Comments Add Comment

बिराटनगरका मेयर भन्छन् – प्रधानमन्त्रीबाट प्रभावित भएँ

प्रधानमन्त्री ओली र मेयरवीच अढाइ घण्टा छलफल

२५ माघ, बिराटनगर । एक नम्बर प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन सकेको छैन । अलमलमा एक वर्ष बिताएको सरकारले जारी हिँउदे अधिवेशनबाट राजधानी र नाम टुंगो लगाउने तयारी गरिरहेको छ । ठीक यहीबेला बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

राजधानी माग गर्दै धनकुटा र इटहरीले लविङ गरिरहेकै बेला अस्थायी राजधानी बिराटनगरका मेयर पराजुलीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । कांग्रेसका तर्फबाट मेयर बनेका पराजुलीले बालुवाटारबाट फर्केपछि आफू प्रधानमन्त्री ओलीसँग प्रभावित बनेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बिराटनगरबाट एक्लै काठमाडौं पुगेका पराजुलीले करिब साढे २ घण्टा प्रदेश राजधानी र बिराटनगरको विकास निर्माणका विषयमा छलफल भएको अनलाइनखबर बताए ।

‘प्रदेशको स्थायी राजधानीसँगै समग्र बिराटनगरको विकासका लागि प्रधानमन्त्रीसँग छलफल भयो’ मेयर पराजुलीले अनलाइनबरसँग भने,’बिराटनगरप्रति प्रधानमन्त्री धेरै पोजेटिभ हुनुहुन्छ ।’

‘प्रधानमन्त्रीबाट प्रभावित भएँ’

पहिलोपटक काठमाडौं बाहिर हुन लागेको महिला साफ च्याम्पियनसिप प्रतियोगिता उद्घाटनका लागि प्रधानमन्त्रीलाई निम्तो दिने गर्ने उद्देश्यसहित बलुवाटार पुगेका मेयर पराजुलीले पहिलो पटक प्रधानमन्त्रीसँग लामो समय कुरा गर्न पाएका हुन् ।

बुधबार बिहानै प्रधानमन्त्रीनिवास पुगेका पराजुली अढाइ घण्टाको छलफलपछि प्रधानमन्त्रीबाट आफू प्रभावित भएको बताउँदै बिराटनगर फर्किएका छन् ।
‘प्रधानमन्त्रीज्यूको चिन्ता र विचारले म प्रभावित भएँ, पराजुलीले बालुवाटारको छलफलबारे अनलाइनखबरसँग अनुभव सुनाउँदै भने, ‘प्रधामन्त्रीज्यूमा काम गर्ने स्पष्ट भिजन रहेछ ।’

करिब अढाई घण्टाको छलफलपछि समग्र बिराटनगरको विकासमा रचनात्मक भूमिका खेलिदिन आग्रह गरेको पराजुलीले अनलाइनखबरलाई सुनाए । स्थानीय सरकार जनतासँग प्रत्यक्षरुपमा जोडिने भएकाले जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्री ओलीले सुझाव दिएको पराजुलीले बताए ।

क्षेत्रीय विमानस्थलदेखि बिराटनगर रिङरोडसम्म !

बुधबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटमा बिराटनगरलाई नै स्थायी राजधानी बनाउन भूमिका खेलिदिन पनि आग्रह गरेको पराजुलीले अनलाइनखबरलाई बताए ।

छलफलपछि ठूला विकास निर्माणका योजनामा केन्द्र सरकारबाट बजेटको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई चिठी हस्तान्तरण गरिएको मेयर पराजुलीले बताए ।

बिराटनगर क्षेत्रीय विमानस्थलको स्तरउन्नतिका साथै दुई दशकअघि निर्माण सुरु भएको बिराटनगर चक्रपथलाई पूरा गर्न स्थानीय स्रोतबाट नपुग्ने भएकाले प्रधानमन्त्रीलाई आग्रह गरेको पराजुलीले अनलाइनखबरलाई बताए ।

बिराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय उडान भर्न मिल्ने गरी स्तरोन्नति गर्न प्रधानमन्त्री सकारात्मक भएको पराजुलीको भनाइ छ । ‘विमानस्थलका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत केही गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता गर्नुभएको छ ‘ मेयर पराजुलीले अनलाइनखबरसँग भने, ‘बिराटनगरको रिङरोडलाई पूर्णता दिनका लागि पनि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’

विगत ०५४ सालदेखि नै निर्माण सुरु भएको बिराटनगरको रिङरोड आझै पूरा हुन सकेको छैन । निर्माण सुरुको दुई दशकसम्म ट्र्याक खोल्ने कामसमेत पूरा नभएपछि ४२ किलोमिटर लम्बाइको रिङरोडलाई पूर्णता दिन केन्द्र सरकारसँग बजेट व्यवस्था गर्न आग्रह गर्नुपरेको पराजुलीले अनलाइनबखरलाई बताए ।

प्रधानमन्त्री ओलीलाई ऐतिहासिक विराट राजाको दरबार, सिंघिया र केसलिया खोलामा तटबन्ध गरी ग्रीनबेल्ट बनाउने लगायतका योजनाका बारेमा अवगत गराएको बताउँदै पराजुलीले यसका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment