
१७ फागुन, पोखरा । पोखरा–५ मालेपाटनको जनप्रिय टोल । त्यही टोलमै हो, जनप्रिय नेता रवीन्द्र अधिकारीको निवास । निवासमा छन्, स्तब्ध आफन्त र शुभचिन्तक ।
रवीन्द्रका बुबा ईन्द्र र आमा लक्ष्मी अधिकारी बिहीबार काठमाडौंबाट फर्किए । उनीहरु फर्किएसँगै आफैंमा पीडावोध गरिरहेका आफन्त–शुभचिन्तक समवेदना दिन जाने–आउने क्रम जारी थियो । एउटा कोठामा विक्षिप्त भएर पल्टिरहेका थिए, बुबा इन्द्र र अर्को कुठामा सुक्कसुक्क गर्दै मन थामिरहेकी थिइन् आमा लक्ष्मी । रवीन्द्रका कान्छा छोरा स्वराज सुस्काइरहेकी हजुरआको गाला चुम्छन्, थमथमाउँछन् र बाहिर बरञ्डामा निस्कन्छन् र बाटोतिर आँखा डुलाउँछन् ।
बाबु गुमाएका १० वर्षीय बालकका अवोध आँखा बाटोदेखि घरका आँगनमा जम्मा भएका मान्छेहरुमा आँखा डुलाउँछन् । उनको मनले सोच्दो हो, ‘पक्कै बुबा पनि त्यही बाटो भएर फर्किँदै हुनुहुन्छ ।’ फेरि दगुर्दै हजुरआमाको स्पर्शमा पुग्छन् र रसाइरहेका आँखा पुछिदिन्छन् । शुक्रबार रवीन्द्रको शव पोखरा ल्याइने भएपछि बुबाआमा, कान्छा छोरा स्वराज र रवीन्द्रका भाइ दीपेन्द्र अघिल्लो दिन बिहीबारै पोखरा आइपुगेपछिको दृश्यले सबैलाई विक्षिप्त बनाउँथ्यो ।
श्रीमती विद्या र जेठा छोरा विराज शुक्रबार मात्रै पोखरा आउने छन् । लोकप्रिय र आशा गरेका नेता रवीन्द्रको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गएपछि उनको परिवारजनसँगै सिंगो पोखरा शोकमा छ । विकासप्रेमी नेता अधिकारीबाट कस्केलीले धेरै आशा गरेका थिए । तर, दुर्घटनाले आशाको दियो निभाइदिएको अझै पनि धेरै पत्याउन सकेका छैनन् ।
नेपाली जनता, पार्टीका कार्यकर्तादेखि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसमेतले भरोसा गरेका नेता थिए, रवीन्द्र । बिहीबार साँझ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा प्रदेशका सबै मन्त्री रवीन्द्रको परिवारजलाई समवेदना दिन पुगे । रवीन्द्रका बुबाआमालाई भेटे । मुख्यमन्त्रीसँगै अर्थमन्त्री किरण गुरुङले बुबाआमा हात समाउँदै शान्त्वना दिए ।
रवीन्द्रका बुबासँगै बसेका आफन्त र शुभचिन्तकसँग मुख्यमन्त्रीले मृत्युलाई टार्न नसकिने भन्दै स्वीकारेर सम्हालिनुको विकल्प नभएको बताए । रसियन लेखक वार एन्ड पिसका लेखक टोल्स टोयको भनाइ सापटी लिँदै मुख्यमन्त्रीले भने, ‘तीन कुराको कहिल्यै भर हुँदैन । कहिले मृत्यु हुन्छ थाहा हुँदैन, मान्छे कसरी मर्छ र कहाँ मर्छ भन्ने पनि थाहा हुँदैन ।’
मुख्यमन्त्री गुरुङले खराब मौसम र हिमपातसमेत परेका बेला हेलिकप्टर उडाउनु जोखिमयुक्त भएकोसमेत बताए । ‘खराब मौसम, हावाहुरी र हिमपातसमेत भइरहेका बेला हेलिकप्टर उडाउँदा अनब्यालेन्स हुन्छ । त्यस्तो बेला उडाउनु आफैमा चुनौतिपूर्ण थियो’ मुख्यमन्त्री गुरुङले भने, ‘कम्युनिस्टहरु भाग्यमा विश्वास गर्दैनन् । तर, कहाँ कतिबेला के हुन्छ भन्ने कुरा थाहा नहुने रहेछ ।’
मुख्यमन्त्री गुरुङले रवीन्द्रका बुबासँगै बसेका आफन्त र शुभचिन्तकसँग आफ्नो हेलिकप्टर अनुभवसमेत सुनाए । मनाङबाट प्रधानमन्त्रीसँगै हेलिकप्टरमा फर्किँदा हावाहुरी चल्दा आफूभन्दा अगाडिको हेलिकप्टर हावाका कारण ढलपल ढलपल हुँदै उडेको थियो र पछि माथि लगेपछि अनि आफूहरु पनि उसैगरी उडेपछि बल्ल ठीक हुँदै गएको मुख्यमन्त्रीले सुनाए । ‘त्यतिबेला हावाहुरी र हिउँसमेत फुसफुस परिरहेको थियो,’ मुख्यमन्त्रीले आफन्तसँग अनुभव साट्दै भने, ‘उडानमा हिउँ पर्न थालेपछि खतरा हुन्छ भन्छन् ।’
गतिशील नेता गुमाउनुको पीडा
आशा र सम्भावना भएका नेता रवीन्द्रको निधनलाई विश्वासै गर्न नसकेको मुख्यमन्त्री गुरुङले बताए । ‘अत्यन्त दुखदायी घटना घट्यो । अब यो शोकलाई हामीले शक्तिमा बदल्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘ज्यादै गतिशीलता भएको नेता हो उहाँ । थुप्रै कामले गति लिइरहेको थियो तर उहाँको त्यो गति यही रोकियो ।’ गतिशील र जुझारु युवा नेता गुमाउनु पीडा महसुस भइरहेको मुख्यमन्त्रीको भनाइ थियो ।
आशा, संभावना र सकारात्मक सोच भएका यही क्षेत्रका नेता संघीय मन्त्री हुँदा विकास निर्माणमा धेरै सहयोग भइरहेको बताउँदै मुख्यमन्त्रीले अब त्यो अवस्थाको अन्त्य भएको बताए । अधिकारीको निधनले राष्ट्रकै क्षति पुग्दा गण्डकी प्रदेशले झनै बढी क्षति व्यहोरेको उनको भनाइ थियो ।
रवीन्द्र युवा नेताहरुमध्ये सबैभन्दा जुझारु, व्यवहारि, अरु धेरैभन्दा मीलनसार र गतिशीलता भएको व्यक्तिका रुपमा मुख्यमन्त्रीले चित्रण गरे । उनको इमान्दारिता, सरलता र जुझारुपनबाट सिकेर उनले छोडेर गएका सपना पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री गुरुङले बिहीबार शोक बक्तब्य जारी गर्दै भनेका छन्, ‘गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको छ ।’
शुक्रबार शव यात्रा र रामघाटमा दाहासंस्कार
रवीन्द्रको शव शुक्रबार पोखरा ल्याइँदैछ । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिर पोखरा प्रदर्शनी केन्द्रमा १२ बजेदेखि ४ बजेसम्म राखिने छ । ११ बजेसम्म काठमाडौंमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि पोखरा ल्याउने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
बिहीबार प्रदेश मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर शोक प्रस्ताव पारित गरेको छ । श्रद्धाञ्जली प्रकट गर्न नेकपाका केन्द्रीय नेताहरु पोखरा आउँदै छन् । ४ घन्टा प्रदर्शनी केन्द्रमा राख्ने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा हुने छ । रामघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिन प्रवक्ता बस्नेतले जानकारी दिए ।
रवीन्द्रलाई श्रद्धाञ्जली दिन र शव यात्रामा सहभागी हुन सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, भूमिसुधारमन्त्री पद्मा अर्याल लगायतका नेता आउँदै छन् । मन्त्रिपरिषदको बैठकले विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई शवयात्रामा भाग लिन आह्वान गरेको छ ।
प्रतिक्रिया 4