Comments Add Comment

‘रणवीर’ निर्मात्रीको गुनासो–‘निर्देशकले डुबाए, ३ करोड सकियो’

माघ १८ गतेबाट रिलिज भएको चलचित्र ‘रणवीर’ले बक्स अफिसमा आशातित व्यापार गरेन । चलचित्रको बजेट पनि निकै महंगो भएकाले यसले बम्पर कारोबार गर्न आवश्यक थियो । तर, चलचित्र चलेन । हुनत, यो मितिमा रिलिज भएको तिन वटै चलचित्र चलेनन् ।’

चलचित्र नचलेपछि यसकी निर्मात्री गोमा बिष्टले निर्देशक गोविन्द सिंह भण्डारीसँग असन्तुष्टी पोखेकी छिन् । अनलाइनखबरसँगको कुराकानीमा निर्मात्री बिष्टले भनिन्–‘निर्देशकले एउटा कुरा भनेर हामीले लगानी गर्यौं, तर छायांकनमा गएपछि अर्कै काम गरे । यसैले पनि चलचित्रको लगानी धेरै भयो ।’ उनका अनुसार भण्डारीले सुरुमा ८० लाखमा चलचित्र सक्ने बताएको, पछि सहमतीमै १ करोड २० लाखको हिसाब निकालेको तर चलचित्र हलसम्म आइपुग्दा ३ करोड सकिएको छ ।

गोमाले अनलाइनखबरसँग भनिन्–‘हाम्रो सुटिङको सेड्यूल ५० दिनको तयार गरिएको थियो । तर, ९५ दिनसम्म निर्देशकले चलचित्र खिचे । यसैले पनि बजेट दोब्बर हुन पुग्यो ।’ गोमाका अनुसार ‘रणवीर’मा समावेश गरिएको एक्सनको दृश्य खिचिएको ३० प्रतिशत मात्र हो । २१ दिन लगाएर एक्सन खिचेपनि पछि निर्देशकले जम्मा ३० प्रतिशत मात्र राखिदिए, अरु काटिदिए । उनले प्रश्न गरिन्–‘चलचित्रमा नराख्ने भए त्यत्रो रकम खर्च गरेर किन खिच्नु ?’

कतै कलाकारले गर्दा पनि समय बढी लागेको त होइन भन्ने प्रश्नमा उनले भनिन्–‘कलाकारबाट हामीले कुनै पनि खालको दुख पाएका छैनौ । सबैले पुरा साथ दिनुभएको छ ।’ चलचित्रको अन्तिममा आउने गीत ‘तिरिमिरी तिन तारा’ पनि नखिच्ने सोचमा निर्देशक थिए । तर, आफ्नै कारणले गर्दा यो गीत खिचेको र सुटिङ सेटमा निर्देशक नआएको गोमाले बताइन् ।

चलचित्रमा आफ्नो २ करोड र अर्का निर्माता दिपेन्द्र रेग्मीको १ करोड खर्च भएको गोमाले उल्लेख गरिन् । उनले निर्देशकलाई बढी भरोसा गर्दा आफूलाई घाटा भएको उनले बताइन् । गोमाका अनुसार, आफू नयाँ निर्माता भएकाले पनि निर्देशकले हेप्न खोजेका हुन् । गोमाले अनलाइनखबरसँग भनिन्–‘२ करोड घाटा लागेपनि म एक बर्ष भित्र अर्को चलचित्र बनाउँछु । मैले हरेश खाएकी छैन । तर, धेरै कुरा सिकेकी छु ।’

निर्देशकसँग चलचित्रको ट्रेलर निर्माणदेखि धेरै कुरामा झगडा पर्ने गरेको पनि उनले सुनाइन् । उनले ‘रणवीर’ आफ्ना लागि महंगो सिकाई भएको समेत बताइन् । चलचित्रले नेपालबाट कति कमायो भन्ने हिसाब उनको हातमा आइसकेको छैन । चलचित्र विदेशमा पनि नवेचेको उनले सुनाइन् । यसैले कती घाटा हुन्छ भन्ने अहिले नै भन्न नसकिने गोमाको भनाई छ । तर, पनि पछि–पछि सम्म पनि चलचित्रको लगानी उठ्नेमा उनी आशावादी छिन् ।

केही चलचित्रमा सह–निर्देशक भएर काम गरेका गोविन्दको यो डेब्यू चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment