
१३ चैत, काठमाडौं । लगानी सम्मेलनमा सहभागी हुन एशियाली विकास बैंक -एडीबी) का उपाध्यक्ष चेन चेन काठमाडौं आइपुगेका छन् ।
आउँदो शुक्रबार र शनिबार हुन लागेको सम्मेलनका लागि नेपाल सरकारको निमन्त्रणमा आएका एडीबीका उपाध्यक्ष चेनले बिहीबार नै अर्थमन्त्री डा. युवराज खतिवडासँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कार्यहरु बारे जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकास हालसम्ममा बैंकले गरेको सहयोगको लागि धन्यवाद दिएका थिए ।
यस्तै एडीबीका उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताए ।
खासगरी अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक समृद्धिको लागि पर्याप्त काम गर्न सक्ने अवसर प्राप्त भएको उनले अनुभव सुनाएका अर्थमन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।
छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनमा उपाध्यक्ष चेनको नेपाललाई थप सहयोग गर्न तयार रहेको धारणाको लागि धन्यवाद दिए ।
उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत अर्थमन्त्री खतिवडा र एडीबीका उपाध्यक्ष चेनबीच छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4