
१७ चैत, वीरगञ्ज । चाडपर्व, मेला, महोत्सवमा बाहेक सामान्य दिनहरुमा भोजपुरी गीतसंगीतको प्रत्यक्ष आनन्द लिन आधुनिक प्रबिधिको सहारा लिनपुर्ने हुन्छ ।भोजपुरी बाहुल्य क्षेत्र भएपनि वीरगञ्जमा भोजपुरी भाषाका सांस्कृतिक कार्यक्रमहरु कमै हुने गरेको छ ।
लोक संस्कृतिले भरिपूर्ण भोजपुरी समुदायको गीत संतीतको क्षेत्रमा विशिष्ट पहिचान छ । जन्मदेखि मृत्यु संस्कारसम्म, बिहान उठेदेखि नसुतेसम्मका हरेक गतिविधिका बारेमा लोक गीतहरु भेटिन्छन् । लोक गीतसंगीतको अथाह भण्डार भोजपुरी समुदायसँग छ । तर, जुनरुपमा बाहिर आउनुपर्ने हो त्यो आउन नसकेको अवस्था छ ।
पछिल्लो समयमा आधुनिकताका नाममा बहुअर्थी शब्दका गीतहरुको बाहुल्यता बढेको छ । कतिपयले यसलाई छाडा र अश्लिलको उपमा समेत दिने गरेका छन् । यस्ता गीत परिवारसँग बसेर सुन्न, भिडियो हेर्न नसकिने रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्ने गरेको छ ।
वीरगञ्जमा शनिबार गीतसंगीतसँग जोडिएको दुईवटा कार्यक्रम भए । हिन्दी गीत ‘मन भरिया’ को भिडियो सार्वजनिक भयो ।
भिडियोमा स्थानीय कलाकार अभि गुप्ता, बैजु प्रजापति र नायिका सुस्मिता सिंहले जीवन्त अभिनय गरेका छन् ।
एक लाखको लागतमा २ महिना लगाएर निर्माण गरिएको म्युजिक भिडियो सत्य कथामा आधारित भएर बनाइएको दावी निर्माण पक्षले गरेको छ ।
म्युजिक भिडियोमा एउटा केटाले एउटा केटिलाई माया गर्छ । तर केटि भने उसलाई वेवास्ता गरेर अर्कैलाई मन दिन्छिन् ।
पहिलो केटो विक्षिप्त बन्न पुग्छ । उसले मायामा असफल भएकै कारण जिन्दगी नै बर्बाद बनाउँछ । गीतसंगीत, अभिनय, कोरियोग्राफी ठिकठाक छ ।
अर्को वीरगञ्जमा शनिबार अन्तर्राष्ट्रिय भोजपुरी सांगीतिक कार्यक्रम भयो । वीरगञ्ज महानगरपालिकाको सहयोगमा नेपाल भोजपुरी समाज वीरगञ्जको आयोजना र सानो पाइलाको सह आयोजनामा कार्यक्रम भएको थियो ।
नेपाल भोजपुरी समाजले भोजपुरी भाषा साहित्य र संगीतको संरक्षण र प्रवर्द्धनका लागि काम गरिरहेको छ ।
‘नशा मे ना संगित मे झुमी’ भन्ने नारा दिएर त्रिजुद्ध माध्यमिक विद्यालयको खुल्ला चौरमा साँझ राखिएको कार्यक्रम स्थलमा लामखुट्टेले दर्शकलाई घेर्यो ।
बिरलै आउने अवसर भएकोले पनि होला दर्शकले लामखुट्टेको टोकाइलाई वेवास्ता गरेर स्थानीय र अन्र्तराष्ट्रिय कलाकारको सुमधुर स्वरमा भोजपुरी गीत सुनेर भरपुर आनन्द लिए ।
जाग जाग जाग हो जाग जाग
जाग हो किसान, उठ न भइल अब बिहान
बोलको गीतबाट स्थानीय गायक अजमत अलीले कार्यक्रम सुरु गरे । त्यसपछि साईकलको बारेमा वर्णन गरिएको गीतले माहोल गर्मायो ।
ना मोटर बाइक ना मोटर गाडी
हमरा त निक लागे साइकल सवारी
साइकल मै दिनभरी घुम्ने र त्यसैमा आफू रमाउने गरेको बताउँदै अजमतले ‘साइकल सवारी’ गीत गाएपछि तालीको गडगडाहटले चौर गुञ्जियो । गीतको लेखन मात्रै होइन संगित पनि अजमतले नै दिएका हुन् ।
त्यसपछि मञ्चमा आएका नाइजेरियन भोजपुरी गायक राज मोहनले अजमतको ‘साईकल सवारी’ बोलको गीतको प्रशंसा गर्दै भने ‘अबदेखि साईकल चढेपछि अजमतकै गीतको याद गर्छु । गीत निकै राम्रो छ ।’
भोजपुरी समुदायका मानिसहरु कसरी नाइजेरिया पुगे भन्ने ‘सात समून्द्र पार कराईके, ए कनवा देश के सपना देखाईके’ बोलको ईतिहास बोकेको गीत गाएर आफ्नो गायन कला प्रदर्शन आरम्भ गरे ।
गीत सकिएपछि बीच बीचमा आफ्नो भनाइ राख्दै उनले नेपाल भारतमा ‘मोनो कल्चरल सोसाइटी’ रहेको बताउँदै जहाँ जसलाई हेर्दा पनि उस्तै लाग्ने बताए ।
‘हामीलाई अरुको देशमा झुक्याएर लगिएको थियो, शरणार्थी बनाईएको थियो, त्यहाँ कहिल्यै आफ्नो जस्तो नलाग्ने,’ उनले भने ‘ सन् १९८७ मा २४ वर्षको उमेरमा पहिलोपटक भारत आउँदा आफ्नो घर आए जस्तो लाग्यो ।’ त्यसपछि आफ्नो विचारसँगै मिल्ने ‘तोहर सहर हे, तोहर रास्ता’ बोलको गीत गाए ।
त्यसपछि उनले गाएको विदाई गीतले सबैको मन भावुक बनायो । आमा भन्दा अगाडीे मृत्यु वरण गरेके छोराले आफू मरेका कारण भाव विव्हल भएकी आमालाई गीत मार्फत सम्झाएका छन् । ‘माई रे माई तु ना रोईय’ ।
विवाह गरी घर छोडेर पराई घर आउँदा श्रीमान समेतले छोडेर वैदेशिक रोजगारीमा जाँदा श्रीमतीको पीडालाई विषयबस्तु समेटेर तयार पारिएको ‘रेलिया बैरन, पियाको लेके जायरे,’ गीत राजमोहनले फेरि ताली गुञ्जियो ।
राजमोहन ओझेल परेपछि गोपाल ठाकुर मञ्चमा उदाए । भोजपुरी भाषा संस्कृतिको क्षेत्रमा चिरपरिचित नाम गोपाल ठाकुर ।
कुनै बेला रेडियो नेपालमा जागिरे रहेका उनी त्यसलाई त्यागेर अधिकार प्राप्तिको आन्दोलनमा होमिएका थिए । कम्युनिस्ट पार्टीमा आवद्ध भएर जनसांस्कृतिक मञ्चमा समेत सक्रिय रहेका उनले ‘पूर्वपश्चिम उत्तर दखिन जाई कोनो ओरिया, मेसिन होई कोनो चलाई भोजपुरीया’ गीत गाउँदा सबैले गर्वले छाती फुलाए ।
त्यसपछि ऋतुराजले ‘तीर चलावेलु, तरवार चलावेलु, मरजाई हम कैसन हतियार चलावेलु’ गायिका विभा मेहताले ‘मेरे बल्मा, नादान बल्मा’ सुनाईन् ।
वि.स. २०२९ सालमा स्थापना भइ भोजपुरी भाषा, साहित्य संगित र सामाजको लागि काम गर्दै आएको नेपाल भोजपुरी समाज पछिल्लो दिनमा सक्रिय देखिएको छ ।
शनिबार शिक्षिका अनिता साह, सञ्चारकर्मी बिमला गुप्ता र जय यादवालाई सदस्यता प्रदानसमेत गरियो ।
त्यसपछि मञ्चमा आएका राजमोहन हार्मोनियम लिएर स्टेजमा कुर्सीमा नबसी पलेटी कसेर बसे । ‘जमीनमा बस्ने हाम्रो संस्कृति परम्परा हो, हाम्रो पूर्खा जमीनमा बस्थे, लोक गीत जमिनमै बसेर गाउँदा त्यसको मौलिकता झल्कन्छ ,’ त्यसो भन्दै उनले, ‘कव आइए सुगनवा वता मोहे’ अर्थात सुखको दिन कहिले आउँछ भन्ने भाव बोकेको लोक गीत सुनाए ।
अन्मिमा ‘भूल विसर मत जाना, कन्हैया मेरा गलियो मे आना’ बोलको गीत गाउँदै उनले निम्तो आए नेपालमा फेरि आउने वाचा गर्दै मञ्चबाट विदा भए ।
निकै लामो समयपछि भोजपुरी लोक गीत संगीतको आनन्द प्रत्यक्ष लिन पाएको भन्दै नेकपाका युवा नेता अरविन्द सिंहले यसले निरन्तरता पाउनुपर्ने बताए ।
‘खुल्ला चौरमा कार्यक्रम राम्रै भएपनि अलि व्यवस्थित हुन पाएन । लामखुट्टेले त्यतिकै सतायो,’ उनले भने, ‘यसलाई सबै मिलेर व्यवस्थित बनाउनुको साथै निरन्तरता दिने वातावरण बनाउनुपर्ने देखिन्छ ।’
प्रतिक्रिया 4