Comments Add Comment

नेपाली महिला क्रिकेटको विश्वकप सपना अधुरै, एउटा हार नै महंगो

१५ फागुन, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने नेपालको सपना फेरि एकपटक टुटेको छ ।

६ मध्ये ५ खेलमा जिते पनि नेपाल टी–२० विश्वकप छनोट २०१९ र विश्वकप २०२० को छनोटबाट बाहिरिएको हो ।

आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा बुधबार नेपालले कुवेतलाई ३० रनले पराजित गर्‍यो । तर, अर्को खेलमा आयोजक थाइल्यान्डले यूएईलाई ५० रनले पराजित गरेसँगै नेपालको यात्रा समाप्त भयो । थाइल्यान्ड विजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुगेको छ ।

आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपाल थाइल्यान्डसँग मात्रै पराजित भएको थियो ।

तर, आयोजक थाइल्यान्डसँगको हार नेपालको लागि महंगो सावित भयो । किनकी यस प्रतियोगिताबाट एउटै मात्र टोली अर्को चरणमा पुग्ने प्रावधान छ । थाइल्यान्डलाई पराजित गरेको भए नेपाल अर्को चरणमा उक्लिन सक्थ्यो । तर, ५७ रनको हारले नेपाली महिला क्रिकेटलाई रोकेको छ ।

६ खेलमा पाँच जित र एक हार ब्यहोरेको नेपालले १० अंक बनाउँदै आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोट टुंग्याएको छ । उपविजेता बनेको नेपाल अंकतालिकामा दोस्रो स्थानमा रह्यो ।

थाइल्यान्डले ६ खेलमा शतप्रतिशत नतिजा निकाल्दै १२ अंक बनायो । ६ खेलबाट ८ अंक बनाएको यूएई तेस्रो स्थानमा रह्यो ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली महिला क्रिकेटले यो स्तरको प्रदर्शन गर्नु तारिफयोग्य भएको बताएका छन् । उनले भने, ‘एक–दुई महिनाको अभ्यासले पाँच खेलमा जित हात पार्नु उपलब्धी हो ।’ उनी थप्छन्, ‘पुराना खेलाडीले त राम्रो खेले, नयाँ खेलाडीले पनि उतिकै राम्रो खेलेका छन् । हार जित आफ्नो ठाउँमा छ ।’

मौका गुम्यो

दुई विश्वकपका लागि एक छनोट प्रतियोगिता । यही छनोट प्रतियोगिताले एसियाका सात देशमध्ये एकको भाग्य चम्किने थियो ।

नेपाललाई पनि यसमा दाबेदारको रुपमा हेरिएको थियो । त्यही अनुसारको नेपालको तयारी थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित भयो । १२५ रनको लक्ष्य पाएको नेपालले ६७ रन मात्रै बनाउन सक्यो । त्यसपछि नेपालले क्रमशः यूएईलाई सात विकेटले, हङकङलाई चार विकेटले, चीनलाई पाँच रनले र कुवेतलाई ३० रनले पराजित गरेको छ ।

थाइल्यान्डसँगै किन हार्छ नेपाल ?

एक महिनाअघि सम्पन्न ‘थाइल्यान्ड महिला टी–२० क्रिकेट स्मास’ प्रतियोगितामा आयोजक थाइल्यान्डसँग नै ७० रनको फराकिलो अन्तरले पराजित हुँदा नेपाल ऐतिहासिक उपलब्धिबाट चुकेको थियो । त्यसबेला प्रशिक्षक तथा कप्तानले भनेका थिए, ‘हामी मानसिक रुपमा कमजोर भयौं ।’

त्यसबेला उपविजेता बनेर स्वदेश फर्किएका प्रशिक्षक विनोद दासले भनेका थिए, ‘हाम्रा खेलाडी थाइल्यान्डको भन्दा केहीमा कम छैनन् । तर मानसिक रुपमा तयार भएनौं । त्यसकारण हार्‍यो ।’

नेपाल थाइल्यान्डसँग हार्नुको मुख्य कारण घरेलु संरचना नै हो । महिला क्रिकेटको ममिलामा थाइल्यान्डले विगत केही वर्षयता ठूलो लगानी गरेको छ । तर नेपालमा महिला क्रिकेटको अवस्था दयनीय छ ।

घरेलु प्रतियोगिताको नाममा नेपाली महिला क्रिकेटरले वर्ष दिनमा एउटा मात्रै प्रतियोगिता खेल्छन् । त्यो हो, राखेपले आयोजना गर्ने ‘प्रधानमन्त्री कप’ । यो प्रतियोगिता बाहेक नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता नआइन्जेलसम्म अरु नै पेशामा व्यस्त हुनुपरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा घरेलु प्रतियोगिताको अभावकै राम्रो नतिजा नआएको बताउँछन् । उनी भन्छन्, ‘महिला खेलाडीलाई म्याच एक्सपोजरकै कमी छ । थाइल्यान्डलाई यस्तो समस्या छैन । उनीहरुले ठूलो लगानी गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment