Comments Add Comment

दृष्टिविहीन सञ्चारकर्मीको न्यायाधीश बन्ने सपना

२५, चैत्र, चितवन । भरतपुर महानगरपालिका-१० का तारा न्यौपाने उमेरले २२ वर्षका भए । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल ल क्याम्पसमा बीएएलएलबी चौंथो वर्षमा अध्ययनरत छन् उनी । कक्षामा ७० जनामध्ये तारा एक मात्र दृष्टिविहीन विद्यार्थी हुन् ।

एफएम प्रस्तोताका रुपमा काम गर्दै आएका ताराको सपना चाहिँ न्यायाधीश बन्ने हो । साथीभाइसँग काठमाडौंको रातोपुल नजिक डेरा गरेर बसेका उनी साथीहरुकै सहयोगमा दैनिक क्याम्पस धाउँछन् । केही कुरा ब्रेल लिपीमा टिप्छन् । मोवाइलमा रेर्कड गरेर ल्याएर पनि सुन्छन् । शिक्षकले दिएका नोटहरु मोबाइलको सफ्टवेयरले रिड गरिदिन्छ ।

फेसबुकमा पनि उत्तिकै सक्रिय छन् तारा । कसैले फेसबुकमा म्यासेज गरेमा तुरुन्तै रिप्लाई गरिहाल्छन् । कमेन्टमा समेत जवाफ फर्काउछन् । मोवाइल र कम्प्युटरमा आवाज दिने सफ्टवेयरमार्फत तारालाई अन्यसँग जोडिन सजिलो भएको छ । अलि भीडभाडमा हुने बजारमा हिँड्दा सेतो छडी बोक्ने उनी काठमाडौंबाट एक्लै बसमा भरतपुर आउने-जानेसमेत गर्छन् ।

आफ्नो घर वरपर हिँड्न तारालाई कसैको साथ चाहिँदैन । २०५३ साल असार १३ गते भरतपुरमा जन्मिएका उनी बुबा ओमप्रकाश न्यौपाने र आमा सिर्जना न्यौपानेका माहिलो सन्तान हुन् । परिवारमा हजुरआमा, बुबा, आमा, दिदी र भाइ छन् । परिवारमा अरु कोही पनि दृष्टिविहीन छैनन् ।

तारा जन्मजात दृष्टिविहीन हुन् । उनी जन्मँदा आँखामा फूलो परेको थियो । जति उपचार गर्दा पनि निको भएन । उपचारको लागि भारतसम्म पुग्दा पनि ताराको दृष्टि फकिएन । आँखाको दृष्टि नभए पनि ताराको मस्तिष्क भने निकै तेज छ । नारायणी माविबाट एसएलसी पहिलो श्रेणीमा पास गरेका उनले सप्तगण्डकी क्याम्पसबाट पहिलो श्रेणीमा व्यवस्थापन बिषय उत्तीर्ण गरे । एसएलसीसम्म उनले ब्रेल लिपीमा नै परीक्षा दिए । एलएलबीमा पनि राम्रो अंक ल्याउने आशा छ उनको ।

पढ्न मात्रै होइन, उनी अत्तिरिक्त क्रियाकलापमा पनि उत्तिकै चाख राख्छन् । सात वर्षको उमेरदेखि स्थानीय कालिका एफएममा बालमञ्जरी कार्यक्रम चलाएका उनी सानासाना बालबालिकाहरूको प्रिय मानिन्थे ।

एफएममा एक्लै समेत कार्यक्रम हृयाण्डल गर्न तारालाई कुनै समस्या हुँदैन । उनले एफएममा म्युजिक क्विज, युथ डटकम जस्ता कार्यक्रम पनि चलाए ।
अहिले अपांग आवाज नामको कार्यक्रम काठमाडौंमा नै बसेर कालिका एफएममा चलाउँदै आएका छन् ।

२०६२ सालमा राष्ट्रिय बाल उत्कृष्ट पुरस्कार जितेका उनले २०७३ सालमा युवा परिषद्द्वारा युवा सम्मान पुरस्कार पाए ।

अपांग महासंघको कान्छो उम्मेदवार

काठमाडौंमा आजदेखि राष्ट्रिय अपांग महासंघको आठौं महाधिवेशन सुरु भएको छ । अधिवेशनमा दृष्टिविहीनहरुको तर्फबाट ताराले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

अपांग जागरण अभियानको तर्फबाट उम्मेदवारी दिने उनी सबैभन्दा कान्छो उम्मेदवार हुन् । उनले खुल्लातर्फ नै उम्मेदवारी दिएका छन् । करिब ८ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् ।

ताराले आफ्ना चुनावी एजेन्डामा बौंद्धिक अपांग भएका र आर्थिक अवस्था जटिल भएकाहरुलाई हरेक जिल्लामा संरक्षण गृह बनाउने कुरालाई प्राथमिकतामा राखेका छन् ।
दिउँसो गृहमा राख्ने र साँझ-बिहान परिवारसँग नै बस्ने व्यवस्था मिलाउने योजना उनले सुनाए ।

सरकारले अहिले अपांगको कोटा घटाएकोमा ताराले दुःखेसो गरे । कतिपय कोटामा अपांगहरुको पहुँच वा जानकारी नै नभएर त्यत्तिकै खेर जाने गरेकोले एउटा संयन्त्रमार्फत अपांगहरुलाई प्रतिस्पर्धाका लागि पठाउने प्रणालीको विकास गर्नुपर्ने उनको धारणा छ ।

‘अपांगता भएकाहरुलाई समान अवसर र राजनीतिक अधिकार चाहिएको छ,’ उनले भने, ‘सरकारी कार्यालयहरुमा सांकेतिक भाषामा जानकारी दिने गरी अनिवार्य रुपमा एक ब्यक्ति राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment