Comments Add Comment

आफन्तको लडाईँले पाठकलाई ७८ लाख घुस

१४ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का निवर्तमान आयुक्त राजनारायण पाठकले भ्रष्टाचार लुकाउन ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि नेपाल इन्जियिनरिङ कलेजको आन्तरिक विवादबारे चासो बढेको छ । अदुअआका आयुक्तले नै घुस लिनुले पनि यो प्रकरणमा कति ठूलो आर्थिक घोटाला छ भन्ने देखाउँछ ।

२२ सय विद्यार्थी अध्ययनरत भक्तपुरको चाँगुनारायणस्थित यो कलेजलाई सार्वजनिकबाट निजी बनाएर दुई अर्ब रुपैयाँमा बेच्न र २३ करोड वेरुजु तथा ५३ करोड ‘कलोधन’को मुद्दा गुपचुप राख्न अदुअआका आयुक्तलाई नै ७८ लाख घुस खुवाएको समाचारअनलाइनखबरले सार्वजनिक गरिसकेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित कार्यदलले कलेजमा भएको भ्रष्टाचार छानविन गरेर एक महिनाभित्र दोषीमाथि कारवाही गर्न २५ पुसमा सिफारिस गरेको थियो । सर्वोच्च अदालतले पनि संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको यो कलेजलाई प्राइभेट लिमिटेड बनाउन नमिल्ने अन्तरिम आदेश दिएको थियो ।

कलेज स्रोतबाट अनलाइनखबरलाई प्राप्त कागजातहरुको पेट बोली र सम्बन्धित निकायको अनुसन्धानले भन्छ-कलेजमा व्यापक अनियमितता र नीतिगत भ्रष्टाचार भएकै हो ।

अहिले दुई चिरामा विभाजित भएका कलेजका सञ्चालकहरू एकअर्काविरुद्ध आरोप लगाइरहेका छन् ।

एउटा समूहको नेतृत्व दीपकप्रसाद भट्टराईले गरेका छन् भने अर्को समूहको लम्बोदरकुमार न्यौपानेले ।

२०५१ सालमा गैर-नाफामुलक संस्थाको रुपमा स्थापित यो कलेजका संस्थापक भट्टराई, न्यौपाने, हरि पाण्डे, रामरत्न उपाध्याय, लवराज भट्टराई, उपेन्द्र गौतम र सूर्यबहादुर केसी हुन् । रामरत्न, लवराज, उपेन्द्र र सूर्यबहादुर लम्बोदर समूहमा छन् ।

ज्वाई भर्सेस जेठान

भट्टराई र न्यौपाने समूह मुखामुख र धकेलाधकेलदेखि कानूनी लडाईसम्म एकअर्काविरुद्ध खुलेर लागेको देखिन्छ । न्यौपाने नातामा भट्टराईका बहिनी ज्वाई हुन् ।

ज्वाईको समूह विरुद्ध १२ साउन २०७४ मा अदुअआमा दर्ता गरेका १७ बुँदे उजुरीमा जेठानले लेखेका छन्-मेरो बुझाई ठीक भएमा जालीफटाहा र सार्वजनिक सम्पत्ति हत्याउन चाहनेहरू उपर कारवाही गरिपाऊँ ।

त्यसको अघिल्लो दिन ११ साउनमा पनि लम्बोदर समूहविरुद्ध अदुअआमा उजुरी दर्ता भएको थियो । उजुरीकर्ता थिए-दीपकका छोरा सलिल भट्टराई ।

भिनाजु भर्सेस साला

नेपाल इन्जीनियरिङ कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय दीपक भट्टराईका जेठा भिनाजु हुन् ।

सालोले भिनाजुकै सल्लाहमा २०५१ सालमा सामाजिक संस्थाको रुपमा कलेजलाई दर्ता गरेका थिए । तर, कलेजको बढ्दो आयले सालाभिनाजुको सम्बन्ध बिगार्दै लगेको देखिन्छ ।

त्यही क्रममा २०७३ सालमा भट्टराईले आफ्नो साटो छोरा सलिललाई संस्थापक बनाए । सलिल पनि फुपाजु (लम्बोदर र रामरत्न) हरुको विपक्षमा उभिए । सलिलले सरोकारवालालाई पठाएको एउटा इमेलमा लेखका छन्- …मेरा बुबाका भिनाजु र ज्वाँईबाट कलेजलाई बचाउन किन लडाँई गरिरहनु पर्थ्यो  ?

२०७४ मा दीपक भट्टराई अभिभावकको तर्फबाट सञ्चालक समितिमा पुगेयता बाबु, छोरा र हरि पाण्डे एक समूहमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment