Comments Add Comment

हेर्दाहेर्दै भैंसी ब्यायो- प्रधानमन्त्री

‘बोक्सी’ को किस्सादेखि वैदेशिक सम्बन्धसम्म

१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एकवर्षे कार्यकालको ‘सफलता’ सुनाउँदै भनेका छन्– ‘हेर्दाहेर्दै भैंसी ब्यायो ! दूध पनि दियो, पाडी पनि पायो !…. नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’

सरकारले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा सभामा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई असफल पार्नका लागि दुईवटा प्रयासहरु भइरहेको बताए, एउटा– नेकपामा विभाजन ल्याउने । र, अर्को–अन्तरराष्ट्रिय सम्बन्धलाई बिगार्ने ।

तर, यी दुईवटै प्रयासहरु खेर जाने प्रधानमन्त्री ओलीले दाबी गरे । प्रधानमन्त्री ओलीले यो सरकार ५ वर्षसम्म आरामसँग चल्ने घोषणासमेत गरे ।

नेकपामा फाटो ल्याउने प्रयास र अन्तरराष्ट्रिय सम्बन्धका विषयमा प्रधानमन्त्रीको भनाइ सुन्नपूर्व उनले गरेको सरकारको एक वर्षे समीक्षा, अर्थात् ‘भैंसी ब्याएको कुरो’ सुनौं, प्रधानमन्त्रीकै शब्दमा –

‘जनताले देख्न खोजेको दिन यही हो’

हामीसँग बहुमत छ । पर्सि ३ गते सरकारको एक वर्ष पुग्दैछ । धेरै वर्षदेखि अचम्मको कुरा हो यो नेपालका लागि । सरकारको वर्ष दिन पूरा हुँदैछ । तर, अब वर्ष दिन पूरा हुनेमात्रै होइन, बहुमतको सरकार छ, यो सरकार पाँच वर्ष आरामसँग जान्छ । स्थिर सरकार पनि छ । बहुमतसहितको छ ।

हामीले यस वर्षलाई आधार वर्ष भनेका छौं । संविधान कार्यान्वयनका लागि कानुनहरुको निर्माण, संरचनाहरु तयार, यी सबै कुराहरु मोटामोटी टुंगिएको छ । अब निर्मित संरचना, निर्मित कानुन, निर्मित प्रणाली, सुस्पष्ट नीति, बहुमतको सरकार, भिजनसहितको सरकार, काम गर्ने सरकार । जो, दिनैपिच्छे नयाँ नयाँ कुरा ल्याएको ल्यायै छ, अगाडि बढाएको बढायै छ ।

हुन सक्छ– एउटा भैंसी हेरेर एउटा जीवले भन्छ– मरेदेखि खान्थें ।

हेर्दाहेर्दै भैंसी ब्यायो । दूध पनि दियो । पाडी पनि पायो ।

मर्ला र खाउँला भन्ने जीवले भन्छ– यही दिन देख्नुपर्ला भनेर, यही दिन देख्नका लागि म बाँचेको थिएँ आजसम्म ! कुन दिन देख्नुपर्‍यो !

तर, भैंसीका लागि, भैंसीका पाडाका लागि, भैंसी पाल्नेका लागि, सप्पैका लागि यही दिन देख्न खोज्या हो । नेपाली जनताका लागि यही दिन देख्न खोज्या हो । नेपाली जनताले देख्न खोजेको दिन यही हो ।

नेपाली जनताले आफैंले बनाएको संविधान देख्न खोजेको हो । नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र देख्न खोजेको हो । लोकतन्त्र, समावेशितासहितको लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्र, महिलाहरु अगाडि बढेको लोकन्त्र, पछाडि परेका समुदाय अगाडि बढेको लोकतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, जनताले छानेका निकायहरु, जनताले छानेको बहुमतको सरकार । सुस्पष्ट नीति । स्वच्छताको प्रतिवद्धता र त्यसअनुसारको गतिशील सरकार । यही नेपाली जनताले देख्न खोजेको हो, जसबाट अब हाम्रो यात्रा सुशासन र समृद्धितर्फ, विकासतर्फ अगाडि बढ्यो ।

यस ऐतिहासिक दिनलाई हामी हरेक वर्ष श्रम दिवस वा रोजगारी दिवसका रुपमा मनाउने छौं । हामीले त्यतिकै घोषणा गरेको हैन, कोही नेपाली भोकै बस्नुपर्दैन । कोही नेपालीले भोकले मर्नुपर्दैन । कोही नेपालीलाई जाडोले कठांग्रिएयर मर्न दिइने छैन । हामीले अभियान सञ्चालन गरेका छौं ।

भैंसी ब्याएर दूध दिन थालेको कुरो सुनिसकेपछि अब सुनौं ‘बोक्सी’ को किस्सा । प्रधानमन्त्री ओलीले नेकपाभित्रको अन्तरविरोधबारे जवाफ दिने सिलसिलामा ‘बोक्सी’ उपमा प्रयोग गरेका हुन् । यसलाई प्रधानमन्त्रीकै शब्दमा सुनौं–

‘यस्तो प्रयास चल्नेवाला छैन’

प्रयासहरु विभिन्न भएका छन् । म देखिरहेको छु, अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिस, ओहो ! थामिसक्नु छैन ।

बाका कानमा गएर भन्ने– बा, आमा बोक्सी छ । आमाका कानमा गएर भन्ने, आमा, बा रक्स्याहा भैसके ।

दुबैले पत्याउँदैनन् । फेरि भन्ने– बा पत्याउनुहुन्न, के गर्ने ? आमा भरे मुख सुँघ्न आउँछिन् ।

आमाको कानमा गएर भन्ने– तपाई पत्याउनुहुन्न, गएर मुख सुँघ्नोस् न । कस्तो गन्हाउँछ ।

नभन्दै आमाले गएर मुख सुँघ्छििन् । रक्सी त गन्हाएको हुँदैन, तर बाबुलाई पनि पक्का हुन्छ कि मुख त सुँघ्न आई, बोक्सी त रहिछ !

यस्ता प्रयासहरु थुप्रो भएका छन् । तर, प्रयास नगरे पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लाउनेछन् । यहाँ त्यो कुनै चल्नेवाला छैन ।

‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने प्रयास’

प्रधानमन्त्री ओलीले घरेलु राजनीतिमा मात्रै होइन, अन्तरराष्ट्रिय राजनीतिमा पनि नेपालको सम्बन्ध बिगार्ने कोसिस भइरहेको बताए । ठूलो षडयन्त्र भइरहेको जसरी प्रस्तुत भएका प्रधानमन्त्रीले षडयन्त्रकारी को हुन् भनेर खुलाएन् तर, सरकारविरुद्ध ठूलै चलखेल भएको दाबी गरे ।

अन्तरराष्ट्रिय सम्बन्धका विषयमा ‘भेनेजुएला प्रकरण’ को नाम नलिई प्रधानमन्त्री ओलीले यसो भने–

म देखिरहेको छु, अन्तर्राष्ट्रिय सम्बन्धलाई बिगार्ने खुब कोशिस भइराखेको छ । खुब कोसिस । मैले सार्वभौम सत्ताको कुरा गरें । कसैले भन्छ, यो सार्वभौम सत्ताको उल्लेख गर्नुपर्‍यो किन ? कोप्रति लक्षित छ ? स्वाधीनताको कुरा पनि गरेको थियो । स्वतन्त्र निर्णयाधिकार र यसको अभ्यासको पनि कुरा गरेको थियो, कोप्रति लक्षित छ ? ब्ल्यांक फायर होइन यो, ताकेको छ कतै । यता, उता सबतिर । विभिन्न यस्ता प्रयासहरु तपाईहरुले देखिरहनुभएको छ । ती प्रयास पनि कुनै काम लाग्ने छैनन् ।

नेपाल सुस्पष्ट विदेश नीति, परराष्ट्र सम्बन्धका उपयुक्त आधारहरुका साथ खुलस्त, पारदर्शी ढंगले अन्तरराष्ट्रिय मञ्च र छिमेक सम्बन्धहरुमा व्यवहार गरिरहेको छ, उत्रिएको छ । र, यस्ता कुनै कुराहरुको ठावैं छैन ।

एक ठाउँमा एउटा कुरो, अर्को ठाउँमा अर्को कुरो । मैले भन्ने गरेको छु– कसैका विरुद्ध कुनै कार्ड, कुनै छिमेकीका विरुद्ध कुनै कार्ड, कुनै मित्रका विरुद्ध कुनै कार्ड हामी खेल्दैनौं । दुनियाँमा हाम्रा कोही शत्रु छैनन्, सबै मित्रै मित्र छन् ।

हामी विश्व शान्तिको पक्षमा छौं । सबै राष्ट्रहरु स्वतन्त्र छन्, सार्वभौमसत्तासम्पन्न छन्, तिनको कदर हुनुपर्छ । कुनै समस्या छ भने त्यहाँका जनताले आफैं ती समस्या शान्तिपूर्वक समाधान गर्नुपर्छ, सम्वादको माध्यमबाट शान्तिपूर्ण ढंगले । हामी त्यस मान्यतामा छौं । बाह्य हस्तक्षेप वाञ्छनीय हुँदैन, त्यसो गरिनुहुँदैन भन्ने मान्यतामा छौं । यो संयुक्त राष्ट्र संघको बडापत्रको कुरा हो । पञ्चशीलका सिद्धान्तको कुरा हो, जसलाई हामीले पछ्याएका छौं । सम्मान गरेका छौं ।

त्यसकारण हाम्रा छिमेकीहरुसँग होस् वा अन्तरराष्ट्रिय मित्रहरु, कसैसँग पनि कसैले कुनै प्रकारको असमझदारी बनाउँछु भन्ने प्रयास गर्‍यो भने यो असफल प्रयास हुनेछ । बुद्धि पनि ठीक ठाउँतिर, देश विकासतिर लगाए भो नि, यस्ता नचाहिने नचाहिने कुरातिर किन लगाउनु ? समयमात्र खेर जान्छ ।

यसकारण मेरो आग्रह छ, हामी एउटा नयाँ संकल्प लिएर अगाडि बढिरहेका छौं । यतिबेला यस प्रयासलाई भड्काउने, यस प्रयासलाई बिथोल्ने, जनतालाई त्रसित बनाउने वा तोडफोडकारी ढंगले जाने, हिंसात्मक ढंगले जाने वा असन्तुष्टि भड्काउने अथवा असमझदारी र भ्रम फिँजाउनेखालका कुराहरु लोकतन्त्रको पक्षमा छैनन्, जनताको पक्षमा छैनन् । अग्रमगनको पक्षमा छैनन् । त्यसकारण त्यस बाटोमा जानुहुँदैन । नेपालले स्पष्ट बाटो लिएको छ । सदाचारको बाटो । सुशासनको बाटो । विकासको बाटो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment