
१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा माओवादीपछि राजपाका नेता-कार्यकर्ताहरु पनि तानिएका छन् ।
यसैसाता राजीनामा दिइएका निवर्तमान आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने समूहसँग ७८ लाख घुस लिएका थिए । लामो समयसम्म चलेको बार्गेनिङ नमिलेपछि हालै मात्र घुसकाण्डका भिडियो फुटेजहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।
अनलाइनखबरले प्राप्त गरेको एउटा भिडियोमा राजनारायणले घुसकाण्डका भिडियो फुटेजहरु हत्याउन माओवादी कार्यकर्तालाई प्रयोग गरेको खुलेको थियो ।
अर्को खुलासा भएको छ, लम्बोदर समूहबाट रकम लिन राजनारायणले राजपाका नेतालाई प्रयोग गरेका थिए । उनी थिए, राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा ।
शुक्रबार विहान अनलाइनखबरको सम्पर्कमा आएका राजपा नेता झाले आफूले नै राजनारायणलाई दुई पटक गरेर ७८ लाख बुझाएको स्वीकार गरेका छन् । उनले भने, राजनारायणले मलाई प्रयोग गरेका हुन्, म पीडित हुँ ।’
उनकाअनुसार सुरुमा राजनारायणका भाइ शुभनारायण पाठकसँग उनको चिनजान भएको थियो ।
शुभनारायणलाई पूर्वाञ्चल विश्वविद्यालयका डीन बनाउन सहयोग पनि गरेका थिए । डीन बनेपछि शुभनारायणले छोरीलाई एमबीबीएस पढाउन भन्दै १५ लाख रकम लगे । तर, रकम फिर्ता गरेनन्, बरु कलेज खोल्नुस्, सम्बन्धन दिलाउन सहयोग गर्छु भन्ने आश्वासन दिए । तर, सम्बन्धन दिँदै दिएनन् ।
त्यही बेला नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको समूह झाको सम्पर्कमा आए । इञ्जिनियर भएका कारण न्यौपानेसँग चिनजान थियो र शुभनारायणसँग राम्रो सम्बन्ध भएकाले राजनारायणलाई भनिदिन आग्रह गरे ।
झाकाअनुसार राजनारायण र लम्बोदर समूहबीच एक करोड ६५ लाखको डिल भयो । राजनारायणले पैसा माग्न थाले । अख्तियारको प्रहरी लगाएर उठाउने धम्की दिएपछि लम्बोदर समूहले पैसा बुझायो । राजनारायणले नै आफूलाई पैसा लिएर आउन भनेको र पटकपटक दुःख दिएको राजपा नेता झाको दाबी छ ।
राजपा नेता ज्ञानेन्द्र झासँग गरिएको संक्षिप्त कुराकानी-
तपाई राजनारायण पाठकलाई चिन्नुहुन्छ ?
चिन्छु । पहिला उनका भाइलाई चिनेको हुँ । त्यसपछि उहाँसँग पनि चिनजान भयो ।
पाठकको घुसकाण्ड सम्बन्धी अडियो, भिडियो फुटेजहरुमा भनिएको ज्ञानेन्द्र झा तपाई नै हो ?
हो । राजनारायणले मलाई प्रयोग गर्यो ।
कसरी ?
उनले मलाई पैसा ल्याइदिन भने । राजनारायणको प्रेसरमा परेँ र मैले नै पैसा लगिदिएको हुँ ।
कहाँ लगिदिनुभयो पैसा ?
दुईपटक मैले उहाँको घरमै लगेर पैसा दिएको हुँ ।
तपाई राजनीतिक नेता हुनुहुन्छ, तपाईलाई घुस लिनेसँगै दिने पनि दोषी हुन्छ भन्ने थाहा छैन भनेर त कसरी भन्नु ?
मलाई युज गरेको हो । राजनारायणका भाइ पूर्वाञ्चलका डीन थिए । हामीले एउटा कलेज चलाउन खोजेका थियौं । सम्बन्धन दिलाइदिन्छु भनेपछि मैले काम गरें ।
भनेपछि तपाई आफ्नो गलत काम गराउन घुसको रकमको भरिया बन्नुभयो ?
सहयोग मात्र गरेको हो । हाम्रो व्यवहारमा त सहयोग चलिहाल्छ नि ।
तर, घुस दिने मान्छे पनि लिनेसरह दोषी हुन्छ । मैले नगर्नुपर्ने काम गरेँ भन्ने लाग्दैन ?
म भ्रष्टाचार विरोधी अभियन्ता हुँ । उसका बारेमा सरकारलाई सबै कुरा भनेको छु ।
प्रतिक्रिया 4