Comments Add Comment

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

१५ फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो । दिउँसो पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए ।

उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् ।

गृह मन्त्रालयले खराब मौसमका कारण दुर्घटना भएको बताएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् । ‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।

बुधबार दिउँसो घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । कालिका होटल सन्चालक सुरज भट्टराईले अनलाइनखबरसँग भने, ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ । आर्मीको बुट देखिएको छ । अरु केही पनि बाँकी छैन ।’

यसअघि प्रकाशित आङछिरिङ शेर्पाको तस्वीरमा अन्यथा पर्न गएकाले क्षमा प्रार्थी छौं । सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment