
२० चैत, वीरगञ्ज । बारामा हावाहुरीका कारण ज्यान गुमानेको परिवारलाई राष्ट्रिय जनता पार्टी नेपालले नगद सहयोग गरेको छ ।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले बाराको भलुही भरवलियामा गई हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई जनही ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारले घोषणा गरेको तीन लाख सहयोग रकम आउन केही समय लाग्ने हुँदा तत्काल किरिया खर्चका लागि पार्टीका तर्फबाट नगद सहयोग गरेको मन्त्री सोनलले बताए ।
प्रभावित फेटा गाउँपालिका वडा नं १ भलुवी भरवलियामा ७ जना मृतकको परिवारलाई नगद ११ हजार आर्थिक सहयोग गरेको मन्त्रीका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए । अब अन्यत्रका मृतक परिवारलाई पनि सहयोग गर्ने उनले बताए ।
प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले हावाहुरीबाट प्रभावित क्षेत्रमा १० थान कलधारा सहयोग गरेको छ । तत्काल जडान गर्ने गरी भलुही भरवलियामा १० थान कलधारा प्रदान गरिएको सोनलका स्वकीय सचिव सर्राफले बताए ।
प्रतिक्रिया 4