Comments Add Comment

चितवनमा पर्यटक नबढ्नुका ६ कारण

पूर्वाधार अभावदेखि मनपरि शुल्कसम्म

२८ फागुन, चितवन । सरकारले दिएको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार पर्यटक भित्रिए । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले खुसीयालीमा ‘केक’ पनि काटे ।

सन् २०२० मा २५ लाख पर्यटक भित्राउने लक्ष्य सरकारले लिएको छ । देशको राजधानी काठमाण्डौं पहिलो, पयर्टकीय नगरी पोखरा दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तब्यका रूपमा लिने गरिन्छ । सन् २०१८ मा नेपाल भित्रिएका ११ लाख पर्यटकमध्ये मुस्किलले चितवन राष्ट्रिय निकुञ्जमा १२ प्रतिशत (१ लाख ३६ हजार ७ सय ८४) पर्यटक घुम्न आए । त्यसमा आन्तरिक पर्यटकको हिस्सा पनि छ ।

आन्तरिक पर्यटकसहित यहाँका व्यवसायीले करीव २ लाख पर्यटक चितवन आएको अनुमान लगाउँदै आएका छन् । विदेशबाट नेपाल आएका ८८ प्रतिशत पर्यटकको रोजाईमा चितवन पर्न सकेन । सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गर्दा चितवनमा करिब चार लाख पर्यटक आउनुपर्ने हो । तर, सार्थक प्रयास हुन नसकेका कारणले चितवनमा पर्यटक आउन सकेनन् ।

चितवन आउने कुल पर्यटकमध्ये ६० प्रतिशत विदेशी र ४० प्रतिशत आन्तरिक हुने गरेका छन् । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक सौराहा आउने गर्दछन् ।

विषेश गरी चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, पटिहानी र मघौली गोलाघाटमा पर्यटकहरु आउने गर्दछन् । यहाँका पर्यटन व्यवसायीहरुका अनुसार धेरैजसो पर्यटकहरु हिमाल क्षेत्रको भ्रमणका लागि आउने गर्दछन् । सरकारी निकायको जोड पनि त्यसमै छ ।

अधिकांश विदेशी पर्यटक हिमालमा आधारित पर्यटनका लागि नेपाल आउने गरेको कुरा तथ्यांकले पनि देखाउँछ । अन्यत्र घुमर बचेको समयमा मात्रैं चितवनमा पर्यटकहरु आउने गर्दछन् । अत्यान्तै छोटो समयमा लागि चितवन पनि जाऔं न भन्ने उद्देश्यका साथ मात्रैं पर्यटकहरु यहाँ आउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । नेपालमा पर्यटकको औसत वसाई १२ दिन हुँदा चितवनमा पर्यटकको औसत बसाई दुई रातको मात्रैं हुने गरेको छ ।

राजधानी काठमाण्डौंबाट पोखराभन्दा नजिकको दूरीमा रहेको चितवनमा पर्यटकहरु खासैं आर्कषित बनेको पाइदैन । जंगल सफारीमा आधारित पर्यटकहरुको रोजाई चितवन परेको छ । चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरका मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जीप सफारीका माध्यमबाट विश्वकै दुर्लभ एकसिंगे गैंडा, बाघ, जरायो मृग, चितवन, कालिज, मयुर हेर्नका लागि पर्यटकहरु सौराहा आउने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने तथ्यांकलाई नै चितवन आउने पर्यटकका रुपमा लिने गरिएको छ । यो बाहेक पर्यटकको तथ्यांक संकलन गर्ने भरपर्दो माध्यम पनि चितवनमा छैन ।

आर्थिक बर्ष २०७३/०७४ मा चितवनमा १ लाख ३९ हजार ९ सय ७८ पर्यटक भित्रिएका थिए । आ.व २०७४/०७५ मा १ लाख ५२ हजार ६ सय ७१ पर्यटक निकुञ्ज आए । चालु आर्थिक बर्षको पुष मसान्तसम्म ८८ हजार १ सय ५१ जना पर्यटक चितवन भित्रिएका छन् ।

गत बर्षको सोही अवधिमा ६७ हजार १ सय २३ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत बर्षभन्दा २१ हजार २८ पर्यटक बढि निकुञ्ज प्रवेश गरेको देखिएको छ । चितवनका होटलको अकुपेन्सी दर जम्मा ४० प्रतिशतको हाराहारीमा छ । यो सञ्चालनका लागि सामान्य भएपनि मुनाफाका हिसावबाट कम हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष समुन घिमिरेले होटलहरु मुनाफामा जान कम्तीमा पनि ७० प्रतिशत ‘अकुपेन्सी’ हुनुपर्ने बताउँछन् ।

सौराहामा घुम्ने आन्तरिकको संख्या बढी छ तर, बास नै बस्ने चलन भने निकै कम छ । सौराहा अहिले आन्तरिक पर्यटकबाट नै धानिएको छ । तर, बाह्य पर्यटकको आवागमन हुन नसक्दा होटल ‘बुकिङ’ सन्तोषजनक छैन । सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न हात्ती महोत्सव तथा खाना महोत्सव जस्ता कार्यक्रम हरेक बर्ष हुँदै आएका छन् । तर, पर्यटकहरू खासै आर्कषित बन्न सकेका छैनन् । प्रेम दिवसका अवसरमा यसपटक आयोजना गरिएको खाना महोत्सव पनि आशातित बनेन ।

केही समय अघि सौराहाका पर्यटन व्यवसायीहरुले सेभेन पोइन्ट टुर कार्यक्रम सार्वजनिक गरेका थिए । सौराहा आउने पर्यटकहरुलाई देवघाटदेखि नवलपुरको शाश्वतधामसम्म लैजाने गरी प्याकेज निर्धारण गरिएपनि त्यो लागु भएको छैन । चितवनको सौराहामा ६० रेष्टुरेण्ट र ११० होटल, पटिहानीमा ८ वटा ठूला होटल र साना १२ वटा छन् । मेघौलीमा साना ठूला गरी १२ वटा होटल छन् । लामो समयसम्मको मुग्लिन–नारायणगढ सडकको दूरावस्था, भूकम्प र सौराहामा आएको बाढिले यहाँको पर्यटन व्यवसाय शिथिल नै बन्यो । तर, अब ती अवरोधलाई देखाउन मिल्ने अवस्था यहाँका पर्यटन व्यवसायीलाई छैन ।

राजधानी काठमाण्डौंबाट चार घण्टाको यात्रामा चितवन आइन्छ भने, हवाई मार्गबाट जम्मा २० मिनेटमा आउन सकिन्छ । बढि भन्दा बढि पर्यटकलाई चितवन ल्याउने काममा यहाँ व्यवसायीहरु लाग्नुपर्ने अवस्था छ । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले सौराहावासी पर्यटकको पखाईमा बसे पनि तर नेपाल आएका पर्यटक अन्यत्र मोडिएको बताउँछन् । सरकारी निकायले चितवनको पर्यटन प्रर्वद्धनका लागि अहिलेसम्म ठोस काम नगरेको आरोप अध्यक्ष गिरीको छ । पोखरा र काठमाण्डौंलाई मात्रै सरकारले प्राथमिकतामा राखेको उनको बुझाइ छ ।

पर्यटन आफैंमा वृहत क्षेत्र भएकाले पर्यटनमा सहकार्य हुनुपर्ने बताउँछन्, जिल्ला पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी । आफ्नो क्षेत्रमा मात्रैं नभई अन्य क्षेत्रमा पनि कसरी पर्यटक लैजाने भन्ने सोच यहाँका व्यवसायीमा हुन आवश्यक रहेको धारणा महासचिव सुवेदीको छ । फरक फरक भूगोलमा रहेक पर्यटकीय केन्द्र अलग अलग विषेशता हुन्छन् । कुनै एक पर्यटकीय गन्तब्य मात्रैं पूर्ण हुन सक्दैन ।’ जिल्ला पर्यटन विकास समितिका महासचिव सुवेदीले भने, ‘सधैं एउटैं पर्यटक एउटै चीज हेर्न पटक पटक आउँदैन’

विस्तारै पर्यटकहरु इको टुरिज्मतर्फ आर्कषित भएको सुवेदीको बुझाई छ । त्यो पर्यटकको संख्यामा एकिन गर्न सक्ने आधार छैन । चितवन भित्रिने पर्यटकमध्ये ३८ प्रतिशत पर्यटक दोहोरिएर सौराहा नजाने सुवेदीको भनाई छ । उनका अनुसार आन्तरिक पर्यटकसमेत चितवनका अन्य गन्तव्यतर्फ जाने क्रम बढेको छ ।

चितवनमा ५५ नयाँ पर्यटकीय गन्तव्य पहिचान भएर प्रवद्र्धनका कार्यक्रम हुन थालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकहरुको तथ्याकंलाई नै चितवन आउने पर्यटकको संख्याका रुपमा लिने गरिएको छ । तर, चितवन आउने पर्यटक सवै राष्ट्रिय निकुञ्ज भित्र नै प्रवेश गर्दछन् भन्ने पनि छैन ।

जिल्लामा कुन पर्यटकीय केन्द्रमा कति पर्यटक गए भन्ने तथ्याकं राख्ने काम नभए योजना बनाउन र पर्यटकीय गतिविधी बढाउन समस्या हुने देखिन्छ ।

पर्यटक बढ्न नसक्नुका यी हुन् कारण

१ अस्वस्थ प्रतिस्पर्धा : चितवनका होटल तथा पर्यटन व्यवसायीहरुका वीचमा एकखालको अस्वस्थ प्रतिस्पर्धा छ । पर्यटनको प्रचुर सम्भावना भएको चितवनका विभिन्न क्षेत्रका पर्यटन व्यवसायीहरुका वीचमा आपसी बेमेल छ । जहाँ जति पर्यटक आए ‘यही नै चितवन हो’ भनेर देखाउने र हतार हतारमा पर्यटकलाई फर्काउने काममा यहाँका व्यवसायी नै उद्धत बनेका छन् ।

पर्यटन समितिहरूका बीचमा नजानिँदो ढंगको ‘शीतयुद्ध’ चलेको पाइन्छ । सहकार्य गर्न कोही तयार छैन । समितिहरुका बीचमा पर्यटन प्रवद्र्धन र विकासका लागि साझा रुपमा के गर्न सकिन्छ भनेर कहिल्यै बैठक बस्दैन । केही समिति नाम मात्रैका छन् । कतैबाट पैसा आए जुर्मराउँछन्, पैसा नआए बोर्ड मात्रैं झुण्डाएर बस्छन् ।

पटिहानी गाविस हुँदा सक्रिय रहेको पटिहानी पर्यटन विकास समिति भरतपुर महानगरपालिकाको वडा विभाजनमा यता उता परेपछि सक्रिय छैन । अहिले नाममा नै विवाद छ । पटिहानी नाम किन राख्ने भनेर वडा नम्वर १३ ले २२ सँग निहुँ खोजिरहेको छ । कतिपय होटल व्यवसायीहरूले पर्यटन समितिलाई वेवास्ता गर्ने काम पनि गर्दै आएका छन् ।

२. प्रचारप्रसार शून्य: होटलमा करोडौं लगानी गरेका यहाँका पर्यटन तथा होटल व्यवसायीहरूले प्रचारप्रसारमा भने सुको पैसा खर्च गदैनन् । राष्ट्रिय, अन्र्तराष्ट्रिय रूपमा प्रचारप्रसार गर्न यहाँका व्यवसायीहरु सधैं चुकेका छन् । उनीहरूका बीचमा नै मतएकता नहुँदा मिलेर प्रचारप्रसारमा जान सक्ने अवस्था पनि रहेन । एउटाले अर्कोको रिस गर्ने र डाहामा जल्ने प्रवृति यहाँका पर्यटन व्यवसायीको साझा चरीत्र हो । जति आएका पर्यटक छन् त्यसमा नै रमाउने प्रचलन छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे चितवनमा पर्यटक बढ्न नसक्नुको कारण प्रचार–प्रसार र समन्वयको अभावलाई देख्छन् । समस्याका बारेमा जानकार भए पनि ठोस ढंगको काम भने अघि बढाउन उनी र उनको समिति चुकिरहेको छ । विगत बर्षमा भारतका केही सीमावर्ती शहरमा सौराहाका बारेमा प्रचारप्रसार गरे पनि त्यसपछि खासै अघि बढेको छ ।

सन् २०२० लाई मध्यनजर गरेर पर्यटन बोर्डसँगको समन्वयमा भारतका केही शहरहरुमा प्रवद्धनात्मक कामहरु गर्ने योजना रहेको अध्यक्ष घिमिरले सुनाए ।

३.पर्यटन विकास समिति चितवन भूमिकाविहीनः जिल्लाका पर्यटन समितिहरुलाई समन्वय गराउने र गन्तब्यहरुको पहिचान गराउने उद्धेश्यबाट स्थापित जिल्ला पर्यटन विकास समिति भूमिकाविहीन बनेको छ । साविक जिल्ला विकास समिति हुँदा केही बजेट लिएर चलेको पर्यटन विकास समितिले अहिले भने खासै कुनै काम गर्न सकेको छैन ।

जेएन थपलियाले एक कार्यकाल नेतृत्व गरेपछि निकै लामो समयसम्म दिलिप मैनाली अध्यक्ष बने । तीन महिना अघि मात्रैं उनले कार्यवाहक अध्यक्षको जिम्मा लगाएका छन् बद्री अधिकारीलाई । क्षेत्रगत समितिहरुको क्षमता वृद्धि, पर्यटकहरुलाई सूचना दिन साझा प्रचारप्रसारका सामाग्री, रुट निर्धारण तथा आधिकारिक तथ्यांक संकलन जस्ता काममा छाता संगठनबाट काम हुनुपर्नेमा यस्तो हुन सकेको छैन । क्षेत्रगत समितिहरुलाई सम्हालने दरिलो निकाय नहुँदा चितवनको पर्यटन व्यवसाय माथि उठ्न नसकेको कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीको भनाइ छ । ‘छाता संगठन दरिलो भएर जिल्लाका पर्यटन समितीसँग सहकार्य गर्ने र पर्यटन बोर्डसँग आवश्यक लविङ थाल्नुपर्दछ, अध्यक्ष पूरीले भने, ‘सन् २०२० लाई लक्षित गरी तत्काल काम अघि बढाउने बेला भैसकेको छ ।’

४. पूर्वाधारमा लगानी कम : जिल्लामा झण्डै ५५ भन्दा बढी पर्यटकीय केन्द्र छन् । तर, अधिकांश केन्द्रसम्म पुग्ने सडक पूर्वाधार गतिलो छैन । अहिलेका स्थानीय तहको सानो बजेटबाट तत्काल गर्न सकिने अवस्था पनि छैन । कतिपय स्थानमा पुगेका पर्यटक पनि बस्ने ठाँउ नहुँदा फर्कनुपर्ने अवस्था छ । जिल्लाकै उपरदाङगढी, लामो झरना, सिराइचूली, सामेश्वर गढी, देवघाट लगायतका क्षेत्रमा पूर्वाधारको अभाव छ ।

५. स्थानीय तहसँग छैन समन्वय: यहाँका स्थानीय तहसँग पर्यटन होटल व्यवसायी तथा पर्यटन व्यवसायीको सुमधुर सम्वन्ध कायम हुन सकेको छैन । होटल व्यवासीयले नगरपालिकालाई आर्थिक रुपमा सहयोग नगरेको, पूर्वाधार निर्माणमा साथ नदिएको बुझाई स्थानीय तहको छ भने, व्यवसायीहरु नगरपालिकाबाट कुनै सहयोग नपाएको दावी गरिरहेका छन् । एक निकाय अर्कोसँग बढी अपेक्षा गरेको पाइएको छ । विषेश रत्ननगर नगरपालिका र सौराहाका होटल व्यवसायीहरुको वीचमा समस्या देखिएको छ । नगरपालिकाका मेयर नारायण वनले सौराहा क्षेत्रबाट उठ्ने राजस्व बरावरको रकम त्यहीको व्यवसाय प्रवद्र्धनका लागि खर्च गर्ने आश्वासन दिए पनि व्यवसायीले साथ नदिएको उनको भनाइ छ । जसको मार यहाँको विकासमा परेको देखिन्छ ।

टाँडीमा रहेको सौराहा प्रवेशद्धारको दुराअवस्था यसकै उपज मानिन्छ । सौराहा प्रवेशको मुख्य केन्द्र सौराहा चोक अस्तव्यस्त छ । बिग्रिएको सडक, जथाभावी राखिएका ठेला र साँघुरो गल्लीले सौराहा जाने ठाँउ कहाँ हो भन्ने पत्तो पयर्टकहरुले पाउँदैनन् । पटिहानीको अवस्था पनि उस्तै छ । वडा नः २२ का वडाध्यक्ष विष्णु महतो र पहिटानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टका वीचमा गतिलो सम्वन्ध छैन ।

६. मनपरी शुल्क र आतिथ्यताको अभाव : सौराहा विस्तारै क्रंक्रिटले भरिएर रुखो बन्दैछ । त्यस्तैं रुखो व्यवहार यहाँका कतिपय व्यवसायीको छ । आएका पाहुनालाई एकपटकका लागि मात्रैं हो भन्ने सोच हावी छ । मौका यही हो भन्ने सोच पनि छ ।

कतिपय होटल तथा रेष्टुरेन्टमा मनलाग्दी शुल्क लिने गरिन्छ । व्यवहार राम्रो छैन । जसले यहाँ आउने पर्यटकहरुको चित्त बुझ्दैन । केही दिन अघि सौराहाको हात्ती प्रजनन केन्द्र अघि भेटिएका गोरखा खोप्लाङ घर भई हाल कीर्तिपुर बस्ने ईश्वर गिरीले यस्तै तीतो भोगाई सुनाए । श्रीमतीसँगै सौराहा पहिलोपटक घुम्न आएका उनलाई यहाँका होटलमा ठगिएको अनुभूति भयो । जंगली सफारीमा जाँदा पनि त्यस्तै लाग्यो । उनले भने, ‘टीभीमा के के नै होला भनेर देखायो र आए । यहाँ त तातो भुत्लो भएन, अब आउँदिन ।’

फागुन १४ गते सौराहा राप्ती नदी क्षेत्रको एक रेष्टुरेन्टमा ‘आलु साँदेको’ खाजाको प्रतिप्लेट २८० रुपैयाँ लिएको विषय रेवान सौराहाका अध्यक्षलाई जानकारी गराएको एक पर्यटकले बताए । जिल्ला पर्यटन विकास समितिका अध्यक्ष बद्री अधिकारीले यहाँका होटल आतिथ्य सत्कारमा सधैं चुक्दै आएको बताए ।

होटलमा पर्यटकहरुलाई कस्तो व्यवहार गर्ने भनेर तालिम दिनुपर्ने आवश्यकतामा अध्यक्ष अधिकारीले जोड दिए । यावत कमजोरीबाट सिक्दै र सच्चाउँदै अघि बढ्दा आशातीत पर्यटक चितवन भित्र्याउन सकिने अध्यक्ष बद्री अधिकारीको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment