Comments Add Comment

को हुन् आईपीएलका सबैभन्दा युवा खेलाडी ?

Photo Credit : प्रयास राय बर्मन र उनका बुबा कौशिक राय बर्मन ।

१८ चैत, काठमाडौं । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर सनराइजर्स हैदराबादसँग ११८ रनले पराजित भयो । जोन्नी ब्रिस्ट्ओ र डेभिड वार्नरले शतक बनाए । तर चर्चामा रहे विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरका प्रयास राय बर्मन ।

पहिलोपटक आईपीएलमा मौका पाएका लेग स्पिनर बर्मनले चार ओभर बलिङ गर्दा ५६ रन खर्र्चिए । विकेट भने लिन सकेनन् । ब्याटिङमा पनि मौका पाएका उनले २४ बलमा १९ रन बनाए । त्यसैले बर्मनको चर्चाको कारण उनको खेल भने होइन ।

उनी आईपीएल इतिहासकै सबैभन्दा युवा खेलाडी बनेकाले चर्चामा आएका हुन् । हैदराबादसँग पहिलो पटक आईपीएल खेलेका उनको उमेर १६ वर्ष १ सय ५७ दिन रहेको थियो । यसअिघ अफगानिस्तानका मुजिब उर रहमानले २०१८ मा पञ्जाबबाट १७ वर्ष ११ दिनको उमेरमा आईपीएल खेलेका थिए ।

२५ अक्टोबर २००२ मा जन्मिएका उनलाई यसपटक बैंग्लोरले अक्सनमा १ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो । जुन उनको न्युनतम मूल्यभन्दा झण्डै आठ गुणा बढी हो ।

२०१८ को विजय हजारे ट्रफीमा उत्कृष्ट खेल देखाएका कारण उनी बैंग्लोर टिममा परेका हुन् । जसमा उनले सर्वाधिक विकेट लिएका थिए ।

उनी डेढ करोडमा रुपैयाँमा बिकेका बेला भारतका सबैभन्दा युवा करोडपति भनेर पनि उनको चर्चा चलेको थियो । त्यसबेला उनले भनेका थिए, ‘यत्रो रकममा आईपीएलमा अनुबन्ध भएँ भन्ने सुन्दा अचम्म लागेको छ । कति राम्रा खेलाडीहरु टिममा परेका छैनन्, मलाई त आईपीएलमा पर्छु भन्ने आश नै थिएन ।’

‘अरु भारतीय युवा क्रिकेटर जस्तै मेरो आइडल विराट कोहली नै हुन् । उनीसँग एक दिन फोटो खिचाउन पाइन्छ कि भनेर सोचिरहेको हुन्थेँ तर अहिले हामी एउटै टिमबाट खेल्न पाएका छौं’ उनले अगाडि थपे ।

बुबालाई फोन गरेर माफी

हैदराबादविरुद्धको खेलमा अवसर पाएर पनि राम्रो खेल देखाउन नसकेर निराश बनेका बर्मनले फोन गरेर आफ्नो बुबासँग माफी मागेको घटना भारतीय सञ्चार माध्यममा चर्चा भइरहेका छन् ।

उनका बुबा कौशिक राय बर्मनले भनेका छन्, ‘उसको लागि त्यो खराब दिन रह्यो । तर, सबै टिमको नै खराब समय थियो त्यो । उसले फोन गरेर मलाई पहिलोपटक भनेको शब्द नै ‘सरी’ हो । उसलाई थाहा छ उबाट मैले ठूलो अपेक्षा राखिरहेको हुन्छु । यो उसको सुरुवात हो अझै मेहनत गर्नै पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment