Comments Add Comment

कसरी सम्भव भयो सिके राउतको राजनीतिक यु-टर्न ?

जेल परेपछि 'स्वतन्त्र मधेस' छाड्न तयार भए सिके राउत !

२४ फागुन, काठमाडौं । पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका सिके राउत २१ असोजमा नियमित पेशी बुझ्न चार वर्षीया छोरीलाई लिएर जिल्ला अदालत रौतहट पुगेका थिए । फर्किने क्रममा पक्राउ परेका उनी पाँच महिना जेल परे । बिहीबार सर्वोच्च अदालतको आदेश आउनुअघिसम्म पनि उनी छुट्ने संकेत देखिएको थिएन ।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले राउतको पक्षमा आदेश दियो र विहीबार साँझ उनी छुटे ।

राउत छुट्नुको रहत्य त्यसबेला खुल्यो, जब उनी स्वतन्त्र मधेस अभियान त्यागेर मूलधारको राजनीतिमा आउने र प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा त्यसको घोषणा गर्ने खबर बाहिर आयो ।

स्रोतको दाबी छ, ‘सरकारी पक्षको तयारी राम्र्रै थियो । तर, मूलधारको राजनीतिमा आउन सहमत भएपछि छुटे ।’

कसरी सम्भव भयो त सिके राउतको राजनीतिक यु-टर्न ?

मधेसलाई अलगै देश बनाउनुपर्छ भनेर हिँडेका राउतको राजनीतिक यू- टर्न धेरैका लागि सरप्राइज भएको छ । सत्तारुढ नेकपामा पनि केही सीमित नेताहरुलाई मात्र उनीसँग सम्वाद भइरहेको थाहा थियो । उनी मूलधारको राजनीतिमा आउन तयार भएपछि मात्रै प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराएका थिए ।

धेरै विषय क्रमशः खुल्दै जालान् । तर, प्रारम्भिक सूचना अनुसार यो निकै छोटो समयमा भएको ‘राजनीतिक सहमति’ हो, जसको पहल प्रधानमन्त्री ओली स्वयंमले लिएका थिए ।

राउत र उनका प्रतिनिधिसँग भएको वार्ताहरुमा सहभागी स्रोतले भन्यो, ‘यो १५/२० दिनमा भएको डेभलपमेन्ट हो । मूलधारको राजनीतिमा आउँछु भनेपछि राज्यले त्यसको वातावरण बनाइदिनुपर्छ भनेर प्रधानमन्त्रीले पहल गर्नुभएको हो ।’

राउत र उनका प्रतिनिधिसँग भएको छलफलमा सत्तारुढ नेकपा महासचिव विष्णु पौडेल, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, महान्यायाधिवक्ता अग्नि खरेलका साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसमेत संलग्न रहेको स्रोतको दाबी छ ।

केही चरणको छलफल राउतसँगै भएको थियो भने धेरै सम्वाद उनका प्रतिनिधि र राउतका परिवारका सदस्यसँग भएको थियो ।

जेल परेपछि गले राउत !

लामो समय अमेरिका बस्दै आएका राउत पहिलो पटक १८ चैत ०६८ मा तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाले खुलामञ्चको आमसभामा देखिएका थिए । त्यहाँ उनलाई मधेसी बुद्धिजीवीका रुपमा सम्बोधन गर्न पनि दिइएको थियो ।

आमसभामा चर्कै भाषण गरेका उनले आफूप्रति मधेसमा युवाहरुको आकर्षण देखे । त्यसपछि उनले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने नारा दिए । किताबहरु निकाले, जसमा निकै उग्र र कतिपय आपत्तिजनक शब्दहरु समेत राखेका छन् । राज्यप्रति असन्तुष्ट युवाहरुको जमान उनीतिर आकषिर्त भयो ।

राउत त्यसबेला राष्ट्रिय चर्चामा आए, जब दोस्रो संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका संयोजक डा. बाबुराम भट्टराईले पत्र नै लेखेर सिंहदरबारमा आयोजित छलफलमा बोलाए । ५ भदौ ०७१ मा भएको छलफलमा स्वतन्त्र मधेसको वकालत गर्दै उनले राज्यसँग छुटि्टन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने मत राखेका थिए ।

२८ भदौ ०७१ मा मोरङको रंगेलीबाट पक्राउ परेपछि राउत सबैतिर चिनिए । धेरैले उनलाई विखण्डनकारीका रुपमा चिने । सँगसँगै मधेसका असन्तुष्ट जमात उनीतिर नजिकिए । एउटा समय यस्तो आयो कि मधेस केन्द्रीय दलका तल्लो स्तरका नेता कार्यकर्ता पार्टीको बैठकमा उनको खुलेर प्रशंसा गर्थे ।

यो बीचमा उनी धेरैपटक पक्राउ गरे, राज्यविरुद्धको अपराधमा मुद्दा लगाइयो । तर, केही दिनमा छुटिहाल्थे । त्यसले मधेस केन्द्रीय दलहरुले राउतलाई पक्राउ गर्दै छाड्दै गरेर सरकारले नै उनलाई हिरो बनाएको गुनासो पनि गरे ।

२१ असोजमा राउत पक्राउ परेको खबर आउँदा पनि उनी छिट्टै छुट्ने धेरैको अनुमान थियो । स्वयंम राउतलाई पनि छुटिहाल्छु नि भन्ने लागेको थियो होला । तर, जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि त्यही आदेशलाई सदर गर्‍यो ।

राउतका समर्थन सर्वोच्च गए । तर, सर्वोच्चले पनि उनको मागअनुसार अन्तरिम आदेश दिएन । शायद त्यसपछि राउत र उनको परिवारलाई लाग्यो कि अब जेलमा सडाउने भयो । ‘उनी पटक-पटक पक्राउ पर्ने, छुट्ने हुँदै आएको थियो । योपटक अलि लामै समय जेल बसे, जुन उनको आदत होइन’ स्रोतले भन्यो, ‘उनी नै नभएपछि उनको आन्दोलन पनि हुन सकेन ।’

त्यसपछि राजनीतिको मुलधारमा आउन तयार भए । सम्पर्क सुत्रहरुमार्फत यो कुरा प्रधानमन्त्री ओलीसम्म पुग्यो । अलग देशको नारा लिएर हिँडेको व्यक्ति मुलधारको राजनीतिमा आउँछु भनेर तयार हुनु ओलीका लागि पनि अवसर थियो ।

त्यसैले आफ्ना विश्वासपत्रहरुमार्फत सम्वाद गराए, जसको गोप्यता पनि कायम राख्न सफल भए । शुक्रबारको कार्यक्रम त्यसकै परिणाम भएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment