Comments Add Comment

नेपाल-भारत पेट्रोलियम पाइपलाइन विस्तार अन्तिम चरणमा

Photo Credit : फाइल फाेटाे

१० फागुन, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्जदेखि बिहारको मोतिहारीसम्म बिछ्याउन लागिएको  पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ जंगल रहेको भू-भागमा मात्रै बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले काठमाडौंमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नायब कार्यकारी निर्देशक सुशील भट्टराईले नेपालतर्फ विछ्याउनु पर्ने ३६ किलोमिटर मध्ये २७ किलोमिटर बिछ्याइ सकिएको जानकारी दिए ।

नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६ दशमलब २ किलोमिटर र रक्सौलदेखि मोतिहारीसम्म ३२ किलोमिटर पाइप गाड्नुपर्ने छ । भारततर्फ भने झण्डै ५ किलोमिटर जति मात्रै पाइप गाड्न बाँकी छ ।

भट्टराईले बाँकी रहेको नेपालतर्फको भू-भाग जंगल क्षेत्र भएकाले रुख काट्न केहि समय लाग्ने जानकारी दिए ।  उनका अनुसार पाइपलाइन विस्तारका लागि त्यस क्षेत्रमा ६ हजार ३ सय भन्दा बढी वयश्क रुख काट्नु पर्ने देखिएको छ । यद्यपि, कूल रुख काट्नु पर्ने संख्या भने ठूलो छ ।

परियोजनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने बाराको पथलैयादेखि अमलेखगञ्जसम्म कूल ८८ हजार १ सय ६३ रुख काट्न गत माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो ।

पथलैयादेखि अमलेखगञ्जसम्म निकुञ्जको जंगल क्षेत्र भएको र पथलैया सिमरा क्षेत्रमा पनि जंगल भएकोले झण्डै ९ किलोमिटर क्षेत्रमा भूमिगत पेट्रोलियम पाइपलाइन विछ्याउने काम शुरु हुन सकेको छैन ।

सरकारले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको मात्रै रुख काट्ने जिम्मेवारी टिम्बर कर्पोरेसन नेपाल (टीसीएन) लाई दिएको छ । पथलैयादेखि दक्षिणतर्फको रुख के गर्ने भन्नेबारे अन्यौल कायमै छ ।

रुख काटेर ठाउँ दिएपछि १५ दिनमा खाल्डो खनेर पाइप बिछ्याइसक्ने लक्ष्य निर्माण कम्पनीको छ । सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयमै सम्पन्न हुनेमा आशंका छ ।

पाइपलाइन परियोजना सम्पन्न भएपछि पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मट्टतिेलको ढुवानी गर्न सकिनेछ ।  यसको इन्धन बहाव क्षमता मोतिहारीमा २ सय ९४ किलोलिटर प्रतिघण्टा र रक्सौलमा १ सय ९१ किलो लिटर प्रतिघण्टा हुनेछ ।

१ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमान सहित भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ ।  पाइपलाइन परियोजना निर्माणको काम भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्राईभेट लिमिटेडले गरिरहेको छ ।
नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगञ्ज-रक्सौल नाका हुँदै ट्याङकरमा भित्र्याउने गरिन्छ । यसमा ढुवानी लागत बढी पर्दै आएको छ भने चुहावटले गर्दा पनि नोक्सानी हुने गरेको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनुको साथै इन्धन ढुवानीमा लागिरहेको वाषिर्क १ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ ।  पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्ज डिपोमा ४ वटा ट्यांकी मर्मत भइरहेको छ ।

४ हजार १ सय किलोलिटर तेल अट्ने क्षमताको ट्याङ्की तयारी अवस्थामा रहेको र अन्यको केहीको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

यो पनि पढ्नुहोस पेट्रोल पम्पका लागि मापदण्ड सहज बनाउँदै निगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment