Comments Add Comment

ढुंगाको काप फोरेर उम्रियो पिपल !

फेसबुकमा वाहवाही तर, पेटभरि खान मुस्किल

८ फागुन, काठमाडौं । राराको सौन्दर्यमा रमाउन हिँडेका केही यात्रीहरु दैलेखको तल्लो ढुंगेश्वरको लहरेपुलमा पुग्दै थिए, एक हुल बालक पुल नजिकैको जालीमा अडेस लागेर मौरी भुन्भुनाए जसरी एकै भाकामा गीत गुन्गुनाइरहेको अवस्थामा भेटिए ।

यात्रुहरु रोकिए । एकजनाले भने, ‘ल गीत गाउ त, हामी सुन्छौं ।’ बालकहरुले तुरुन्तै गाइदिए, ‘काफल खान्या कुइया, मरुला जुनकीरी….’

यात्रुले त्यसलाई मोबाइलमा कैद गरे । काठमाडौं फर्केपछि सो भिडियो उनले सामाजिक सञ्जालमा खन्याए । अनि त बालकहरु रातारात भाइरल बनिहाले ।

आजकाल सामाजिक सञ्जालमा धेरै किसिमका पात्रहरु भाइरल भइरहेका छन् । उनीहरुमध्ये कोही उटपट्याङ मात्रै छन् त कोही वास्तविक प्रतिभा पनि जन्मेका छन् । यस्तै वास्तविक प्रतिभाको कोटीमा पर्छन्, सुनिल बादी (१२), रविन्द्र बादी (११) र विकास बादी (११) ।

उनीहरुको समूहमा अरु बालक पनि थिए । तर, उनीहरु काम खोज्दै भारततिर लागिसके । तीनजना भने संगीतमै भविश्य बनाउने सपना बुनेर अहिले काठमाडौं आएका छन् । वा, ल्याइएका छन् ।

अनलाइनखबरको कार्यालयमा पस्दा उनीहरु निकै उत्साही र जिज्ञासु देखिन्थे ।

जब, हामीले उनीहरुको पहिलो भाइरल भिडियो देखायौं, उनीहरु रमाए ।

‘यो गीत गाएपछि उहाँहरुले केही पैसा दिनुभएको थियो’, सुनिलले सुनाए, ‘त्यो पैसाबाट हामीले बेलुकी चामल किनेर घरमा लग्यौं । आमा खुशी हुनुभयो ।’

त्यसपछि उनीहरुका अरु पनि भिडियो अपलोड हुँदै गए । नयाँनयाँ गीतका साथ । प्रत्येक गीत गाउँदा उनीहरुमा देखिएको सबैभन्दा ठूलो विशेषता हो, सुरको सामाञ्जस्यता र आत्मविश्वास । उनीहरुको ध्वनी सँधै एउटै रफ्तारमा हुन्छ । थोरै पनि तलमाथि फेला पार्न सकिँदैन ।

दुल्लु नगरपालिका-१ दैलेखको बादी बस्तीका हुन् उनीहरु । बस्तीमा टिनले छाएका करिव ३० वटा एकतल्ले घर छन् ।

खोला किनारको बस्तीलाई बाढीले बगाएपछि ६ वर्षअघि सरकारले यहाँ सारेको थियो । त्यहीँ हुर्किएका तीनैजना बालक अति विपन्न परिवारका हुन् । उनीहरुको बाबुआमासँग न खोस्रने बारी छ, न रोप्ने आली । ज्याला मजदुरी गरेर छोराछोरीको ‘पेटका मुसा’ मार्छन् उनीहरु । भोकै सुत्नुपरेका रातहरुको कुनै हिसाब हुँदैन ।

***

आफ्नो कथा सुनाउँदै गर्दा सुनिलले भने, ‘दाइ एउटा गीत गाउने !’

हामीले हुन्छ भन्न नपाउँदै सुरु गरिहालेः

आमा तिम्रो मुहार छ चन्द्रमाको चाँदनीमा
तिमीविना एक्लै भएको छु मत अँगेनीमा

नखाएर भोकै बसी खुवाउथ्यौं खोले सिस्नु
घाउ भा’छ छातीभित्र कसरी म तिमीलाई बिर्सुं

निन्द्रावाट ब्युँझे कति पाउँछु भनी तिम्रो काख
पाको छैन अझै मैले तिम्लेजस्तो दिने साथ…

गीत गाउँदा-गाउँदै रविन्द्रका आँखा रसिलो बन्दै गए । रुन आँटेझैं गरे ।

‘बुवाको याद आयो, उहाँले सानोमा खेलाएको याद आयो’, ११ वर्षीय रविन्द्रले आफ्नो भावुकता खोले ।


चार वर्ष पहिले उनका बाबु कामका लागि भारत पुगेका रहेछन् । एक दिन रक्सी खाएर पुलमाथि बसेका थिए । ‘पुलबाट चोरले घचेटेर खोलामा खसायो,’ बुवाको मृत्यूबारे यत्ति सूचना छ रविन्द्रसँग ।

कमाएर परिवार पाल्ने बुवा नै नरहेपछि आमाले बडो दुःखले हुर्काइरहेकी छन् । रविन्द्र एक जोर कपडामा वर्ष दिन बिताउँछन् । परिवारमा दुई छाक खान पनि निकै मुस्किल छ । ‘आमा ज्यामी काम गर्न जानुहुने भएकाले घरमा बिहान भात पाक्दैन, दिउँसोसम्म भोकै बस्नुपर्छ,’ उनी भन्छन् ।

त्यसो त उनलाई स्कुल ड्रेसको पनि समस्या छ । ड्रेस नलगाई जाँदा शिक्षकले बारम्बार कक्षाबाट निकालेको स्मरण गरे उनले ।

कथा विकासको पनि फरक छैन । फरक यत्ति हो, उनीसँग बुवा छन् । तर, उनका बुवा काम गर्न सक्दैनन् । ‘बुवालाई ढाड दुख्ने समस्या भएकाले काममा जान सक्नुहुन्न,’ विकासले सुनाए, ‘आमा बिहानै काममा जानुहुन्छ, दुई बहिनी, म र भाइ अबेरसम्म भोकै बस्छौँ ।’

उनका १३ वर्षीय दाई दुई वर्ष पहिले नै पैसा कमाउन भनेर भारत पुगेका थिए । तर, न पैसा पठाएका छन् न त दाइको कुनै खोजखबर छ ।

खबर थाहा पाउनका लागि परिवारमा कसैको मोवाइल पनि त हुनुपर्‍यो !

सुनिलको बुवाआमाले पनि ज्यामी काम नै गर्छन् । तर, उनले घरमा भरिएको बोराको चामल बिरलै मात्र देखेका छन् । काम पाएको दिन राति चुल्हो बल्छ, नत्र भोकै । तीन बालक स्थानीय स्कुलमा भर्ना भएका छन् । तर, आक्कलझुक्कल मात्रै जान्छन् । सुनिल र विकास ५/५ कक्षा र रविन्द्रको दुई कक्षाको हाजिरी कपीमा नाम दर्ज छ ।

‘स्कुल जाने ड्रेस नै हुँदैन’, सुनिलले निरस स्वरमा भने, ‘ड्रेस नलगाएको भनेर सरले पिट्नुहुन्छ ।’

त्यसैले स्कुल जानुभन्दा उनीहरु सडकमा गीत गाउन निस्कन्छन् । उनीहरुको गीत सुनेर खुशी हुनेहरुले थोरै पैसा हातमा राखिदिन्छन् । त्यो पैसा आपसमा बराबरी बाँड्छन् र घरमा आमालाई सुम्पिन्छन् ।

उनीहरुको पढ्ने चाहना भने ओइलिएको छैन । तथापि, सरकारले बालबालिका विद्यालय बाहिर नरहुन् भन्ने नीति ल्याए पनि उनीहरु छुटेका छन् ।

‘बरु हामीलाई केही चाहिँदैन पढाइदिए पुग्छ,’ तीनजनाको एउटै स्वर निस्कन्छ । उनीहरुको परिवारले स्कुलको फी तिर्न सकेको छैन । काठमाडौं आउने बेलामा स्कुलका हेडमास्टरले फी तिरेर मात्रै जान चेतावनी दिएको उनीहरुले सुनाए ।

***

बालकहरु कसरी गीत गाउन पोख्त भए त ? जिज्ञासा उठ्न सक्छ । हुन पनि घरमा मोबाइल, रेडियो, टिभी केही नभएका उनीहरुलाई गीत सुन्नसमेत पैसा तिर्नुपर्ने अवस्था छ ।

यो समूहमा सुरुमा गीत गाउन सिकेका हुन् सुनिलले । गायक डेकेन्द्र थापाको घर नजिकै थियो । डेकेन्द्रले उनलाई एउटा गीत सिकाएका थिए, जुन गीत उनले आफ्ना साथीहरुलाई सिकाए । त्यसपछि उनीहरुमा गीत गाउने र सुन्ने रस बस्यो ।

तर, उनीहरु गीत कहाँ, कसरी सुन्छन् त ?

‘पैसा तिरेर अरुको मोबाइलमा सुन्छौँ,’ सुनिलले भने, ‘टीभी हेर्न बजार जान्छांै । एकजनाको १० रुपैयाँ तिरेपछि टीभीमा गीत हेर्न पाइन्छ ।’

दुई-चारवटा गीत कण्ठ भएपछि उनीहरुले गाउने अभ्यास गर्न थाले । कहिले गाडीभित्र गाए, कहिले सडकपेटीमा त, कहिले गाउँ बस्तीमा ।

‘हामी एकपटक कालिकोटतिर गएर तीन दिन बस्यौँ’, विकास भन्छन्, ‘१२ सय कमाएर ल्याएका थियौं । आमाहरु खुब खुशी हुनुभयो ।’

बच्चाहरुले गीत गाएर अलिअलि पैसा ल्याउन थालेपछि आमाहरु पनि उनीहरु स्कुल जाँदाभन्दा सडकमा हिँड्दा खुसी हुन्छन् । तर, कहिलेकाहीँ गाउँलेहरु लखेट्छन्, तातोपानी छ्यापेर धपाउँछन् र भन्छन्, ‘जा ….बादीका बच्चाहरु ।’

विकास रुञ्चे स्वरमा बोल्छन्, ‘गाउँमा केही चोरी भयो भने हामीलाई नै दोष लगाउँछन् ।’

कठमाडौंबाट गएका थुप्रै कलाकार र सञ्चारकर्मीले उनीहरुलाई आशाको पोको छाडेर आएका थिए । उनीहरुले क्यामेरामा गीत रेकर्ड गरेपछि भन्थे, ‘राम्रो गाउँदा रै’छौ । हामी छिट्टै तिमीहरुलाई लिन आउछौँ ।’ सुनिल सम्झन्छन्, ‘धेरैले भन्नुभयो, कोही फर्केर आउनुभएन ।’

तर, तन्नेरी गायक सम्राट चौलागाईंले भने वचन पूरा गरे । उनले अहिले तीन बालकलाई काठमाडौं लिएर आएका छन्, गीत रेकर्ड गराउन ।

***

काठमाडौं कस्तो छ ? उनीहरुको जवाफ एक शब्दमा आउँछ, ‘राम्रो ।’

अब एक-दुई दिनमै राम्रो काठमाडौंलाई विदाई गर्दैछन् सुनिल, रविन्द्र, विकास ।

अब, घर गएपछि के गर्ने ?

‘सडकमा गीत गाउने’, उनीहरुसँग रेडिमेड जवाफ छ ।

अझै पनि सडकमा नगाए मुखमा माड लगाउन गाह्रो हुन्छ भन्ने उनीहरुलाई थाहा छ । सामाजिक सञ्जालमा छाएर मात्रै उनीहरुको दुःख कम हुने छैन । पेटका किरा मर्नेछैनन् ।

***

मर्नु छ एक दिन सँधै बाँचिरहने को छ ?
कोही गरिव हुन सक्छ, कोही धनी हुन सक्छ
गरिव भनेर रुनुपर्दैन, धनी भनेर खुशी हुनुपर्दैन

काठमाडौंमा यही गीत रेकर्ड गर्दैछन् सुनिल, विकास र रविन्द्र ।

काठमाडौं ओर्लंदा थोत्रा चप्पल, च्यातिएका टिसर्ट, खुइलिएका ज्याकेट, स्वीटरमा थिए उनीहरु । सम्राटले उनीहरुको आङमा नयाँ लुगा र खुट्टामा जुत्ता भिराइदिएका छन् । नयाँ हुट, नयाँ जिन्स पाइन्ट र नयाँ कन्भर्स सुज लगाउँदा उनीहरुको खुशीको ठेगान छैन ।

‘जिन्दगीभर काठमाडौं देखेका थिएनौं सम्राट दाइले देखाउनुभयो । प्लेन देखाउनुभयो, ट्याक्सी पनि चढाउनुभयो’, तीनजनाले एकै स्वरमा भन्छन्, जसरी उनीहरु एकै सासमा गीत गाउँछन् ।

सुनिल, विकास र रविन्द्रको गायक बन्ने चाह र अठोट छ । हिजो सडकबाटै रामकृष्ण ढकालहरु जन्मिए । उदितनारायण झाहरु जन्मिए । आज प्रेम परियार र अशोक दर्जी आएका छन् । प्रतिभा जहाँबाट पनि निस्कन सक्छन्, खाँचो अवसरको हो ।

हो, सुनिल, रविन्द्र र विकास बादीलाई मात्र अवसरको खाँचो छ ।

कवि माधवप्रसाद घिमिरेले त्यसै लेखेका होइनन्-

‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ।
सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment