 
																			२७ माघ, बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू कृष्णदासजी महाराजको विचार र अवधारणाबाट प्रभावित भएको बताएका छन् । मुख्यमन्त्री राईले गमलामै भए पनि खोर्सानीसमेत आफैंले फलाएर खाने महाराज सामु संकल्पसमेत गरेका छन् ।
सुनसरीको चतरामा शनिबार राष्ट्रपतिद्वारा उदघाटिक महायज्ञमा सहभागी बनेका मुख्यमन्त्री राईले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीका लागि हरित अभियान सञ्चालन गर्न तयार भएर यो प्रदेशलाई आधार बनाउने उहाँ (कृष्णदासजी महाराज) हाम्रा लागि गौरवपूर्ण व्यक्तित्व हुनुहुन्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारी कृष्णदासजी महाराजको संस्था जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठले आयोजना गरेको श्रीराम तारक ब्रम्ह महायज्ञको उदघाटन गर्न शनिबार चतरा पुगेकी थिइन् ।
सोही अवसरमा प्रदेश १ सरकारले कृष्णदासजी महाराजको अगुवाईमा हरित अभियानको घोषणा गरेको छ । महायज्ञ उदघाटनपछि राष्ट्रपतिको उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को हरित अभियानको शुभारम्भ भएको घोषणा गरे ।
दासबाट आफू व्यक्तिगतरुपमा पनि प्रभावित भएको बताउँदै मुख्यमन्त्री राईले सम्बोधनकै क्रममा संकल्प वाचन गर्न कृष्णदासजी महाराजलाई आग्रह गरे ।
‘आत्मनिर्भर प्रदेश बनाउने’ भन्दै शुभारम्भ गरिएको अभियानको उदघाटन कार्यक्रममा मुख्यमन्त्री राईले भने ‘समय समयमा उहाँ (महाराज) सँग भएको सम्वाद, अन्तरक्रियाबाट हामी प्रभावित भएर उहाँका विचार र अवधारणालाई समाहित गर्ने सरकारको निर्णयबमोजिम आत्मनिर्भर अर्थतन्त्रका लागि हरित अभियानको घोषणा गर्दछु ।’
सबै उपस्थितलाई बहुमुल्य अगर चन्दनको विरुवा उपलब्ध गराएर कृष्णदासले संकल्प प्रस्ताव गराउँदै भने ‘हरित अभियानका लागि आजकै मितिबाट सांकेतिक रुपमा खोर्सानी नै किन नहोस् आफ्नै गमलामा फलाएर वा मसला तरकारी जन्य खाद्य पदार्थ आफैं उत्पादन गरेर खानेछु ।’
‘जरिबुटी कषि र खाद्यान्य कृषितर्फ तन मन धन र बुद्धि समर्पित गरी राज्यलाई स्वरोजगार आत्मनिर्भर स्वाभालम्भी स्वाभिमानी बनाउनेछु,’ संकल्प गराउँदै महाराजजीले भने ‘प्रदेश १ सरकारबाट घोषित नीति र कार्यक्रममा आफूलाई पूर्णरुपले सहभागी गराउनेछु ।’

महायज्ञको उदघाटन गर्न चतरा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र पर्यवारणको संरक्षण तथा सम्वर्धनका लागि हरित क्रान्ति हुन आवश्यक रहेको बताइन् । प्राचीन सभ्यताको उदगम नदी किनार भएको र पर्वत श्रृंखलाबाट उत्पादित स्रोत र उर्जाबाट कृषि प्रणाली चलेको बताउँदै तीर्थस्थलले पनि सभ्यता र समाजलाई बुझ्न मद्दत पुगेको राष्ट्रपतिले बताइन् ।
श्रीराम तारक ब्रम्ह महायज्ञ करिब ७ सय ५ वर्षपछि आयोजना गरिएको आयोजकको दाबी छ । विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक आयोजना गरिएको महायज्ञमा नेपाल भारत तथा तेस्रो देशबाट तीर्थालुहरु आउने बताइएको छ ।
तीर्थालुका लागि सेवा पीठले १२० दिन लगाएर १२६ वटा कोठा रहेको तीनवटा भवन बनाएको छ । छोटो समयमा आठ करोड लागतमा निर्माण भएको भवनले ६० हजार स्क्वायर फिट ओगटेको छ ।
फागुन ७ गतेसम्म चल्ने महायज्ञमा नेपालसहित भारतबाट साधुसन्तसहित हिन्दुधर्मगुरु लगायतको उपस्थिती रहने श्रीरामानन्दाचार्य सेवा पीठ सुनसरीले जनाएको छ ।
महायज्ञमा १६ करोड हवन गरिनेछ । महायज्ञका लागि ९ तले मण्डपमा १ सय ८ वटा हवन कुण्ड निर्माण गरिएका छन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4