Comments Add Comment

मकै बेचेरै मासिक ३५ हजार ! विदेश किन जाने ?

मकै बिक्रीबाट मनग्य आम्दानी गर्दै थुम्सीका स्थानीय

१९ चैत, चितवन । देशभित्र सम्भावना नदेखेर विरक्तिँदै विदेशिने युवाको जमात ठूलो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक लाग्ने लर्कोले नेपालीको विदेशमोह झल्काउँछ ।

तर, स्वेदशमा नै केही गर्न सकिन्छ भन्ने बर्गेल्ती उदाहरण पनि छन्, हाम्रै वरिपरि । नवलपुरको गैंडाकोट नगरपालिकाका–८,थुम्सीका स्थानीय यस्तै गतिला उदाहरण हुन् । यहाँका ८० स्थानीय समाजले झिनोमसिनो ठान्ने हरियो मकै बिक्री गरेर मासिक ३५ हजारभन्दा बढी कमाइरहेका छन् ।

पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधनमा आउने यात्रुहरुलाई मकै बेच्नु उनीहरूको दैनिकी हो । राजमार्गको सवारी कर लिने स्थानको वरपर कोही हरियो मकै प्लास्टिकमा पोको पार्दै बेच्न दौडिरहेका हुन्छन्, त कोही मकै पोलेर बेचिरहेका हुन्छन् ।

गैंडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले विगत ५ वर्षदेखि सोही ठाउँमा बसेर मकै बेच्दै आइरहेका छन् । पहिला मनहरि एक्लै यो पेशामा थिए । अहिले उनकी श्रीमती कमलाले पनि उनलाई सघाउँछिन् । ‘मकै बिक्रीबाट विदशिएकाले भन्दा राम्रो कमाइ गर्दै आइरहेका छौं’, मनहरिले प्रशन्न हुँदै भने ।

सापकोटा दम्पत्तिकै पदचाप पछ्याउँदै अन्य ६ जोडीले पनि यो क्षेत्रमा हरियो मकै बिक्रीलाई आफ्नो पेशा बनाएका छन् ।

१० घोगा मकैलाई एक सयमा बेच्ने गरिन्छ । एक जनाले दैनिक १ सय ५० देखि २ सय घोगासम्म मकै बिक्री गर्ने गरेको मनहरि बताउँछन् । पोलेको मकै प्रतिगोटा २० रुपैयाँका दरले बिक्री हुन्छ । उनीहरूले आफ्नै खेतबारीमा मकै लगाउने गरेका छन्, त्यो पनि दुई सिजन । तैपनि उनीहरुलाई बिक्रीका लागि मकै अभाव हुने गरेको छ । यस्तो बेला अन्यत्रबाट मकै ल्याएर बिक्री गर्ने गरेको मनहरि बताउँछन् ।

‘अन्यत्रबाट मकै खरिद गरेर बेच्दा नाफा कम हुन्छ, तर आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ’, मनहरिले भने, ‘मकै बेचेर गरेको आम्दानीले घर परिवार चलाउन सहज भएको छ । जागिर खोज्न जानुपरेको छैन ।’

गैंडाकोट ७ कै देवप्रसाद सापकोटा पनि श्रीमतीसहित दैनिक मकै बेच्न राजमार्गमा आउने गरेका छन् । उनीहरु दुवै जनाले दिनमा ५ सय घोगा मकै बेच्ने गरेको सुनाए । ‘हामी बुढाबुढी भएर दिनमा ५ सय जति घोगा मकै बेच्छौं’, देवप्रसादले अनलाइनखबरसँग भने, ‘महिनामा १ लाख जति कमाउँछौं, खर्च कटाउँदा ७०–८० हजार हुन्छ ।’

गैंडाकोट नगरपालिकाले राजमार्गमा बसेर मकै बेच्दा होसियारी अपनाउन भनेको छ । दुर्घटना हुन सक्ने भएकाले सचेत भएर बेच्न उसले आग्रह गरेको हो । मकै बेच्ने ठाँउको सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए । सो ठाँउमा दुर्घटना हुन सक्ने भएकाले अन्यत्र सिफ्ट गर्ने योजना बनाएको मेयर पौडेलले जानकारी दिए । ‘नगरपालिका देखेपछि उहाँहरु भाग्नुहुन्छ, हामी उहाँहरुलाई त्रसित बनाउने पक्षमा छैनौं’, मेयर पौडेलले भने, ‘अन्यत्र यात्रुलाई आरामसहित रिफ्रेस हुने स्थान बनाउने र त्यही नै मकै बेच्ने योजना बनाइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment