Comments Add Comment

अपाङ्गता भएकाहरुलाई सहयोग

२७ फागुन, सिमरा । बाराको निजगढ नगरपालिका भित्रका करिब एक सय अपाङ्गता भएका ब्यक्तिलाई सोमबार सहयोग सामग्री वितरण गरिएको छ ।

नेत्रहीन संघ बारा र नेपाल अपाङ्ग सेवा संघ निजगढ इकाईले नगरपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिको सहजताका लागि हृविलचियर, ट्राइसाइकल, सेतो छडीलगायतका विभिन्न सामाग्री वितरण गरेको हो ।

राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाडौंले उपलब्ध गराएको १० लाख बढी मूल्य बराबरको सामग्री निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र उपमेयर लिलादेवी लामिछानेले हस्तान्तरण गरेका थिए ।

नगरपालिका भित्र रहेका एक हजार दुई सय अपाङगता भएका ब्यक्ति मध्ये एक सय जनालाई सामग्री उपलब्ध गराउन निजगढ नगरपालिकाले ब्यवस्थापकीय सहयोग गरेको थियो ।

सहयोग सामग्री हस्तान्तरण गर्दै मेयर खनालले अपाङगता भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन नगरपालिकाले योजना बनाइरहेको बताए ।

नगरपालिका भित्र रहेका अपाङ्गताको पहिचान गर्ने काम भइरहेको भन्दै मेयर खनालले अपाङगता भएका ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए ।

कार्यक्रममा उपमेयर लामिछानेले अपांगता भएका बालबालिकाको शिक्षाका लागि नगरपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरिन् ।

कार्यक्रममा अपाङ्ग पुनस्र्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले अपांगता भएका ब्यक्तिले अन्य नागरिक सरह नै बाच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागि संस्थाले सामग्री उपलब्ध गराएको बताए ।

नेपाल अपाङ्ग सेवा संघका प्रदेश २ र ३ का सल्लाहकार समिति सदस्य गंगा वाग्लेले अपांगता भएका नागरिकका लागि राज्य अझै गम्भिर हुन जरुरी रहेको बताए ।

कार्यक्रममा १९ जनालाई हृविलचियर, आठ जनालाई ट्राइसाईकल, ४० जनालाई सेतो छडी, १२ जनालाई टकिङ वाच, चार जनालाई अल्बो चर्चेज, पाँचजनालाई बैशाखी, चार जनालाई वाकरलगायतको सामग्री वितरण गरिएको अपाङ्ग संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईंले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडी मनकेशरी चौधरीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment