Comments Add Comment

चेक गणतन्त्रको भिसा सेवा अब नेपालमै

२२ चैत, काठमाडौं । मध्य युरोपेली मुलुक चेक गणतन्त्रको यात्रा गर्न चाहने नेपाली नागरिकको सहजतालाई ध्यानमा राखेर भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र संचालनमा ल्याएको छ ।

यसअघि चेक गणतन्त्र भिसा आवेदन प्रक्रियाका लागि आवेदकहरु भारतको नयाँ दिल्लीस्थित दूतावासमा जानुपथ्र्यो ।  नेपालका लागि चेक गणतन्त्रका राजदूत मिलान होभोर्का र नेपालका लागि अवैतनिक महावाणिज्यदूत विष्णु कुमार अग्रवालले शुक्रबार संयुक्त रुपमा नयाँ सुविधाको औपचारिक उद्घाटन गरे ।

नेपाली यात्रीहरुमाझ चेक गणतन्त्रको लोकप्रियता निरन्तर बढिरहेको दूतावासको दाबी छ । सन् २०१८ मा चेक गणतन्त्रको भिसाका लागि भिसा आवेदन दिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढेको थियो ।

हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकोले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसासम्बन्धी सेवा दिन थालेको हो ।
चेक गणतन्त्रसँगै भीएफएस ग्लोबलले नेपालबाट भिसा प्रक्रिया संचालन गर्ने मुलुकको संख्या २० पुगेको छ ।

भीएफएस ग्लोबलले सन् २००८ देखि चेक गणतन्त्रको सरकारसँग सहकार्य गर्दै आएको छ । हाल भीएफएस ग्लोबलले २५ मुलुकमा एक सयभन्दा बढी भिसा आवेदन केन्द्रहरु संचालन गरिरहेको छ ।

‘नेपाली भिसा आवेदकको सुविधाका लागि नेपालमा भीएफएस ग्लोबल केन्द्र खोल्ने निर्णय गरिएको हो, ताकि उहाँहरु दिल्लीस्थित चेक गणतन्त्रको दूताबाससम्म आउन नपरोस्,’ उद्घाटन कार्यक्रममा नेपालका लागि चेक गणतन्त्रका राजदूत मिलान होभोर्काले भने, ‘सहज र शिघ्र भिसा प्रक्रियाका लागि सबै पक्षबीच सहकार्य हुन जरुरी छ । म आवेदकहरुलाई भिसा प्रक्रियाका सबै मापदण्डको सम्मान गर्न आग्रह गर्न चाहन्छु ।’

त्यसैगरी, भीएफएस ग्लोबल अन्तर्गत दक्षिण एसिया, मध्यपूर्व तथा चीनका क्षेत्रीय ग्रुप सीओओ विनय मल्होत्राले चेक गणतन्त्रको दूतावाससँगको सम्बन्ध एक दशक लामो भइसकेको र २५ वटा देशमा चेक गणतन्त्रका तर्फबाट भिसा सेवा उपलब्ध गराइरहेको जानकारी गराए ।

‘आज नेपाली आवेदकका लागि भिसा सेवा सुरु गर्न पाउँदा हामी धेरै खुसी छौं,’ उनले भने, ‘नेपालबाट मध्य युरोपेली मुलुकमा भ्रमण गर्नेको संख्या बढिरहेको परिप्रेक्षमा भिसा प्रक्रिया सहज बनाउन हामी प्रतिबद्ध छौं ।’

मुख्य सुविधाहरुः

  •  स्काइपको माध्यमबाट अन्तर्वार्ता
  •  अटोमेटेड एसएमएस अपडेट
  •  फर्म भर्न सहयोग
  •  सेल्फ-सर्भिङ बुथ
  •  प्रिन्टिङको सुविधा
  •  प्राइम टाइम अपोइन्टमेन्ट
  •  प्राइम टाइम पासपोर्ट पास ब्याक सेवा
  •  बैंकिङ इन्स्ट्रयुमेन्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment