Comments Add Comment

गाउँबाहिर अलपत्र कुष्ठरोगी वृद्धको उद्धार

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार शुरु

१७ फागुन, वीरगञ्ज । गाउँबाहिर बाँसको झ्याङमा बस्दै आएका ७५ बर्षीय कुष्ठरोगी सुरुज राउत पटेलको उद्दार गरिएको छ ।

वीरगन्ज महानगरपालिका २९ मुसैली गाउँ बाहिर बाँसको झ्याङमुनि छाप्रो बनाएर एक्लै बस्दै आएका उनलाई शुक्रबार नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकले सामाजिक अभियन्ता र स्वास्थ्यकर्मीको सहायतामा एम्बुलेन्स पठाएर अस्पताल ल्याएका थिए ।

उनलाई आजै नारायणी उपक्षेत्रीय अस्पतालमा चर्म रोग विशेषज्ञ डाक्टरले चेकजाँच गरेका छन् । ‘गाउँबाट उद्दार गरे अस्पतालमा लग्यौं, त्यसपछि चिकित्सकलाई देखायौं’ सामाजिक अभियन्ता प्रकाश थारुले भने ‘अब उनको उपचार शुरु भएको छ ।’

कुष्ठरोगी राउत गाउँबाहिर अलपत्र परेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चासो देखाएका थिए । उनकै आग्रहमा अस्पतालले उद्दार गरेको हो ।

अस्पतालका चर्मरोग विशेषज्ञ डा अतुलेश चौरसियाले सामान्य जाँच गर्दा कुष्ठरोगको लक्षण देखिएको बताए । ‘दुवै हात र खुट्टाको नसा सुन्निएको छ मेडिकल भाषामा त्यसलाई टेन्टडरनेस भन्निन्छ । उनको केही अंगको छाला लाटो भएको र छुँदा थाहा नहुने, तातो चिसो थाहा नहुने अवस्थामा पुगेको सिन डा. चौरासियाले बताए । ‘यो पूर्ण रुपमा कुष्ठरोगको लक्षण हो, अहिलेसम्म चिकित्सकको सम्पर्कमा नआएकोले समस्यामा हुनुहुन्थ्यो । अब उहाँलाई निको हुन्छ ।’

उनले कुष्ठरोगको औषधी अस्पतालमा निशुल्क पाइने समेत जानकारी दिए । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट हकले अस्पतालमा हुन सक्ने उपचार गराउने र आवश्यक परेको खण्डमा रिफर गरेरै भए पनि थप उपचार गराउने जानकारी दिए ।

ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका राउतको हात खुट्टा कुष्ठरोगका कारण बिग्रदै गएपछि मागेर गुजारा गर्न बाध्य भएका थिए । ‘न दुख्थ्यो, न केहि हुन्थ्यो एक्कासी यस्तो भयो, अहिले काम गर्न सक्दिन’ राउतले भने । उनले गाउँमा मागेर गुजारा गर्दै आएका थिए ।

कुष्ठरोगी वृद्धको उपचार हुने भएपछि स्थानीय पनि खुशी भएका छन् । स्थानीय दर्शन महतोले राउतलाई २०/२५ बर्षदेखि नै देख्दै आएको तर पछिल्लो अवस्थामा उनको स्वास्थ्य अवस्था बिग्रेको बताए । ‘गाउँका मानिसले त ल्याएर दिँदैनथे, गाउँ डुलिरहँदा कसैले दिए खान्थे ।’ उनले भने ‘राउतलाई उपचार, खाना, कपडा मात्रै होईन, वृद्ध अवस्था भएकोले स्याहारको पनि खाँचो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment