Comments Add Comment

किशोरीको डेरामा सुसाइड नोट ! ‘आइ लभ यु पापा-ममी’

वीरगञ्जका किशोरी भारतीय गाउँमा पुग्नु शंकास्पद– वडाध्यक्ष

२८ माघ, वीरगञ्ज । सीमावर्ती शहर रक्सौलको दक्षिणी गाउँमा अवस्थित रेल्वे लिकमा मृत भेटिएका दुई नेपाली किशोरीको कोठाबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले छात्राहरु बस्दै आएको वीरगञ्ज रानीघाटस्थित कोठा फोरेर हेर्दा ‘संयुक्त सुसाइड नोट’ फेला पारेको हो । प्रहरीका अनुसार रातो कलमले लेखिएको सुसाइड नोटमा उनीहरुले कसैमाथि कुनै पनि किसिमको आरोप लगाएका छैनन् ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारी बस्ने निभाकुमारी साह र सोही गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने किरण चौरसियाको शव रेलको लिकमा क्षत विक्षत अवस्थामा फेला परेको थियो । उनीहरु दुबैजना कक्षा ११ मा पढ्थे ।

रक्सौलबाट दिल्ली जाँदै गरेको १५२७३ नम्बरको सत्याग्रह एक्सप्रेस रेलले उनीहरुलाई किचेको थियो । घटनास्थलबाट भारतीय प्रहरीले फेला पारेको फुटेको मोबाइल र निभा कुमारीको वीरगञ्ज पब्लिक स्कुलको कक्षा ११ को आइडी कार्डका आधारमा उनीहरुको सनाखत भएको थियो ।

केही मिटर वरपर रहेका दुबै शवको अंगहरु छिनेको अवस्थामा भेटिएका थिए । रेलले एकजनाको टाउको छिनाएको थियो भने अर्कीको खुट्टा चुँडाएको थियो ।

यो पनि पढ्नुस्– रक्सौलमा रेलको लिगमा वीरगञ्जका दुई किशोरीको शव भेटियो

कक्षा ११ मा पढ्ने किरण चौरसियाको विवाहका लागि भर्खरै फूलमाला भएको थियो । कोठामा भेटिएको ‘सुसाईट नोट’ माथि किरणले इन्गेजमेन्टमा पाएको घडी र प्लाष्टिकको फूलसमेत राखेकी थिइन् । किरणको केही दिन पहिलेमात्रै विवाहको मिति समेत तय भइसकेको थियो ।

चौरसिया परिवारलाई केटापक्षले तीन दिन पहिले नै दाइजो स्वरुप ४ लाख रुपैयाँसमेत बुझाइसकेको स्थानीयको दाबी छ ।

के छ सुसाइड नोटमा ?

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ढकालले प्लस टुमा अध्ययनरत किशोरीहरु बस्दै आएको डेराबाट सुसाईड नोट फेला परेको पुष्टि गरे । उनले भने– ‘रक्सौलबाट फर्केपछि हामीले उनीहरु बस्दै आएको कोठा खोलेर हेर्‍यौं, खाटमा सुसाईड नोट फेला परेको छ । अक्षर म्याच गराएर हेर्दा किरणकै हो भन्ने पुष्टि भएको छ ।’

प्रहरी उपरीक्षक ढकाल नेतृत्वको टोलीले मृतक किशोरीका परिवारका सदस्य र जनप्रतिनिधिसहित गएर वीरगञ्ज रानीघाटस्थित डेरा खोलेर अनुसन्धान गरेका थिए ।

सुसाइड नोटमा ‘यसमा कसैको दोष छैन, हामीले संसारमा बाँच्नुको कुनै अर्थ देखेनौं, हामीले तपाईहरुको सपना पूरा गर्न सकेनौं, आई लभ यु पापा, आई लभ यु ममी’ जस्ता कुराहरु लेखिएको प्रहरीले जानकारी दियो ।

प्रत्यक्षदर्शीका अनुसार डेराबाट उनीहरु आइतबार बिहान साढे ६ बजेतिर एकैसाथ निस्केका थिए ।

भारतीय प्रहरी भन्छ- आत्महत्या नै हो

आइतबार नै नेपाल प्रहरीको टोलीले रक्सौल–सुगौली रेल खण्ड अन्तर्गत पर्ने कनाना ढाला नजिकको घटनास्थलको अवलोकनसँगै भारतीय समकक्षीसँग भेटघाट गरेको छ ।

दुबै शवहरु पोष्टमार्टमका लागि रक्सौलमै राखिएको छ । भारतीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव नेपाल प्रहरीलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।

रक्सौल थानाका पुलिस निरीक्षक एवं सह थानाध्यक्ष अजय कुमारले घटना आत्महत्या नै भएको बताएका छन् । ‘एउटी केटीले आत्महत्या गर्न लागेको र अर्कोले बचाउन खोज्दा तीव्र गतिमा आएको ट्रेनले दुबैलाई किचेकोे रहेछ’ उनले भने ‘उनीहरुले किन आत्महत्या गरे, हामीले भन्न सक्ने अवस्था छैन ।’

रक्सौल थानाका (डीएसपी) सञ्जय कुमार झा र रेल्वे सुरक्षा बलका प्रहरी निरीक्षक राजकुमार समेतले घटनास्थलमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रत्यक्षदर्शीहरुसँग सोधपुछ गरेको भारतीय प्रहरीले जनाएको छ ।

दुई किशोरी रेलको लिकमा कसरी पुगे ?

नेपाल र भारत दुबैतर्फका प्रहरीहरु लगभग ‘आत्महत्या’ नै हो भन्ने निष्कर्षमा पुगे पनि वीरगञ्जमा बस्दै आएका किशोरीहरु अकस्मात त्यहाँ कसरी पुगे भन्नेबारे शंका गर्ने ठाउँ देखिएको छ । रक्सौलबाट दुई किलोमिटर दक्षिणको गाउँमा उनीहरु किन र कसरी गए भन्नेबारे अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ ।

कालिकामाई गाउँपालिकाका वडा नं ५ का अध्यक्ष पवन तिवारी यो घटनालाई आत्महत्या भनेर हल्कारुपमा लिन नहुने बताउँछन् । ‘अहिले नै आत्महत्या हो भनेर घटनालाई वेवास्ता गर्न मिल्दैन,’ तिवारी भन्छन्, ‘घटनास्थल रक्सौलबाट पनि दुई किलोमिटर दक्षिण दुर्गम ठाउँ छ । त्यो मुस्लिम बाहुल्य क्षेत्र हो । त्यहाँ ती छात्राहरु कसरी पुगे भन्नेबारे अनुसन्धान हुनुपर्छ ।’

तिवारीले पनि नेपाल प्रहरीको टोलीसँगै गएर घटनास्थलको निरीक्षण गर्नुका साथै भारतीय प्रहरीसँगको छलफलमा सहभागी भएका थिए । उनले घटनास्थलको प्रकृति हेर्दा त्यहाँसम्म वीरगञ्जका दुई किशोरीहरु सहजै पुग्न नसक्ने बताए ।

वडाध्यक्ष तिवारीले विवाह गर्ने कुरामा असहमति रहेका कारण पनि घटना भएको हुन सक्ने बताए । तर, किरणले विवाहकै असन्तुष्टिका कारण आत्महत्या गरेको मान्ने हो भने निभाकुमारी उनलाई बचाउन खोज्दा दुर्घटनामा परिन् वा उनले पनि आत्महत्या नै गरिन्, सो खुल्न सकेको छैन ।

सुसाइड नोटलाई आधार मान्ने हो भने दुबैले आत्महत्या गरेजस्तो देखिन्छ । तर, प्रत्यक्षदर्शीका अनुसार घटनास्थलको प्रकृति हेर्दा आत्महत्या भनिहाल्न गाह्रो छ ।

प्रहरीले यो घटनामा थप अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment