अहिले नेपाली मेनुमा एउटा परिकार थपिएको छ, टाङ्ग्रा चाइनिज ।
खासमा यो इन्डो चाइनिज कुजीन हो । चिनियाहरुको विशेष खान्की । पछि भारतिय भूगोलमा यसको स्वाद र स्वरुप केही फेरियो । अन्ततः चिनिया र भारतिय स्वाद फ्युजन भएर जन्मियो, टाङ्ग्रा चाइनिज ।
अहिले यही परिकार नेपाली पारखीमाझ आइपुगेको छ । गजब चाहि के भने, चीन र भारतको फ्युजन परिकार टाङ्ग्रा नेपाली जिब्रोले रुचाउने खालको छ ।
चीनबाट कामको सिलसिलामा भारतको कोलकोता पुगेका चिनियाँहरु को परिकार हो, टाङ्ग्रा । पछि यो खान्की कोलकोताको परिकारसँग फ्युजन गरिए, जो स्थानियवासीमाझ औधी लोकपि्रय भयो । कोलकोतामा बसोबास गर्ने चिनियाहरुको विशेष परिकार टाङ्ग्रा चाइनिज अहिले बबरमहलको वावर्चीः द रेष्ट्रो एन्ड बारले उपलब्ध गराउँदै आएको छ ।
रेष्टुरेन्टका सञ्चालक राज श्रेष्ठ भन्छन्, ‘चिनिया र भारतिय फ्युजन परिकार भएपनि नेपाली जिब्रोलाई सुहाउँदो छ ।’
वावर्चीः द रेष्ट्रो बारमा खासगरी भारतिय परिकार पाइन्छ । वावर्ची स्पेशल रोल, पनिर कवाव रोल, काटी रोल, विरयानी वावर्चीको मेनुमा समेटिएका विशेष परिकार हुन् ।
त्यसो त सञ्चालक राज श्रेष्ठका पिताले २० बर्षअघि नै कोलकोतामा प्रचलित काटी रोल नेपाली पारखीमाझ पस्किएका थिए । अहिले काठमााडौं लगायत शहरी क्षेत्रमा निकै रुचाइने परिकार हो यो ।
कसरी खानेकुराको स्वाद र स्वरुप फेरिन्छ ?
जसरी उत्तरबाट चाउमिन, मम, थुक्पा हुँदै लाफिङसम्म नेपाली मेनुमा थपिएका छन्, ठीक त्यसैगरी इड्ली डोसा, काटी रोल, बिरयानीदेखि पानीपुरीसम्म दक्षिणबाट आएका छन् । अर्थात चीन-तिब्बत क्षेत्रका खान्कीदेखि भारतिय परिकारसम्म अब यही उपलब्ध छ ।
हरेक खानेकुरा कुनै भूगोल विशेष हुन्छन् । त्यहाँको माटो, हावापानी, रहनसहन, संस्कृति, समुदाय अनुरुप खानेकुरा बनाइएको हुन्छ । यस्ता रैथाने परिकार त्यहाँको उत्पादन र हावापानी सुहाउँदो त हुन्छ नै, त्यसले फरक भूगोलको समुदायको जिब्रो पनि लोभ्याइदिन्छ ।
अतः त्यसरी कुनै भूगोलमा निश्चित समुदाय विशेषको खान्की क्रमस फैलदै जान्छ । अरु समुदायले पनि त्यसको स्वाद रुचाउन थाल्छन् । क्रमस उक्त खानेकुरा अर्को भूगोल र परिवेशमा विस्तार हुँदै जान्छ ।
यसरी कैयौं खानेकुरा हामीकहाँ आइपुगेको छ । उच्च हिमाली भेगमा खाइने तात्तातो झोलिलो परिकारदेखि मध्य तराईमा बनाइने सितल वा चिसो खानेकुरासम्म आपसमा आदन-प्रदान हुन्छ । यसरी तराईको खाना हिमालमा पुग्छ, पहाडको खाना तराईमा ।
जस्तो, मःम । काठमाडौंमा सबैभन्दा बढी रुचाइने परिकार हो यो । यद्यपी मःम काठमाडौंको परिकार होइन । न नेपाली भूगोल र समूदायको खान्की नै हो । यो तिब्बतबाट काठमाडौं भित्रिएको हो । भनिन्छ, व्यापारको सिलसिलामा काठमाडौंबाट तिब्बत पुगेका नेवारी व्यवसायीले काठमाडौंमा मःम भित्र्याएका हुन् ।
तर, तिब्बतबाट काठमाडौंसम्म आइपुग्दा मःमको स्वाद, आकार-प्रकारमा केही परिवर्तन भएको बताइन्छ । अहिले त मःम अनेकन फ्लेबर र आकारमा आउन थालेको छ । यसरी कुनै भूगोल विशेषमा तयार भएको खानेकुरा अर्को भूगोलमा आइपुग्दा केही स्वरुप परिवर्तन हुन्छ । साथसाथै स्वाद पनि ।