Comments Add Comment

देव विकास बैंकद्वारा मानव सेवा आश्रमलाई तीनलाख प्रदान

२२ चैत, बुटवल । देव विकास बैंकले मानव सेवा आश्रमको बुटवल शाखालाई तीन लाख रुपैयां सहयोग गरेको छ ।

शुक्रबार बुटवल सुख्खानगरस्थित आश्रममा पुगेर बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई तीन लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठले बैंकहरुले नाफाको एक प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने नीति अनुसार आश्रमलाई सहयोग गरिएको बताए । उनले असहाय, अशक्तहरुलाई सहयोग गर्नु जत्तिको धर्म अरु नहुने भन्दै आउँदो वैशाखमा थप दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आश्रमका अध्यक्ष अधिकारीले २०६९ सालमा हेटौंडाबाट शुरु भएको संस्थाले हाल प्रदेश १ बाहेक ६ वटा प्रदेशका ११ वटा जिल्लामा १२ शाखा र २ उपसेवा केन्द्रमा गरी ८ सय जना सहयोगापेक्षी व्यक्तिलाई आश्रय र पालनपोषण गरिरहेको बताए ।

सडक, अस्पताल, पाटीपौवाहरुमा बेवारिसे अवस्थामा परित्यक्त, मानसिक सन्तुलन गुमाएका, घाउ चोटले शरीरका अंगहरु कुहिएका, फोहरले दुर्गन्धित व्यक्तिहरुलाई आश्रममा ल्याएर उपचार र पालनपोषणको काम आश्रमले गर्दै आएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सुस्त मनस्थिति बाल विद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले आश्रमको भवन निर्माणका लागि कम्तीमा २ लाख सहयोग गर्ने प्रतिवद्धता जनाए । पुसदेखि सञ्चालनमा आएको बुटवलको मानव सेवा आश्रममा ४० जनाले आश्रय लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment