Comments Add Comment

अमेरिका र हुवावेबीचको लडाइँले फाइभजीमा धक्का

चिनियाँ कम्पनी हुवावेविरुद्ध अमेरिकाले पछिल्लो समयमा चालेको कडा कदमका कारण नयाँ पुस्ताको मोबाइल नेटवर्क फाइभजीको विश्वव्यापी योजनामा धक्का लागेको छ । फाइभजीको तयारी गरिरहेका मोबाइल अपरेटरहरु अमेरिका र हुवावेबीचको तनावका कारण समस्यामा परेको बताइएको छ ।

नयाँ सुपरफास्ट फाइभ जी नेटवर्कमा हुवावे कम्पनीका उपकरणहरुको प्रयोग नगर्नका लागि अमेरिकाले विश्वका अन्य देशहरुलाई आग्रह गरिरहेको छ । हुवावेमार्फत चिनियाँ सरकारले अन्य देश तथा कम्पनीहरुको जासुसी गर्ने गरेको अमेरिकी आरोप छ ।

तर हुवावेले भने अमेरिकाको यस्तो आरोप सख्त रुपमा खारेज गरिरहेकोे छ । हुवावेले फाइभजी टेक्नोलोजीमा यस्तो बलियो अग्रता कायम गरेको छ कि फाइभजी नेटवर्कमा जान चाहने कुनै पनि कम्पनीहरुले हुवावेका उपकरण प्रयोग नगरी त्यो सम्भव नै नहुने जस्तो अवस्था सिर्जना भएको छ ।

मोबाइल दूरसञ्चार पूर्वाधारसम्बन्धी विज्ञका अनुसार हुवावेलाई प्रतिबन्ध लगाउनु भनेको एउटा यस्तो रिक्तता सिर्जना गर्नु हो, जुन अहिले सजिलै अन्य कम्पनीले भर्न सक्दैन । जसका फाइभजीको विश्वव्यापी विकासमा गम्भीर असर पर्नेछ ।

यस्तो अनिश्चितता खासगरी युरोपेली मुलुकहरुका लागि समस्यापूर्ण हुने अनुसन्धान कम्पनी आईएचएस मार्किटका विज्ञ स्टेफेन टेराल बताउँछन् । युरोपको आर्थिक भविष्यका लागि फाइभजी नेटवर्क निकै महत्वपूर्ण रहेको बताइएको अवस्थामा फाइभजी नेटवर्कको पूर्वाधार विकासमा हुवावेको प्रमुख भूमिका रहने अपेक्षा गरिएको थियो ।

फाइभजी नेटवर्कको विश्वव्यापी सुरुवातका लागि इन्टरनेट प्रयोगकर्ता व्यग्र बनिरहेका बेला अमेरिका र चीनबीच हुवावे काण्डका कारण चिसिएको सम्बन्ध चुनौतीको रुपमा खडा भएको छ ।

स्मरणरहोस् विश्वमा टेलिकम उपकरणको क्षेत्रमा हुवावेसँग प्रतिस्पर्धामा उत्रिसक्ने कुनै हेभीवेट अमेरिकी कम्पनी छैन । हुवावेका मुख्य प्रतिस्पर्धी भनेकै स्विडेनको इरिक्सन र फिनल्याण्डको नोकिया रहेका छन् । तर ती दुई कम्पनी नै वर्षौंदेखि घाटा तथा कर्मचारी कटौतीको बाध्यताबाट गुज्रिरहेका छन् । जबकि हुवावेले भने १ खर्ब डलर वार्षिक आम्दानी मात्र गरेको छैन चिनियाँ अर्थतन्त्रको खम्बाको रुपमा स्थापित हुँदै गएको छ ।

हुवावेले यतिधेरै प्रविधिका पेटेन्ट राइटहरु आफूसँग सुरक्षित राखेको छ कि त्यसले फाइभजी नेटवर्कको भविष्य निर्धारण गर्दछ ।

मोबाइल अपरेटरहरु असन्तुष्ट

हुवावेलाई फाइभजी नेटवर्कमा बन्देज लगाउने प्रयास गरिनु भनेको मुलुकहरुले आफ्नो प्राविधिक क्षमताको अवमूल्यन गर्नु रहेको विश्वका अग्रणी मोबाइल अपरेटर कम्पनीहरुले चेतावनी दिएका छन् ।

फाइभजी इन्टरनेट नेटवर्कमा इन्टरनेट स्पीड विद्यमान फोरजीभन्दा १ सय गुणा बढी हुनेछ । यसले स्मार्ट सिटी तथा कनेक्टेड भेहिकलजस्ता उदीयमान स्मार्ट प्रविधिहरुलाई तीव्र गतिमा अघि बढाउन सकिने बताइएको छ ।

भोडाफोनका सीईओ निक रिडले हुवावेलाई पूर्णरुपमा बन्देज लगाउँदा फाइभजी नेटवर्कमा उल्लेखनीय रुपमा ढिलाइ हुने बताएका छन् । भोडाफोनले तत्कालका लागि ‘कोर मोबाइल नेटवर्कमा हुवावेका उपकरण जडान गर्न छाडेको छ तथापि, यस विषयमा चिन्ता जाहेर गर्दै सम्बन्धित अधिकारी तथा कम्पनीसँग समेत कुरा गर्दै आएको छ ।

उता बेलायतको टेलिकम ग्रुप बिटीका प्रमुख आर्किटेक्ट नेल म्याकराएका अनुसार फाइभ जी उपकरणको क्षेत्रमा अहिले हुवावे मात्र एउटा सक्षम आपूर्तिकर्ताको रुपमा रहेको छ । अन्य कम्पनीहरु यो क्षेत्रमा निकै पछि छन् । गत डिसेम्बरमा एक घोषणा गर्दै बिटी कम्पनीले आफ्नो फाइभजी नेटवर्कको ‘कोर’मा हुवावेका उपकरणहरु प्रयोग नगर्ने तर बाह्य उपकरणचाहिँ हुवावेका प्रयोग गर्ने बताइसकेको छ ।

कम्पनीका अधिकारीका अनुसार हुवावेसँग डराउनुपर्ने कारण छैन ।

तथापि, बेलायती अधिकारीहरुले भने हुवावेप्रति सुरक्षा आशंका व्यक्त गर्दै आएका छन् । हुवावे कम्पनीले भने बेलायती सरकारको सुरक्षा चुनौती सम्बोधन गर्नका लागि २ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment