Comments Add Comment

नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान तालिका परिवर्तन

वाइडबडीमार्फत सातामा तीन दिन मात्रै उडान हुने

युएई । नेपाल एयरलाइन्सले नियमित गर्दै आएको काठमाण्डौं-दुबई उडान तालिकामा परिर्वतन गरेको छ । त्रिभुवन विमानस्थल र दुबईको विमानस्थल टर्मिनल दुईको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले उडान तालिका परिवर्तन भएको नेपाल एयरलाइन्स युएई शाखाले शुक्रबार आबुधाबीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

एयरलाइन्सले अब वाइडबडी विमानमार्फत हप्तामा तीन दिन मात्र उडान गर्नेछ । सार्वजनिक गरिएको नयाँ तालिका चैत १८ गते अर्थात अपि्रल १ तारिखदेखि ०७६ असार १५ गते अर्थात जुन ३० तारिखसम्म लागू हुनेछ ।

यो अवधिमा काठमाडौंमा रातिका सबै उडान बन्द हुनेछ । त्यस्तै दुबईको विमानस्थल टर्मिनल दुईमा हुदैँ आएका ३५ प्रतिशत उडान कटौती भएको छ ।

दुबई विमानस्थलको दक्षिण पूर्वतर्फको धावनमार्ग पनि मर्मत गरिने भएकाले त्यहाँबाट हुँदै आएको उडान बन्द हुने भएको हो । त्यसकारण तीन महिनाका लागि दुबईमै रहेको अल मक्तुम विमानस्थलबाट उडान र अवतरण गर्ने एयरलाइन्सका यूएई प्रमुख टिकाराम पङ्गेनीले बताए ।

नयाँ समयतालिका अनुसार काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार तथा दुबईबाट बुधवार, शुक्रबार र आइतबार मात्रै उडान हुनेछ । एयरलाइन्सले नेपालबाट राती सवा ९ बजे र दुबईबाट बिहान २ः २० मा उडान भर्नेछ ।

यात्रुको सहजताका लागि उडान तालिका परिवर्तन

उडान तालिका र युएईमा अवतरण हुने स्थान परिर्वतनले यात्रुमा असर नपरोस् भनेर ठुलो आकारको (वाइडवडी) जहाज प्रयोग गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

चैत १८ गतेबाट यात्रु बोक्ने ठुलो आकारको जहाजमा १८ वटा विजनेश र २५६ वटा इकोनोमी क्लास रहेको छ । यात्रुको सुविधालाई ध्यान दिदै इकोनोमी क्लासमा ३५ र ४० केजीको गरी दूई किसिमको व्यागेस सुविधा तथा सबै प्रकारका यात्रुका लागि हृयान्ड क्यारीमा १० केजीसम्म सामान राख्न सक्ने सुविधा दिइएको छ । यात्रुको सहजताका लागि आबुधाबी र दुबईबाट विमानस्थलसम्म जान/आउन दिदैँ आएको बस सेवा भने नियमित राखिएको छ ।

वाइडबडी विमानको सेवा सुरुभए प्रश्चात अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई समेत चिकित्सकको अनुमतिमा यात्रा गराउन सकिने पङ्गेनीले बताए ।

यो अवधिमा पहिलेनै टिक लिइसकेका यात्रुले टिकटको मिति परिवर्तन वा टिकट फिर्ता गर्नुपरेमा टिकट लिएको ट्राभल एजेन्सीबाट विनाकुनै थप शुल्कमा टिकट अद्यावधिक गर्न सक्नेछन् । तर, यो सुविधा भने एकपटक मात्र लिन सकिने एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment