
८ चैत, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन शुल्क बुझाउन बैंकमा नै लाइन बस्न नपर्ने व्यवस्था मिलाइएको छ । परीक्षार्थीले घरमै बसीबसी आईएमई-पे र ई-सेवाबाट शुल्क बुझाउन सक्छन् । आवेदन फारम पनि अनलाइनबाट नै भर्न सकिने सुविधा छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत शुक्रबारबाट खुला भएको कोरियन भाषा परीक्षाको आवेदन फारम चैत १७ गतेसम्म भर्न सकिन्छ ।
परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै आईएमई-पे र ई-सेवाबाट पनि शुल्क बुझाउन मिल्ने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।
आईएमई पे र ई-सेवाबाट १७ हजारभन्दा बढीले शुल्क बुझाइसकेको ईपीएस कोरिया शाखाका अधिकारीहरुले बताएका छन् ।
तर, आईएमई-पे र ई-सेवाबाट शुल्क बुझाउन मिल्ने सुविधाबारे जानकारी नहुँदा धेरै परीक्षार्थीहरुले बैंकमा लाइन बसेर शुल्क बुझाएको पाइएको छ । बैंकमा लाइन बसेका परीक्षार्थीहरुलाई सुविधाका लागि दुई वटा काउन्टरको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागको ईपीएस शाखाले आग्रह गरेको छ ।
परीक्षाले कोरियन भाषा परीक्षाका लागि २४ डलर बराबरको शुल्क बुझाउनुपर्छ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।
नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।
आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।
एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फर्म भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा फर्म भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।
अनलाइन फारम भर्न eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।
यो वर्षको परीक्षा २०७६ सालको जेठ २५ र २६ गते हुनेछ । परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।
प्रतिक्रिया 4