+
+

सरुवापछि सचिवको आरोप : खानेपानीमन्त्रीले मुलुक डुबाउन खोजिन्

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ७ गते १९:२९

७ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनालाई लिएर खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच विवाद भएको छ । विवादकै कारण मन्त्रालयका सचिव ठाकुरको सरुवा भएको छ । उनलाई जगेडामा राखिएको छ ।

सरुवापछि सचिव ठाकुरले खानेपानीमन्त्रीमाथि गैरनकानुनी रुपमा इटालियन ठेकेदार कम्पनी सीएमसीलाई नै फिर्ता ल्याउन दबाव दिएको आरोप लगाएका छन् । ‘सीएमसीलाई थप ३ अर्ब दिएर धरौटी समेत फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाव दिनुभयो,’ ठाकुले भने, ‘मैले कानुन र देशहित विपरित यस्तो निर्णय हुन सक्दैन भनेर अडान राखेको थिएँ । मेरै सरुवा गरिएछ ।’

सचिव ठाकुरका अनुसार मन्त्रीले दबाव दिएपछि उनले सीएमसीलाई फिर्ता बोलाउने र धरौटी पनि फिर्ता गर्न लिखित निर्देशन मागेका थिए । तर, मन्त्रीले लिखित निर्देशन पनि नदिएको र आफूमाथि दबाव दिन पनि नछाडेको उनको आरोप छ ।

‘धरौटी फिर्ता गरेर ३ अर्ब थपिदिने हो भने राज्यलाई ७ अर्ब नोक्सनी हुन्छ,’ उनले भने, ‘कानुन मिचेर यस्तो निर्णय हुन सक्दैन । मन्त्रीज्यूले भनेअनुसरको काम गर्ने मान्छे ल्याउन मलाइ हटाउनुभयो होला, मेरो शुभकामना छ ।’

मन्त्री विना मगरमाथि खनिएका सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजनाको सञ्चालक समितिलाई ‘पंगु’ बनाएको आरोप पनि लगाएका छन् । उनका अनुसार समितिले आयोजनाको बाँकी कामहरु टुक्रयाएर ठेक्का लगाउने वा विशेष निर्णय गरेर एउटै स्वदेशी कम्पनीलाई ठेक्का दिन प्रस्ताव ल्याएको थियो । यसरी मेलम्चीको बाँकी काम साढे ३ महिनामै सक्ने उनको दाबी छ ।

‘मन्त्रीज्यूले समितिले जे–जे निर्णय गरेपनि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने मैले हो भनेर जवाफ दिनुभयो,’ सचिव ठाकुरले भने, समितिलाई काम गर्न नै दिइएन् ।’ मेलम्चीको सञ्चालक समितिमा खानेपानी मन्त्रालयका सचिव अध्यक्ष हुन्छन् ।

‘सुरुमा सीएमसीको धरौटी रकम बैंकबाट झिक्न पनि रोक्नुभयो, झिकेको रकम खातामा राख्न पनि असहयोग गर्नुभयो,’ ठाकुरले भने, ‘मन्त्रीज्यू, मुलुक डुबाउने काम गर्न खोजिरहनु भएको छ, यसमा मैले सहयोग गर्न सकिनँ ।’

सरकारले नयाँ वर्षमा काठमाडौंमा पानी ल्याउने बताइरहँदा वित्तीय संकटमा फसेको सीएमसीले मेलम्चीको साइट छाडेको थियो । मेलम्ची खानेपानी आयोजनाले सीएमसीसँग ठेक्का तोड्ने निर्णय समेत गरिसकेको छ तर, मन्त्रालयले सीएमसीलाई नै फिर्ता बोलाउँदा फाइदा हुने भन्दै लबिङ गरिरहेको छ ।

खानेपानी मन्त्रीले सीएमसीसँग वार्ता गर्न भन्दै एक टोलीलाई थाइल्याण्ड समेत पठाएकी थिइन् । उनी सीएमसीको धरौटी रकम फिर्ता गरेर ३ अर्ब भेरियसन थप गरेर भएपनि इटालियन कम्पनीबाटै काम सम्पन्न गर्ने पक्षमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?