Comments Add Comment

डाक्टरको समायोजनले सेती अस्पतालको विजोग !

२५ चैत, कैलाली । डाक्टरहरुको हालै गरिएको समायोजनपछि सेती अञ्चल अस्पताल डाक्टरविहीनजस्तै भएको छ ।

अस्पतालमा १५ जना सरकारी डाक्टर रहेकोमा १३ जनाको संघीय सरकार अन्तर्गत समायोजन भएपछि यहाँ २ जना मात्रै डाक्टर बाँकी रहने भएका छन् । यसको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

१० औं तहका डा. खगेन्द्र भट्ट र ९ औं तहका डा. जगदिश जोशीको मात्रै सेती अञ्चल अस्पतालमा समायोजन भएको छ, अन्यको संघ मातहतको अस्पतालमा समायोजन भएको छ । सेती अस्पताललाई प्रदेश सरकारको मातहतमा राखिएको छ ।

समायोजनका कारण अस्पतालको विजोग हुने भएकाले आन्दोलन गरिएको चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डा. प्रमोद जोशीले बताए ।

सरकारले गरेको समायोजनले सेती अञ्चल अस्पतालको भविष्य नै संकटमा पारेको तर्क चिकित्सकहरुको छ । सरकारले सहमति विपरीत समायोजनको सूची प्रकाशित गरेपछि सरकारी डाक्टरहरु आन्दोलित भएका छन । देशभरी जस्तै सुदूरपश्चिममा पनि सरकारी अस्पतालमा समायोजनको विरोध गर्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको सरकारी चिकित्सक संघ (गोदान) का सुदूरपश्चिम प्रतिनिधि डा. कपिल गौतमले बताए ।

साढे तीन दशकदेखि स्तरोन्नति नहुँदा अस्पतालमा जनशक्ति, संरचना र शैय्या अभावको समस्या देखिएका बेला भएका चिकित्सक पनि सरुवा गरिदिएपछि उपचार दिनै नसक्ने अवस्थामा पुग्ने कर्मचारीहरु बताउँछन् ।

मुख्यमन्त्रीले भने : प्रदेश सक्षम हुन्छ

आन्दोलनरत सरकारी चिकित्सकसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार दिउँसो छलफल गरेका छन् । छलफलपछि चिकित्सकहरु निराश भएर फर्किएका छन् ।

प्रदेशको मातहतमा राखिएका चिकित्सकलाई केन्द्र मातहत राख्नुपर्ने चिकित्सकको मागमा मुख्यमन्त्री भट्टले असहमति जनाएका छन् । उनले प्रदेशकै मातहतमा रहेर काम गर्न चिकित्सकहरुसंग आग्रह गरे ।

चिकित्सकहरुसंगको छलफलमा मुख्यमन्त्री भट्टले प्रदेशलाई बलियो र सक्षम बनाउने आश्वासन मात्र दिएनन्, संघको मातहतमा रहेका चिकित्सकलाई समेत प्रदेशमा आकर्षण गर्ने सुविधा र व्यवस्था दिने बताए ।

मुख्यमन्त्री भट्टको आश्वासनपछि चिकित्सकहरुको जिज्ञासा राखे, ‘प्रदेश कहिले सक्षम हुन्छ ?’नेपाल चिकित्सक संघ सुदूर पश्चिम प्रदेशका अध्यक्ष हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. प्रमोद जोशीले लामो इतिहास र अनुभव भएको संघले ४० सालको दरबन्दी अहिलेसम्म पूरा गर्न नसकेको अवस्थामा प्रदेश सरकारले कसरी चिकित्सकहरुको व्यवस्थापन गर्न सक्छ भनेर प्रश्न गरे ।

तर मुख्यमन्त्रीले आफ्ना कुरा एकतर्फी रुपमा राखेर छलफल टुंग्याएपछि चिकित्सहरु निराश भएर फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment