Comments Add Comment

छात्राबासबाट अल्पदृष्टि विद्यार्थी वेपत्ता

९ फागुन, प्यूठान । प्यूठानका एक अल्पदृष्टि विद्यार्थी गौरभ गन्दर्भ एक सातादेखि सम्पर्कविहीन भएका छन् । महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा दृष्टिविहीन श्रोत कक्षाअन्तरगत कक्षा ९ मा अध्ययनरत गौरभ फागुन २ गतेदेखि विद्यालयको छात्राबासबाटै हराएका हुन् ।

ऐरावती गाउँपालिका वडा नं. ५ (साविक रस्पुरकोट गाविस वडा नं. १) सिन्दुरेडाँडाका १६ वर्षीय गन्दर्भको खोजी गरिदिन अभिभावकले आग्रह गरेका छन् । ‘विद्यालय र परिवार मिलेर आफन्त, इष्टमित्र सबै ठाउँमा खोजी गर्‍यौं,’ गौरवका ठूलोबुवा सन्तले भने, ‘प्रहरीले पनि खोजीरहेको भन्छ, तर एक साता वित्दा पनि अत्तोपत्तो छैन ।’

छोरा हराएपछि परिवारमा पीडा थपिएको भन्दै खोजीको पहल गरिदिन गौरभका काका अर्जुनले भारतबाट अनलाइनखबरलाई फोन गरेका थिए । गौरभका  बुवा पनि कामका लागि भारतमा थिए । छोरा हराएको खबर पाएपछि उनी पनि गाउँ फर्किएका छन् ।

‘अपांग छोरा सबैको प्यारो छ,’ गौरभका  ठूलोबुवा सन्तले भने, ‘उनको खोजीका लागि भारतमा रहेका बुवा सुरेश पनि घर फर्केका छन् ।’

विद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेलका अनुसार गौरभले आफ्ना साथीहरुसँग कहिले अर्घाखाँची जान्छु, कहिले बुटवल जान्छु र कहिले बुवा भएको ठाउँ भारत जान्छु भन्ने गर्दथे । प्रधानाध्यापक पौडेल भन्छन्, ‘गौरभले साथीहरुलाई यो कुरा कसैलाई नभन्नू भनेका रहेछन्, अरु साथीहरु पूर्ण दृष्टिविहीन भएकाले डराउँदा रहेछन् ।’

बुटवल र अर्घाखाँचीमा आफन्तहरु भएपनि गौरभ त्यहाँ नपुगेको पारिवारिक श्रोतले पुष्टी गरेको छ । विद्यालयले पनि सूचना निकालेर गौरभ गन्दर्भ विद्यालयबाटै हराएको जनाएको छ र खोजी गरिदिन सबैलाई अनुरोध गरेको छ ।

गौरभको खोजीकार्य जारी राखिएको प्यूठान प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताएका छन् ।

हेर्नुहोस् विद्यालयले निकालेको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment