+
+
Shares

अब भ्रष्टाचार लुकाउन सम्भव छैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २८ गते १९:१२

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अब कसैले लुकाउन सम्भव नहुने बताएका छन् । सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको भन्दै उनले भ्रष्टाचार लुकाउन सम्भव नहुने दावी गरेका हुन् ।

‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौं, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसमा उनले भने ‘त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि सत्रु नै हो ।’

प्रधानमन्त्री ओलीले कारबाही गरेर दण्ड विधिबाट भन्दा पनि नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनी, सन्त र महात्माहरुको देश र त्यस्ताका सन्तति हामीले भ्रष्टाचार नगरे कसरी (भ्रष्टाचार) हुन्छ ?’ उनले प्रश्न गरे ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतीज्ञा गर्ने हो भने भ्रष्टाचार नै हुँदैन ।’

भ्रष्टाचारलाई सामान्यीकरण गर्ने र भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए । कुनै पनि देश कति स्वच्छ, सदाचारी छ भन्ने कुरा त्यहाँका जनप्रतिनिधि, राज्यका अंग, सरकारी निकायले कत्तिको सदाचार र पारदर्शितामा विश्वास गर्छन् भन्ने कुराबाट निर्धारण हुने भन्दै उनले नेपालमा सम्पूर्ण स्वच्छताका साथ काम गर्छन् भनेर विश्वमा स्थापित गर्नुपर्ने बताए ।

विदेश जाँदा नेपाल भ्रष्टाचार र सदाचारको सूचीमा कुन स्थानमा छ भन्ने मुल्यांकन हुने भन्दै प्रधानमन्त्री ओलीले यसले देशवासीको आत्मस्वाभिमानमा चोट पर्ने बताए । ‘कहिँ जाँदा भ्रष्टाचारको आँकडामा नेपाल कहाँ छ, सदाचारमा कहाँ छ भनेर मुल्यांकन गरिन्छ’ उनले भने ‘अब नेपाल गरीब भनेर पनि बसिरहन सक्दैन, यो ह्युमिलियसनका कुरा हो ।’

आफू स्वीटरल्याण्डको डावोसमा जाँदा अति कम विकसित देश (एलडीसी) को एक्लो प्रतिनिधि भएको भन्दै उनले त्यसले अप्ठेरो महसुस गराएको बताए । ‘डावोसमा जाँदा एलडीसीबाट एक्लै परेँ म । नेपाली पाराले बोलौं भन्दा … एलडीसी, हामी गरीब भएको किन ?’

प्रधानमन्त्री ओलीले नेपाल गरिब र पछाडि परिरहने कुरा स्वीकार्य नहुने बताए । ‘अब यो कुरा नेपाललाई स्वीकार्य हुनुहुँदैन मान्य हुनुहुदैन’ उनले भने ‘हामीले समय तोक्नुपर्छ, ५ वा बढीमा १० वर्ष त्यसभन्दा उता नेपाल गरिब छ, पछाडि छ, कमजोर छ, त्यो स्वीकार्न सकिदैन, नेपाल साइजमा मझौला छ, हैसियतमा दह्रो छ ।’

प्रधानमन्त्री ओलीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न अख्तियारलाई सहयोग गर्ने पनि बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक सेवा, खरिद र निर्माण कानुन अनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । अख्तियार सार्वजनिक विकास निर्माणको बाधक नभई सहयोगी हो भन्दै उनले यस क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोशिसमात्र गरेको बताए ।

उनले अख्तियारले राष्ट्रिय गौरवको आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा ती आयोजनामा निगरानी बढाएको पनि बताए । ‘भ्रष्टाचार सबैको सत्रु भएकाले भ्रष्टचार नियन्त्रण सबैको साझा धारणा हुनुपर्छ’ घिमिरेले भने, ‘राष्ट्रसेवक कर्मचारीले आफ्नो काम राम्रोसँग सम्पादन गरेमा भ्रष्टाचार न्युनीकरण हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?