Comments Add Comment

भृकुटीमण्डपका ५८२ व्यवसायीको व्यवसाय नविकरण, १५० व्यवसायी करको दायरा बाहिर

२३ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपभित्र त्रिपालमुनि सञ्चालनमा रहेका मध्यम व्यापारीको व्यवसाय नविकरण थालिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ ले भृकुटीमण्डपका निम्न व्यापारी संघसँगको समन्वयमा टोली खटाएर नविकरण शुरु गरेको हो ।

व्यवसाय नविकरण शुरु हुनु अघि राजस्व बिभाग र वडाका अधिकारीले बैठक गरेका थिए । बैठकमा करका परिवर्तित दर, कर संकलनको क्षेत्र, कर प्रशासन, करदाता र सेवा प्रदायकका दायित्व तथा जिम्मेवारीका बिषयमा छलफल भएको थियो ।

छलफलका क्रममा काठमाडौं निम्न व्यापारी संघका महासचिव लीलानाथ दाहालले कर तिरेपछि खानेपानी र फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरले बहन गर्नु पर्ने माग राखेका थिए । तर, राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले करमा शर्त नहुने जवाफ दिए ।

‘कर तिरेपछि आफूले तिरेको कर केका लागि, कसरी खर्च भयो जानकारी राख्न पाउनु करदाताको अधिकार हो तर तपाईले यसो गरे मात्र म कर तिर्छु भन्न चाहिँ पाइदैन । यो शर्तले होइन नियमले व्यवस्था गरेको कुरा हो,’, उनले भने ।


महानगरले फोहोर नउठाए, खानेपानीको व्यवस्था नगरिदिए पनि व्यापारीले कर तिर्नु पर्छ र व्यापारीले माग नराखे पनि महानगरले सहरी सुविधा वितरण गर्नुपर्ने उनले बताए ।

त्यस क्षेत्रको बहाल कर लिँदा व्यापारीले समाज कल्याण परिषदमा बहाल बुझाएको नगदी रसिदमा उल्लेख भएको रकमलाई आधार लिइन्छ भने व्यवसाय करतर्फ व्यवसायको प्रकृतिको आधारमा आर्थिक ऐनमा उल्लेख भएबमोजिमको रकम लिइन्छ ।

भृकुटीमण्डपभित्रको चाइना मार्केटका नामले परिचित नीलो त्रिपालमुनि भएका ७३२ वटा व्यवसाय वडामा दर्ता छन् । वडासचिव शुशिल कुँवरका अनुसार यीमध्ये गएको आर्थिक वर्षमा पनि ५८२ व्यापारीले व्यवसाय नविकरण गराएका थिए । जसमा व्यवसाय करतर्फ करीब ९ लाख १४ हजार रुपैयाँ र बहाल करतर्फ करीब ५ लाख लाख ८६ हजार रुपैयाँ गरी करीब १५ लाख राजस्व संकलन भएको थियो ।

भृकुटीमण्डपको नीलो त्रिपालमुनि तयारी कपडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, जुत्ता चप्पल, भाँडाकुँडा, झोला लगायतका घरायसी सामान पाइन्छन् । यसबाहेक खाजा पसल तथा रेष्टुरेन्ट गरी करीब १०० वटाअन्य व्यवसाय र संघ संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment