Comments Add Comment

आरुघाटवासीको गुनासो : बुढीगण्डकीले बन्दी बनायो

३ वर्षदेखि जग्गा रोक्का, न बेच्न पाइन्छ न घर बनाउन

५ फागुन, पोखरा । आरुघाट बजार गोरखा जिल्लाकै पुरानो बजारमात्र होइन, मुख्य व्यापारिक नाका पनि हो ।

तिब्बतसँग ब्यापार जोड्ने आरुघाट गोरखा जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र मानिन्छ । तिब्बतसम्मको ब्यापारलाई जोड्ने धादिङ र गोरखाको सीमा बजार आरुघाटको भविष्य यतिबेला अन्योलमा परेको छ ।

राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युतको प्रभावित क्षेत्रमा पर्ने तिब्बत र धादिङसम्मको तत्कालीन ३० वटा गाविसको मुख्य ब्यापारिक केन्द्र आरुघाट यतिबेला अनिर्णयको भूमरीमा छ ।

आरुघाटवासी भन्छन्, ‘हामी अन्योलमा कति दिन रहने ? न मुआब्जा दिइन्छ न यसो गर भनिन्छ । के हुने हो भन्ने चिन्ताले भविष्यसमेत अन्योलमा छ ।’

बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने अन्य क्षेत्रको मुआब्जा निर्धारण भए पनि आरुघाट बजारसहित केही बजारक्षेत्रको मुआब्जा तोकिएको छैन । तीन वर्षदेखि जग्गा किनबेच रोकिएको र स्थायी संरचना निर्माण्मा प्रतिबन्ध लागेको यस बजारमा मुआब्जाको अन्योलले अहिले विकास नै प्रभावित भएको उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइका अध्यक्ष विश्वकुमार श्रेष्ठले बताए ।

‘छिटोभन्दा छिटो उचित मुआब्जा निर्धारण गरेर सरकारले बुढीगण्डकी आयोजना अगाडि बढाओस् भन्ने हाम्रो माग हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘अन्य ठाउँको मुआब्जा वितरण भइरहँदा आरुघाट भने सरकारको अनिर्णयको बन्दी बनेको छ ।’ आरुघाट, आर्खेत बजार लगायतमा सरकारले मुआब्जा वितरण त परका कुरा मुआब्जा निर्धारण नै गरेको छैन । जबकी बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने धेरै जग्गाधनीले मुआब्जा रकम बुझिसकेका छन् ।

एकातिर सरकारले मुआब्जा कति निर्धारण गर्ने भन्ने स्थानीयको छटपटी छ भने अर्कोतिर कहिले मुआब्जा निर्धारण भएर वितरण हुने हो भन्ने चिन्तामा स्थानीय रहेको बुढीगण्डकी सरोकार समिति आरुघाटका संयोजक जगन्नाथ खनालले बताए ।

२०७३ सालमा बुढीगण्डकी डुबानक्षेत्रमा पर्ने गोरखाका साविकका १४ वटा गाविसमा मुआब्जा निर्धारण भए पनि आरुघाट र आर्खेत बजारको निर्धारण नै भएको छैन ।

बजारका वासिन्दाले प्रतिआना २५ लाख रुपैयाँसम्म मुआब्जा माग गरेका छन् । एकातिर ऐतिहासिक ब्यापारिक केन्द्रको अस्तित्व समाप्त हुन लागेको छ भने अर्कोतिर कम मुआब्जा लिएर उठिबास हुनुपर्ने हो कि भन्ने संशयमा आरुघाटवासी रहेको संयोजक खनालको भनाइ छ ।

सरकारले निर्णय नगरिदिँदा मध्यपहाडी लोकमार्गको केन्द्र, चीनको तिब्बत जाने नेपालको सबैभन्दा छोटो दूरीको मार्ग, चलनचल्तीको मनासलु पर्यटकीय मार्गको प्रस्थान बिन्दु आरुघाटवासीले चैनको श्वास फेर्न पाएका छैनन् ।

‘कि तत्काल मुआब्जा वितरण थाल्नुपर्‍यो कि यसो गर भनेर बाटो देखाइदिनुपर्‍यो,’ खनालले भने, ‘सरकारले छिटोभन्दा छिटो निर्णय गरेर बाटो देखाओस् ।’

यहाँको जग्गा किनबेच, बैंकमा धितो राख्न रोक्का गरिएको छ भने पक्की भर बनाउनसमेत नपाइने आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए । ‘चाइना र नेपालको प्रमुख ब्यापारिक बजार राष्ट्रिय गौरवको आयोजनाका कारण के हुने हो भन्ने अन्योलमा बाँचिरहेको छ,’ अध्यक्ष दाहालले भने, ‘सरकारले छिटोभन्दा छिटो यस विषयमा ध्यान देओस् र उचित मुआब्जा दिएर आयोजनालाई अगाडि बढाओस् ।’

आरुघाट डुब्ने हल्लाले बैंकलेसमेत ऋण नपत्याउने उद्योग वाणिज्य संघ आरुघाटको भनाइ छ । डुब्ने हल्लाकै कारण ब्यापार घटेको र छ भने नयाँ घर बनाउने कि नबनाउने भन्ने अन्योल सिर्जना भएको अध्यक्ष श्रेष्ठले बताए ।

बुढीगण्डकी जलाशयले बजार डुब्ने हल्लाले बजारमा आर्थिक गतिविधिसमेत घटाएको उनको श्रेष्ठको चिन्ता छ । जग्गा किनबेच रोकिए पनि अस्थायी घरहरु भने बनिरहेका छन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले बजार क्षेत्रमा मुआब्जा निर्धारण नभएको बताए ।

आरुघाटका झन्डै ६ सय घरधुरी यतिबेला अन्योलमा छन् । मुआब्जा छिटो निर्धारण गरेर वितरण गर्न बुढीगण्डकी सरकार समितिले प्रशासनदेखि नेता, मन्त्री र मन्त्रालयलाईसमेत गुहारिरहेको छ ।

ऊर्जा मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर बाबुराज अधिकारीले जिल्ला मुआब्जा समितिले नै मुआब्जा निर्धारण गर्नुपर्ने बताए । ‘अरु ठाउँमा मुआब्जा वितरण गर्दै काम अगाडि बढाउने आरुघाट, अर्खेतमा चाहिँ छलफलबाट एउटा दररेट तोक्ने कुरा भएको छ,’ अधिकारीले भने । स्थानीयले धेरै मुआब्जाको अपेक्षा गरेका छन् । बजार क्षेत्र भएकाले मुआब्जामै ठूलो रकम जाने भएकाले निर्णय हुन समय लागेको अधिकारीको भनाइ छ ।

सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको छ । तर, मुआब्जा वितरण सुस्त छ । आयोजनाबाट प्रत्यक्ष प्रभावित धादिङका १३ र गोरखाका १४ गरी २७ साविकका गाविस छन् । जसबाट करिब ६० हजार रोपनी जग्गा डुबानमा पर्ने र करिब ८ हजार १ सय ५३ परिवार विस्थापित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment