Comments Add Comment

आँधी प्रभावितलाई विद्यार्थी संगठनको सहयोग

एसईई दिनेलाई अखिलको साथ, पीडित अभिभावकलाई नेविसंघको राहत

२२ चैत, काठमाडौं । गत आइतवार साँझको आँधीहुरीले घरबास उठाएका बाराको फेटा गाउँपालिकाका एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले गासबास लगायतको व्यवस्था मिलादिएका छन् ।

प्रश्नपत्र आउट भएका कारण स्थगित भएको प्रदेश २ को एसईई परीक्षा शुक्रवारबाट पुनः सन्चालन भइरहेको छ । भरवलिया र पुरैनिया गाउँबाट एसईई दिने विद्यार्थीहरुमध्ये सम्पर्कमा आएका १३ जनालाई परीक्षा अवधिभर सबै सुविधा उपलव्ध ती विद्यार्थी संगठनले गराउने भएका छन् ।

आँधीप्रभावित गाउँका सबै विद्यार्थीको तथ्याङ्क शुक्रबार अपरान्हसम्म आइसकेपछि १३ जना बाहेक अन्यलाई पनि खान बस्न र शैक्षिक सामाग्री उपलव्ध गराइने अनेरास्ववियुकी सचिव तथा प्रदेश २ इञ्चार्ज आरती लामाले बताइन् ।

परीक्षा केही दिन पर सार्न आग्रह गरिए पनि सम्भव नभएकाले घरबारविहीन विद्यार्थीलाई एसईई अवधिभर कुनै समस्या नहोस् भनेर होटलमा खाने बस्ने व्यवस्था मिलाइएको र सबै खर्च संगठनले व्यहोर्ने उनले बताइन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन र अनेरास्ववियुकी सचिव आरती लामाको नेतृत्वमा विद्यार्थीहरुले आँधीप्रभावित क्षेत्रमा स्वयंसेवी ढंगले भत्किएका घरका संरचना हटाउने र अस्थायी आवास निर्माण गर्ने कार्यसमेत गरिरहेका छन् ।

यसैबीच कांग्रेसनिकट नेविसंघले पनि आँधि प्रभावित क्षेत्रमा राहत सामाग्री वितरण गरेको छ । नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरको नेतृत्वमा पुगेको टोलीले खाद्य सामाग्री वितरण गर्नुको साथै भत्किएका संरचनाहरु हटाउने कार्य गरेको छ ।

पीडित ८० परिवारलाई पुग्ने राहत सामाग्री गाउँपालिका कार्यालयमार्फत हस्तान्तरण गरिएको महरले बताए । सरकारले भाषण गरे पनि राहत तथा पुनस्थापना काम नगरेको आरोप उनले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment