
१० चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा भीमप्रकाश शर्मा नियुक्त भएका छन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सल्यानका शर्मालाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।
सल्लाहकारमा नियुक्त भएका शर्मा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य हुन् । प्रदेशसभाको चुनावमा शर्माले सल्यान (क) मा वाम गठबन्धनका उम्मेदवार गुलावजङ शाहविरुद्ध बागी उम्मेदवार थिए ।
पूर्वमाओवादीको सल्यान इन्चार्जसमेत भइसकेका शर्माको उम्मेदवारीलाई जिल्ला पार्टीले नै समर्थन गरेको थियो । मान्छे चिन्ह लिएर चुनाव लडेका शर्माले ७ हजार ४१६ मत ल्याएका थिए ।
यसैगरी, मुख्यमन्त्री शाहीको जनसम्पर्क सल्लाहकारमा कालीकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा दैलेखका रत्न गाहामगर नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
यसैगरी, प्रादेशिक जडिबुटी तथा शीत भण्डार निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
साथै प्रादेशिक जडीबुटी तथा शीत भण्डार निर्माणका लागि जागृति सामुदायिक वन उपभोक्ता समूह भेरीगंगा नगरपालिका वडा नं. १०, मदानेचौर सुर्खेतको ६ हेक्टर वन क्षेत्र भोगाधिकारको स्वीकृति संघीय सरकारसँग माग पनि गरिएको छ ।
प्रतिक्रिया 4