Comments Add Comment

दुर्घटनामा परेका पाइलट को हुन् ?

१७ फागुन, काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पाइलट प्रभाकर केसी काठमाडौं ताहाचलका स्थायी बासिन्दा हुन् ।

२६ वर्षीय प्रभाकरले एअर डाइनेस्टीमा क्याप्टेनको जिम्मेवारी सम्हालेको तीन वर्ष भएको थियो । एअर डाइनेस्टीमा आउनुअघि उनी श्री एयरलाइन्समा आवद्ध थिए ।

सहकर्मीका अनुसार उमेरले भर्खरको भए पनि उडानमा उनी परिपक्व पाइलट मानिन्थे । ‘उनी हरेक उडान पर्फेक्ट हुनुपर्छ भन्नेमा जोड दिन्थे’, उनका एक सहकर्मी भन्छन् ।

ताहचलस्थित साइरिस स्कूलबाट एसएलसी गरेपछि प्रभाकरले काठमाडौं बर्नहर्ट कलेजमा कक्षा ११ र १२ पढे । उनले २०१२ मा फिलिपिन्सबाट पाइलट कोर्स पुरा गरेका हुन् ।

प्रभाकर घरका सबैभन्दा कान्छा सदस्य हुन् । उनका बाबा, आमा र एक दाजु छन् ।

भाइ दुर्घटनामा परेको खबर सुनेपछि विहीबार नै उनका दाजु दिवाकर दुबईबाट नेपाल फर्किएका छन् । होटल लाइनमा कार्यरत दिवाकर र प्रभाकरको एकैचोटि विवाह गर्ने कुरा चलिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘केही महिनापछि दाजुभाइको एकैपटक विवाह गर्ने तयारी भइरहेको थियो’, प्रभाकरका एक आफन्तले अनलाइनखबरसँग भने ।

‘कान्छा’ सबैको प्यारो

दिवाकर र प्रभाकरलाई छिमेकीहरू उदाहरणीय दाजुभाइ मान्छन् । मानसम्मान गरेर बोल्ने उनीहरू सबैका प्यारा थिए ।

आमाबाबुले सानैदेखि राम्रो संस्कारमा हुर्काएको छिमेकीहरू बताउँछन् । ‘उनीहरूलाई माया नगर्ने कोही थिएनन्’ प्रभाकरका छिमेकी आरती थापा भन्छिन्, ‘प्रभाकर मान्छे जस्तो, व्यवहार पनि उस्तै राम्रो थियो ।’

प्रभाकरका वालसखा विवेक अधिकारी साथीको निधनले स्तब्ध छन् । विवेक र प्रभाकार छिमेकी मात्रै होइनन् सहकर्मीसमेत हुन् ।

एउटै स्कूल, एउटै कलेज पढेर एअर डाइनेस्टीमा पनि एउटै डिपार्टमेन्टमा काम गरेका विवेकका अनुसार प्रभाकर कडा मिहिनेती र मिलनसार स्वभावका थिए । जाँडरक्सी लगायतका कुनै पनि कुलतमा उनी फसेका थिएनन् ।

एअर डाइनेस्टीमा अपरेसन डिपार्टमेन्टमा कार्यरत विवेक भन्छन्, ‘तर राम्रो मान्छेलाई भगवानले पनि छिटो लैजाने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment