Comments Add Comment

रानीपोखरीमा मेलम्चीको पानी खसालिने !

१२ फागुन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुंगाएको छ ।पुरातत्व विभाग, काठमाडौं महानगरपालिकामा ३ वर्ष अल्झँदै अहिले प्राधिकरण मातहत गएको रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुंगो लागेको हो ।

प्राचिन मल्लकालीन शैलीमा निर्माण गर्ने सहमति भएको रानीपोखरीको ऐतिहासिकता नमेटिने गरी पुनर्निर्माण मोडालिटी तय गरिएको छ । प्राधिकरणसहित सरोकारवालाको बैठकले गरेको निर्णय अनुसार पोखरीमा रहेको स्थानमा एक फिट तलसम्म खनेर घाँस हटाइनेछ ।

त्यसपछि पोखरीको सबै बालुवा निकालेर माटो नमिसिने गरी एक ठाउँमा जम्मा गरिनेछ ।  कालो माटो रहेको पोखरीको तहमा थप एक फिट कालोमाटो राख्ने र माटोको तह तयार भएपछि झण्डै दुई फिटको बालुवा राखिनेछ ।

पोखरीको डिल पुरानै माटोले बनाउने प्राधिकरणको तयारी छ । विगतमा महानगरपालिकाले रिटेनिङ वाल र आरसीसी वाल लगाएर बिगारेको पोखरीको सतहलाई पुरानै तह अनुसार बनाउने प्राधिकरणले जानकारी दिएको छ ।

पोखरीको डिल र फूटपाथको छेउसम्म इँटा सोलिङ एवं लाइम कंक्रिट गरेर ठाडो इँटा बिछ्याइनेछ ।  महानगरपालिकाले बिगारेर बनाएको ढुंगाको रिटेनिङ वालमा मा अप्पा (प्राचिन इँटा) ले छोपेर फूटपाथ लेवलमा लाइम कंक्रिटपछि माअप्पाको नै रेलिङ वाल बनाउने प्राधिकरणको निर्णय छ ।

पोखरीदेखि माथिल्तिरको फूटपाथमा इँटा सोलिङ र लाइम कंक्रिट गरी २ ईन्ट बाक्लो कालो ढुंगा बिछ्याइनेछ ।  पोखरीको सिँढीमा बस्न ढुंगाको पेटी राखेर बाहिरबाट इँटा (मा अप्पा) ले मोड्ने तयारी छ ।

साथै पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ समेत ढुंगाको पेटी राखेर बाहिरबाट माअप्पाले मोडी मौलिकता र एकरुपता झल्किने किसिमले सिँढीहरुको निर्माण गरिनेछ । पोखरीको पूर्वतर्फ एउटा बोरिङ राखेर ठाउँठाउँमा आकाशे पानी जमीनमा भण्डारण गर्न  ‘रेन वाटर क्याच पिट’ बनाइनेछ ।

पोखरीको माथिल्लो सतहमा केह मिात्रामा माटो राखी हरियाली साथै टफिर्ङ गरिनेछ ।  प्राधिकरणले रानीपोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनसँग जोड्ने विकल्प पनि खुला राख्ने निश्कर्ष निकालेको छ ।

पहिलेजस्तो गरी रानीपोखरीमा भूमिगत पानी निस्किने सम्भावना नभएकाले प्राधिकरणले पोखरीमा जम्मा गर्ने पानीको जगेडामा मेलम्चीलाई साँचेको छ ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माणको मोडालिटी पनि प्राधिकरणले टुंगो लगाएको छ । पुलको निर्माण गर्दा जगदेखि पानीको सतहसम्म ड्राई ड्रेस स्टोन वाल लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै इँटा प्रयोग गर्ने प्राधिकरणको निर्णय छ ।

पुलको आर्च र आर्चमाथिको भाग निर्माण गर्दा लाइम/सुर्खी मोर्टार प्रयोग गर्ने निर्णय छ ।  पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा सम्भव भएससम्म पुरानै इँटाको प्रयोग गर्ने, पुलको फूटपाथमा कालो ढुंगाले पेभिङ गर्ने र पुलको दायाँ र बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ ईन्चको पर्खाल निर्माण गर्ने निर्णय छ ।

प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले यसै महिनाभित्र रानीपोखरीको पुनर्निर्माणका लागि बोलपत्र आहृवान गर्ने जानकारी दिए ।

‘यस दाैरान पुरातत्व र महानगरपालिकाबाट अघि बढेका प्रक्रिया स्थगन गरी नयाँ प्रक्रिया केही समय लाग्छ, सम्भवतः यो महिनाभित्र टेण्डर आहृवान भइसक्छ’, उनले भने ।

१४ माघमा बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरीको पुनर्निर्माण जिम्मा काठमाडौं महानगरपालिबाट खोसेर प्राधिकरणलाई दिएको थियो ।

यो पनि पढ्नुहोस रानीपोखरी पुनर्निर्माण काठमाडौं महानगरबाट खोसियो, प्राधिकरणलाई जिम्मा यो पनि पढ्नुहोस रानीपोखरीको बेहाल, ९ महिनाको काममा ३ वर्षसम्म अलमल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment