कम पाउने भए पनि त्यसले उपाधि यात्रामा धेरै फरक पार्ने भएकाले आफूहरु मेहनतमा लागेको गार्डिओलाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment