Comments Add Comment

व्यापारी अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

२४ फागुन, वीरगञ्ज । वीरगञ्जका व्यापारी सुरेश केडिया अपहरणमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहार राज्य पश्चिम चम्पारण रक्सौल नगर परिषद १७ बस्ने बब्लु पासवान र राजहर्नाही ग्राम पञ्चायत बस्ने विजयकुमार कुशवाह पक्राउ परेका हुन् ।

बब्लु मुख्य योजनाकार रहेको बताइएको छ भने व्यापारी केडियाको चालकलाई घाइते बनाएपछि विजयले गाडी चलाएर लगेका प्रहरीको भनाइ छ ।

उनीहरुलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेका छौं, पासवान मुख्य योजनाकार र कुशवाहा चालक भएको तथ्य खुलेको छ’ उनले भने ‘उनीहरुबारे थप अनुसन्धान गरिरहेका छौं ।’

बाराबाट अपरहण भएकोले उनीहरु विरुद्ध बारा प्रहरीले बारा जिल्ला अदालतमा नै मुद्धा चलाउने प्रहरी अधिकारीहरुले बताएका छन् । थप अनुसन्धान पछि पर्सा प्रहरीले उनीहरुलाई बारा प्रहरीको जिम्मा लगाउनेछ ।

पर्साका व्यापारी केडिया २०७३ जेठ १३ गते अपहरणमा परेका थिए । उद्योगबाट घर फर्कने क्रममा बाराको महागढीमाई नगरपालिका स्थित बरियारपुरको जंगलमा गाडी चालक उमेश साहलाई गोली प्रहार घाइते बनाई उनीहरुले केडियाको अपहरण गरेका थिए । बाराबाट अपहरणमा परेका केडियालाई जेठ १६ गते भारतको मोतिहारीबाट अपहरणमुक्त गराइएको थियो । नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त प्रयासमा केडियालाई अपहरणमुक्त गर्न सफल भएको थियो ।

अपहरणमा संलग्न दिल्लीका ग्याङस्टार विकास सिंह त्यसबेलै पक्राउ परेका थिए भने अपहरणमा संलग्न अरु पनि पक्राउ परेका छन् । केडिया अपहरण प्रकरणमा मुछिएपछि सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने एक महिना निलम्बनमा परेका थिए ।
केडिया अपहरणपछि १० करोड भारतीय रुपैयाँ फिरौती माग गरिएको चर्चा भारतीय सञ्चार माध्यमले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment