Comments Add Comment

चिनियाँ पाइलटको सुझाव–मौसम विचार गरेर मात्र उड्नू

मौसमलाई दोष देखाइदिएर उम्किन सजिलो !

Photo Credit : अनलाइनखबर फाइल

‘मौसमको विचार गरेर मात्र उड्नुस्, नेपालमा अहिले भएका दुर्घटनामा कम्तिमा पनि ५० प्रतिशत कम हुन्छ ।’ मेरो प्रश्नको जवाफ दिँदै थिए चिनियाँ पाइलट (क्याप्टेन) चाओ फेङ दे ।

मैले सुझाव नेपालका पाइलटलाई मागिदिएको थिएँ । चिनियाँ पाइलटलाई मेरो प्रश्न थियो- ‘नेपालमा साना विमानहरुको दुर्घटना झन्भन्दा झन् बढ्दैछ, यसलाई कसरी कम गर्न सकिएला, नेपालका पाइलटहरुलाई केही सुझाव दिनुहुन्छ कि ?’

कुरा विसं ०७३ वैशाखको हो । चीनको हार्विन प्रान्तमा भ्रमणमा गएका बेला त्यहाँको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना) का पाइलट क्याप्टेन चाओ फेङ देसँग हाम्रो भेट हुन पुगेको थियो ।

नेपालमा पनि जहाज चलाएका र कैयौँ नेपाली पाइलटलाई तालिम समेत दिएका ती क्याप्टेनले मेरो प्रश्नपछि नेपाली विमान चालकलाई मौसम हेरेर विमान चलाउन सुझाव दिँदै थिए ।

नेपालमा विमान दुर्घटना बढ्दै गएकाले हामी नेपाली पत्रकारहरुले उनलाई यो जिज्ञासा राखेका थियौँ । उनको पहिलो र उनकै भाषामा सबैभन्दा महत्वपूर्ण सुझाव थियो- मौसमको विचार गरेर मात्र उड्नुस्, अहिलेको भन्दा कम्तिमा पनि ५० प्रतिशत दुर्घटना घट्नेछ ।

नेपालको मौसमको यस्तो बहुआयामिक विशेषता आफूले सात वर्षको नेपाल उडानका क्रममा महसुस गरेको स्मरण गर्दै उनले फेरि दोहोर्‍याएर भनेे- बाहिरबाट सुन्दामात्रै अथवा सरसर्ति हेर्दा यो सुझाव सामान्यजस्तो मात्र लाग्न सक्छ, तर उड्नुअघि पइलट आफैंको अग्रसरतामा सबैतिरको मौसम बुझ्ने र मौसमको विचार गरेर मात्र उड्न सक्ने हो भने सम्भावित अधिकांश दुर्घटनाबाट बच्न सकिन्छ ।

उनले सन् २००१ देखि नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका रहेछन् । नेपाली पत्रकारहरुसँगको कुराकानीमा चाओले भने, ‘नेपाल क्षेत्रफलमा सानो देश भए पनि छिटो छिटो परिवर्तन हुने अर्थात बदली भइरहने मौसम छ । यो नै विमान चालकका लागि ठूलो चुनौती हो ।’

चिनियाँ पाइलटको अनुभव थियो- नेपालको मौसम संसारको तुलनामा अलौकिक छ, राम्रो छ । तर, छिटो छिटो परिवर्तन हुने र छोटो दूरीमै पनि फरक-फरक रुपमा बदली भइरहने गर्दछ । नेपालमा जति राम्रो र अलौकिक मौसम छ, उड्डयन क्षेत्रका लागि त्यति नै बढी जोखिमपूर्ण पनि छ ।

उनको आसय थियो- नेपालको मौसम नै हवाई यातायातका लागि सबैभन्दा ठूलै चुनौती हो ।

त्यस समय नेपालमा एयर ड्रयागनको विमान उडाएका उनी यहाँ पछिल्लो समयमा बढ्दो हवाई दुर्घटनाप्रति सुसूचित र चिन्तित थिए । उनी भन्दै थिए- यहाँहरुबाट मलाई यो जिज्ञासा आउँछ भन्ने पहिले नै लागेको थियो ।

उनले उडानका समयमा कहिलेकाहीँ एअरलाइन्सको व्यवस्थापन पक्षबाट दबाव पनि आउने गरेको अनुभव सुनाएका थिए । उनको यो अनुभवपूर्ण आशयमा राजनीतिक एवं सरकारी दबाव पनि लुकेको थियो । तर, पनि विमान आफूले उडाउने, सयौँ, हजारौँ मानिसको जीवन आफ्नै हातमा भएकाले यस्ता कुनै पनि खाले दबावमा नपर्न पनि नेपालका विमान चालकहरुलाई उनको सुझाव थियो ।

उनले हामीसँग भनेका थिए- कहिलेकाहीँ यस्तो दबापको कुरा पनि सुनिन्छ, तर पनि उडानको अन्तिम अधिकारी विमान चालक हुनुपर्छ, यस्ता कुनै विषयमा पनि ध्यान दिनुहुँदैन र उडानसम्बन्धी सबै निर्णयहरुको आधिकारिकता चालकसँगै हुनुपर्छ ।

नेपालमा विमान दुर्घटना बढ्दै गएकोमा त्यस समय उनले निकै चिन्ता व्यक्त गरेका थिए । उनले नेपालमा नयाँ नयाँ विमानहरुको परीक्षण उडान पनि सम्पन्न गरेका रहेछन् । उनले नेपालमा नयाँ नयाँ विमानहरुको परीक्षण उडान गर्ने र विमान चालकहरुलाई तालिम पनि दिएको बताए ।

उनले भने- विमान दुर्घटनामा मौसमबाहेकका अरू पनि कारणहरु हुन सक्छन् तिनको अनुसन्धान समयमै गर्नुपर्छ र देशमा उड्डयन क्षेत्रको नियम कानुन कडा हुनुपर्छ, कसैको प्रभाव र दबावबाट प्रभावित र परिवर्तन हुनेखालका उडानका नियम कानुन हुनुहुँदैन, त्यसले विमान कम्पनी या एयरलाइन्सलाई मात्र होइन, नेपालको अन्तरराष्ट्रिय पर्यटन क्षेत्रलाई नै असर गर्न सक्छ ।

हरेक पटक उडान भर्नुअघि अर्थात् विमान उडाउनुअघि गरिने जहाजको पूर्वजाँच अर्काे महत्वपूर्ण काम हो र यसमा पनि चालक नै बढी सचेत र सजग हुनु जरुरी रहेको उनको सुझाव थियो ।

तीन दशकभन्दा बढी विमान उडाएका ६७ वर्षीय अनुभवी विमान चालक चाओ भन्छन्- विमान चालकले नै जतिसुकै ढिला भए पनि धैर्य गरी विमानको पूर्वजाँच गर्ने र आफ्नो स्वविवेकका अगाडि कहिल्यै कसैको दबावमा नपर्नाले ठूला दुर्घटनाबाट जोगिन सकिन्छ ।

मौसमको मानसिक मार ! 

बुधबार अपरान्ह पौने चार बजेतिर म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा पनि त्यहाँ मौसमको धेरै ठूलो मार देखेको थिएँ । त्यहाँ सन्नाटा छाएको थियो । यात्रुहरु अवाक थिए । उडानहरु पटक-पटक ‘डिले’ भइरहेका थिए । तर, यात्रुहरु भने बरु जहाज नउडे घरै फर्किउँला भन्ने मानसिकतामा देखिन्थे । घरमूलीको अकस्मात अवसानपछि परिवारका सदस्य अवाक भएजस्तै अवाक थिए यात्रु ।

हुन पनि देशले पर्यटन क्षेत्रका घरमूली नै गुमाएको थियो- पर्यटनमन्त्री रवीन्द्र अधिकारी । त्यसैदिन ताप्लेजुङमा अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेमा देशको पर्यटन क्षेत्रका एकजना अब्बल अगुवा आङ छिरिङ शेर्पा पनि थिए ।

यस क्षेत्रलाई नियमन गर्ने निकायका अरु दुई व्यक्ति वीरेन्द्र श्रेष्ठ र ध्रुव भोछिभय सहित सातजना थिए । विमानस्थलको आन्तरिक टर्मिनल भवनमा रहेको टेलिभिजनले ˆल्यास दुर्घटनाको समाचार ‘अपडेट’ भइरहेको थियो, पत्रकार, विज्ञ तथा स्थानीय बासिन्दा कारण उनी अघि सार्दै थिए- मौसमको खराबी ।

मेरो चाहिँ सवा ४ बजेको भैरहवाको  फ्लाइट थियो, तर पाँच बजिसकेको थियो । डोमेस्टिक जहाजहरु समयमा उड्न सकिरहेका छैनन् । बाहिरको मौसम उदेकलाग्दो छ । छिनमै रुन्छ, आकास र छिनछिनमा उज्यालिन्छ । घामले मुख देखाएजस्तो पनि गर्छ । फेरि एकै छिनमा बादल सोहोरिएर आउँछ र वरिपरि ढकमक्क ढाक्छ । अनि दिउँसै रात परेजस्तो भइहाल्छ ।

दिनभर यही रितले लुकामारी खेलिरहेको छ घाम र बादल । काठमाडौँ वरिपरिका चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात शुरु भएका खबर आउन थालेका छन् । भोलिसम्म नै पानीपर्ने समाचार टीभीले दिइरहेका छन् । काठमाडौँबासीमा चिसोको स्पर्श बढ्दो छ । तर, हँसिला, फरासिला युवा नेता रविन्द्र अधिकारीको निधनले सबैलाई स्तब्ध बनाएको छ । मनभित्रको उनैको रन्कोका कारण शरीरले चिसिएको मेसो त्यति पाइरहेको देखिन्न । अचम्म त के छ भने यति फुर्सदिला यात्रु मैले आज पहिलोपटक देख्दैछु । आज उड्ने ‘मुड’ धेरैमा छैन ।

पर उभिएका थिए नेपालका एकजना युवा उद्यमी चन्द्रप्रसाद ढकाल । धेरैजनाको घेरामा देखिन्थे उनी । सहजै अनुमान लगाउन सकिन्थ्यो, उनी पनि कैयौँ जिज्ञासाहरुले घेरिएका छन् । परै पुगेँ । जहाज र गन्तव्य भैरहवाकै थियो । साथमा थिए चन्द्रागिरि हिल्सका व्यावसायी अम्बिकाप्रसाद पौडेल र नेपालका एकजना पुराना निर्माण व्यावसायी रमेश शर्मा । उदीयमान उद्यमी ढकाल अघिपछि साह्रै व्यस्तमा मात्र भेटिन्थे । तर, आज भने उनमा पनि हतारो छैन । ज्यानमा जाँगर देखिन्न । भविश्य बोकेका एकजना युवा नेता र पर्यटन क्षेत्रका अगुवा उद्यमीलाई निलेको आजको त्यो डरलाग्दो मौसमले उनलाई पनि नमज्जा दिइरहेको छ । आज जहाज नउडे पनि खासै फरक नपर्ने मुडमै देखिए उनी पनि, म जस्तै ।

हरेक पटकको उडानसम्बन्धी ‘अनाउन्स’ मा धेरैले ‘रद्द’ को सूचना खोजेजस्तै लाग्दथ्यो । आकास बादलले धुम्म हुन्थ्यो र पृथ्वी अनायासै अँध्यारिन्थ्यो । अनि शिशाको झ्यालबाट यसो बाहिर हेर्थे मानिसहरु र मौसम बिगि्रएको देखेर खुसी हुन्थे । तर, एकैछिनमा फेरि आकास खुलेर आउँथ्यो र जहाज उड्ने डर बढाउँथ्यो ।

ढकालको कफी ‘अफर’ आयो । त्यो चिसोमा यो प्रस्ताव तुरुन्तै स्वीकारियो । कफीको स्वादसँगै उनलाई एउटा जिज्ञासा राखेँ- दाइ देशको उड्डयन क्षेत्र त झनभन्दा झन असुरक्षित पो हुँदै गयो ! हेर्नुस् त आज पनि यही क्षेत्रका मूल मान्छेहरु नै यसरी आफै शिकार भए । तर, आज उनको मन अमिलो छ, जवाफका लागि जाँगर देखिन्न ।

बडो डरलाग्दो रुपमा बढ्दै गएको हवाई दुर्घटनाको पछाडिका कारणमा मौसममात्र जोडिदिएको देखिन्छ । छानविन समिति बन्छन्, सबैजसोले मौसम नै कारण नै देखाउने गर्दछन् । सोचें- नेपालमा यतिधेरै हवाई दुर्घटनाहरु भइरहेका छन् के मौसम मात्र कारण हो त ?

त्यस्तै महिनादिन अघि चन्द्रागिरि हिल्स उक्लिएका मन्त्री अधिकारीले दिएका सृजनात्मक सुझावहरु ढकालको मनमा खेलिरहेका थिए । उनले स्मरण गरे- यति ‘प्रोएक्टिभ पोलिटिसियन’ पाउन गाह्रै छ, साह्रै पीडादायी घटना भयो । ढकालका लागि अर्काे पीडादायी क्षण युवराज दाहालसँग आजै हुने भनिएको भेटघाटको समय पनि रहेछ । सोही दुर्घटनामा मृत्यु भएका प्रधानमन्त्री कार्यालयका उपसचिव दाहालसँग बुधबारै अपरान्ह साढे तीन बजे भेटघाट गर्ने कार्यक्रम रहेछ उनको । दाहाल चुहान डाँडामै रहेका बेला उनीसँग ढकालको कुरा भएको रहेछ ।

अर्का व्यवसायी शेर्पाबारे ढकालको टिप्पणी थियो- उनी राष्ट्रको पर्यटन क्षेत्रकै एउटा ठूलो सम्पत्ति हुन्, अनि अत्यन्तै ‘लो प्रोफाइलमा बसेर काममात्र गर्ने मान्छे ।’

‘एभिएसन मिनिस्टर’ नै हवाई दुर्घटनामा परेको खबरले अन्तरराष्ट्रिय स्तरमा हाम्रो पर्यटन क्षेत्रलाई ‘ड्यामेज’ गर्ला कि भन्ने चिन्ता देखिन्थ्यो ढकालमा । आफैले थपे- तर त्यसो हुन नदिन हामी सबैले पहल गर्नुपर्छ । देशले पर्यटन वर्ष मनाउँदैछ, पर्यटकसँगै वैदेशिक लगानी भित्र्याउन संसारभर अपील गर्नुपर्ने बेला हो यो, ध्यान अन्यत्रै मोडिन नपाओस् भन्नेमा सबै सजग हुनु जरुरी छ ।

व्यावसायिक सोच राखेर मनन् गर्दा ढकालको यो चासो बडो अर्थपूर्ण छ । किनभने गएका केही वर्षहरुयतादेखि युरोपेली युनियनले हाम्रा उडानहरुलाई कालो सूचीमा राखिदिएको छ । देशको उड्डयन क्षेत्रको सुरक्षाको अवस्था दिनदिनै खस्किँदै गएको देखिन्छ । हुन त धेरै मार हामीलाई मौसमले नै दिएको होला, तर पनि उनीहरु हाम्रा जहाजमा प्रश्न गरेर यस्ता सूचीहरु त्य गरिरहेछन् ।

हाम्रो जहाज उड्ने ‘अनाउन्स’ भयो । एकैछिन अघि आरीले अमिलो घोप्ट्याएजस्तो अँध्यारो भएको आकाश अहिले केही खुलेको देखियो । म र लाग्छ अरु पनि मन नलागी अघि बढ्यौँ । जहाजसम्म पुग्न चढेको बसको शिशाको झ्यालबाट यसो चियाएको घामले आधा अनुहार देखाएजस्तो लाग्यो । तर, मन बुझेको छैन । आजको हवाई यात्रा भित्री मनले ढुक्कले स्वीकारेको छैन । डरले मनमा डेरा जमाएकै छ । परिवार, साथीबाट फोनका घन्टी छिनछिनमा गुन्जिन्छन्, सबैको हालत उस्तै हो ।

जहाज उड्यो । तर मन उडेको छैन, भारी छ । त्यस दिन सायद मनको बाघले खाएरै होला जहाज अरुबेलाभन्दा बढी हल्लियो । यसो तल हेरेँ । जहाज मुनीको बादलको चाल तिब्र बेगमा थियो ।

दिशाविहीन रुपमा बादल तँछाडमछाड गरेर दौडिरहेको छ । सँगै सीटमा थिए वातावरण इन्जिनियर सलिल देवकोटा । उनलाई सोधेँ- आजकल नेपालको मौसमसम्बन्धी भविश्यवाणी ठ्याक्कै मिल्न थालेको छ, कसरी होला ? मौसम विज्ञान र वातावरण विज्ञान फरक विषय हुन् भन्ने थाहा नपाएर मैले उनलाई त्यो जिज्ञासा राखेको भने थिइनँ । तर, मेरो मनको डर भगाउन या बाटो काट्ने मेसो खोज्ने क्रममा त्यो जिज्ञासा छान्यो होला मेरो मनले । यसै विषयमा उच्च शिक्षा हासिल गरेका युवाहरु आए होलान् अनि उपकरणहरु पनि आधुनिक भित्रिएर हो कि मलाई पनि त्यस्तै लागिरहेको छ- देवकोटाले भने ।

यतिखेर वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँलाई सम्झिएँ । उनी पनि हामीसँगै जानेमा थिए । तर, बुधबार दिनभरको मौसम र दुर्घटनाको समाचारले उनी गएनन् । एकमनले त बरु चिरञ्जीवी दाइजस्तै नआएको भए पनि हुन्थ्यो जस्तै लाग्यो । उनले जस्तै कतिले त्यस दिनको यात्रा रद्द गरे भन्ने त थाहा भएन, तर त्यहाँ आएकाले भने नउड्नमै जाति मानेको बुझिन्थ्यो । जे होस, जहाज समयमै पुग्यो । बाहिरको विमानस्थल भएकोले ट्राफिक व्यस्तताका कारण आकासमै होल्डमा बस्नु परेन ।

अरु कारण ?

हो, चाओले भनेजस्तै यतिखेर हामीकहाँ मौसमको मार निकै बढ्दो छ । हाम्रो प्रमुख समस्या पनि यही नै हो जस्तो लाग्छ । हुनत मार अरु कसैमा थोपरिदिँदा अहिलेको समस्या क्षणिक रुपमा टरेर जान्छ । जस्तो कि भारतमा कुनै आतंककारी गतिविधि भयोभने त्यसको मार पाकिस्तानतर्फ थोपरिदिए पुग्छ, त्यसो भएपछि देशका शासकले अपजस व्यहोर्नै पर्दैन ।

नेपालमा पनि माओवादी द्वन्द्वका बेला कतैबाट भएका घटनामा पनि माओवादी जोडिदिने चलन थियो । यस्तै हामीले पनि अरु कारण हुन सक्लान् तर बडो डरलाग्दो रुपमा बढ्दै गएको हवाई दुर्घटनाको पछाडिका कारणमा मौसममात्र जोडिदिएको देखिन्छ । छानविन समिति बन्छन्, सबैजसोले मौसम नै कारण नै देखाउने गर्दछन् । सोचें- नेपालमा यतिधेरै हवाई दुर्घटनाहरु भइरहेका छन् के मौसम मात्र कारण हो त ? अथवा सबैलाई उम्किन सजिलो मौसमकै दोष देखाइदिएर हुने हो कि ? चाओले देखाएका मौसम बाहेकका ‘अरु विविध खाले दबाव’ को खोजी गर्नुपर्दैन ?

अस्तिको अर्थात् पछिल्लो ‘हाइ प्रोफाइल’ दुर्घटनामा पनि यस्तै कुनै दबाव पो थियो कि पाइलटलाई ? ती छन् भने पनि खोजौँ । नत्र सधैँ दोष मौसमले मात्र खेप्नुपर्ने र यात्रुले सधैँ मौमसको यस्तै मानसिक मार र भार बोकेरै यात्रा गर्ने दिन घट्ने छैनन् ।

(पाठक राससका पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment