Comments Add Comment

उपत्यकाका १५ कलेजमा ‘कोड फर चेन्ज’ हुँदै, प्रोग्रामिङमा लाग्न प्रेरित गरिने

Photo Credit : फाइल फाेटाे

९ फागुन, काठमाडौं । विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि ‘कोड फर चेन्ज’ कार्यक्रम हुने भएको छ ।

प्रोग्रामिङको क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले ‘युथ इन सोसियल चेन्ज’को आयोजनामा काठमाडाैंमा दोस्रो पटक यो कार्यक्रम हुन लागेको हो ।

विज्ञान-प्रविधिको अध्यापन हुने काठमाडौं उपत्यकाका  १५ वटा कलेजमा फागुन १७ देखि कार्यक्रम गरिने संयोजक निराजन क्षेत्रीले अनलाइखबरलाई जानकारी दिए ।

कलेज व्यवस्थापनसँगको सहकार्यमा हुने भएकाले ति कलेजका विद्यार्थीसँग शुल्क लिइनेछैन । उनीहरुलाई वेब डिजाइन (सीएसएस, जाभा, एचटीएमएल, जेएस लगायत), सफ्टवेयर डेभलपमेन्टबारे आधारभूत ज्ञानका साथै अभ्यास गराइनेछ ।

कार्यक्रमलाई दुई भागमा विभाजन गरेर सञ्चालन गरिनेछ । पहिलो चरणमा ‘फ्रन्ट-इन्ड डिजाइनिङ’ को बारेमा वर्कशप दिइन्छ भने अर्को दिन प्रतिस्पर्धा गराएर उत्कृष्ट तीन जना छनोट गरिनेछ । वर्कशपमा विद्यार्थीहरुलाई प्रोग्रामिङको क्षेत्रमा अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।

गत वर्ष युथ फर चेन्ज र पाटन संयुक्त क्याम्पसको संयुक्त आयोजनामा उपत्यकाका पाँच वटा कलेजमा भएको कार्यक्रमलाई अन्य कलेजमा पनि विस्तार गर्न लागिएको संयोजक क्षेत्रीले जानकारी दिए ।

कार्यक्रमको अन्तिम दिन गत वर्ष जस्तै प्रत्यक्ष हृयाकथोनबाट विजेता घोषणा गरिनेछ । विजेतालाई नगर पुरस्कारका साथै ईन्टर्नसीपको समेत व्यवस्था हुनेछ ।

यस वर्षको कार्यक्रमलाई पाटन संयुक्त क्याम्पससँगै, अर्किड ईन्टरनेश्नल कलेज र टेक्सास कलेजले पनि सघाएका क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment