Comments Add Comment

मोवाइल र टिभीको लतः बच्चाहरु डेन्जर जोनमा

तपाईंका बालबच्चा फुर्सदमा के गर्छन् ? निसन्देह तपाईंको जवाफ हुनेछ, ‘कार्टुन हेर्छन् । मोवाइल खेलाउँछन् । गेममा मस्त हुन्छन् ।’

बच्चाहरु दिनभर विद्यालयमा हुन्छन् । साँझ घर र्फकन्छन् । होमवर्क सिध्याउन नपाउँदै उनीहरु टेलिभिजनको रिमोर्ट दबाउन थाल्छन् वा मोवाइल खोज्न थाल्छन् । युट्युब, भिडियो गेम, कार्टुनमा उनीहरु यति लिप्त हुन्छन् कि, घण्टौंसम्म एकै ठाउँ बिताइदिन्छन् ।

टेलिभिजन, मोवाइल, ट्याबको उपलब्धताले बालबच्चाहरु प्रविधिमैत्री भएका छन् । तर, यसको साइड इफेक्ट बढी देखिएको छ । बच्चाहरु यी प्रविधिमा उपयोगी कुरा खोज्ने वा सिक्ने भन्दा पनि गेम खेलेर वा कार्टुन हेरेर समय विताउने गर्छन् । यसरी भर्चुअल गेममा लिप्त भइरहँदा उनीहरु आफ्नो भौतिक अवस्थालाई पनि भुल्छन् । त्यही कारण उनीहरु ओछ्यानमा, सोफामा, बार्दलीमा, भान्सामा बसेर घण्टौ-घण्टौ बिताइदिन्छन् ।

कतिसम्म भने, अहिले उनीहरुले अन्य खेलौना समेत खेल्न छाडेका छन् ।

अहिलेका बच्चाहरुलाई न साथीभाई चाहिन्छ । न अन्य खेलौना । उनीहरु टेलिभिन र मोवाइलमै लिप्त हुन्छन् ।

घरबाहिर जानै छाडे

विगतमा बच्चाहरु घरबाहिर खेल्थे । फुटबल, भलिबल, क्रिकेट जस्ता खेल खेलेर रमाउँथे । साथीभाईसँग घुलमिल हुन्थे । यसले उनीहरुको शारीरिक विकासमा सघाउ पुग्थ्यो । रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्थ्यो । यसरी शारीरिक सक्रियता र तन्दुरुस्तीले उनीहरुको मानसिक स्वास्थ्य पनि ठिक हुन्थ्यो । हास्थे, खेल्थे, प्रतिस्पर्धा गर्थे, रमाउँथे ।

साथीभाईसँग घुलमिल भएर खेल्दा, प्रतिस्पर्धा गर्दा, जित्ने प्रयास गर्दा, टिमवर्क गर्दा उनीहरुले जीवनोपयोगी कुरा पनि सिक्थे । तर, अहिलेका बच्चाहरु घरबाहिर निस्कनै मान्दैनन् ।

उनीहरु दोस्रो साथीसँग घुलमिल हुँदैनन् । समूह बनाएर खेल्दैनन् । शारीरिक गतिविधिमा पटक्कै भाग लिदैनन् । सोफामा ढल्किएर एक्लै घण्टौ मोवाइल गेम खेल्छन् । युट्युबमा भिडियो हेर्छन् । टिभीमा कार्टुन हेर्छन् ।

यसो हुनुमा बच्चाको मात्र दोष छैन । अहिलेको परिस्थिती र परिवेश पनि विगतको भन्दा फरक छ । विगतमा खेल्नका लागि मोवाइल, ल्यापटप थिएन । हेर्नका लागि कार्टुन थिएन । तर, खुला मैदान थिए । साथीभाई थिए । उनीहरु निर्धक्क घरबाहिरको खेल खेल्थे ।

अहिले खेल्ने मैदान छैन । साथीभाई छैन । सुरक्षा छैन । यावत् कारणले बच्चाहरु घरभित्रै एकोहोरिएका छन् ।

के हुन्छ असर ?

मोवाइल, टिभीमै लिप्त भइरहँदा बालबालिकाहरुको शारीरिक सक्रियता घट्छ । जबकी त्यही उमेरमा उनीहरु सबैभन्दा बढी सक्रिय हुनुपर्छ । उनीहरुको शारीरिक विकास तिब्र गतिमा हुने समय पनि यहि हो ।

तर, जतिबेला शारीरिक परिवर्तन एवं विकासको गति तिब्र भइरहेको हुन्छ, ठिक त्यहीबेला उनीहरु निस्त्रिmय भएर बस्छन् । यसले गर्दा उनीहरुको शारीरिक विकासमा अवरोध पुग्छ । यसको सोझो असर मानसिक विकासमा पर्छ ।

बच्चाको लागि एकदम खतरनाक

अहिलेका बच्चाहरु बाहिरी गतिविधिमा सहभागी हुँदैनन् । उनीहरु बाहिर गएर खेल्ने, कुद्ने भन्दा पनि कोठामा बसेर टेलिभिजन वा स्मार्टफोन हेर्न बढी रुचाउने गरेका छन् ।

बच्चाको उमेर भनेको नयाँ कुरा सिक्ने, बुझ्ने, जान्ने उमेर हो । यतिबेला उनीहरुको मस्तिष्कले कुनैपनि कुरा सहजै ग्रहण गर्छ । सिकाइको स्तर पनि तिब्र हुन्छ । बाल्यकालमा जे कुरा सिकिन्छ, त्यसको प्रभाव पुरा जीवनभर रहन्छ ।

बाल्यपनको आनीबानी हाम्रो जीवनकालभर रहन्छ । यसर्थ अहिले बच्चाहरु जुन हिसाबले निस्त्रिmय जीवन बिताइरहेका छन्, त्यसको असर उनीहरुले जीवनभर भोग्नुपर्नेछ ।

अहिले बच्चाहरु सोफामा बसेर घण्टौ स्मार्टफोनमा गेम खेल्छन्, भिडियो हेर्छन् । टिभी हेर्छन् । यसरी लामो समय एकै स्थानमा बसिरहँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

हालै प्रकासित एक अध्ययन अनुसार टेलिभिजनमा लामो समय बिताउने बच्चामा सामाजिक, मानसिक र शारीरिक विकासमा असर पुग्छ । यसैगरी अध्ययनबाट के पाइयो भने, टिभी र स्मार्टफोनमा भुल्ने बच्चाहरुमा जंकफूडको बढी लत हुने गरेको छ ।

यस सोधका लागि सोधकर्ताले १८ सय बच्चाको डाटा लिएका थिए, जो सन् १९९७ देखि १९९८ को बीचमा जन्मिएका थिए । यस अध्ययनमा बच्चाको केही विशेष कुरामाथि चासो राखिएको थियो । उनीहरुको बडी मास इन्डेक्स, उनीहरुको खाने अनीबानी र उनीहरुले शिक्षकसँग गर्ने व्यवहार ।

घरमा बसेर लामो समय टेलिभिजन, मोवाइलमा झुम्मिने बच्चाहरु मानसिक रुपमा पनि कमजोर हुने अध्ययनमा देखिएको थियो । साथै उनीहरुमा प्रतिस्पर्धात्मक भावना नहुने, नेतृत्व क्षमता नहुने, साथीभाईसँग घुलमिल गर्ने बानी नहुने, जंगफूडको लत हुने, झगडालु हुने देखियो । यस्ता बच्चाहरुमा डिप्रेसनको भय समेत देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment