Comments Add Comment

फेसबुक लाइभ गरेर न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, ४९ जनाको मृत्यु

'न्यूजिल्याण्डका लागि कालो दिन'

Photo Credit : news.au/reuters

१ चैत, काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई  मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।

जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ४९ जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।

न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् ।

आक्रमणकारी, उनले आफ्नो नाम ब्रेन्टन ट्यारन्ट भनेका छन्

प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए-नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

आक्रमणको फेसबुक लाइभ 

डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको डेलीमेलको दाबी छ । उनले आक्रमणमा प्रयोग गरेको राइफलमा बिभिन्न व्यक्तिहरुको नाम उल्लेख छ ।

बीबीसीका अनुसार, आक्रमणमा संलग्नको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमण गरिएको क्राइस्टचर्च दक्षिण टापुमा अवस्थित न्यूजिल्याण्डकै ठूलो शहर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment