Comments Add Comment

‘भर्जिन’ जुगल हिमालमा मानव पाइला पुग्दै

हिमाल चढ्न गएका नेता भने आधार शिविरबाटै फर्किए

२५ चैत, जुगल (सिन्धुपाल्चोक) । शिरमा जुगल हिमाल अनि फेदमा जुगलबाट कलकल बग्ने बम्हयानी नदी । अन्यत्र हिमाल आरोहणमा आउने आन्तरिक र बाह्य पर्यटकको कारण गाउँको मुहार फेरिएको कथा धेरै सुनेका थिए, विकट जुगलबासीले ।

सिन्धुपाल्चोकको कर्णालीको उपमा पाएको जुगल गाउँपालिका प्रकृतिले दिएको उपहार नै उपहार भएको गाउँपालिका भएपनि त्यसको सदुपयोग नहुँदा जुगलबासी हरिणले आफ्नै नाभीको बास्ना थाहा नपाएको झै बास्ना खोजिरहेका थिए ।

जुगल हिमालमा आरोहण खुलाउन सके त्यसको प्रचार प्रसार र त्यसको अवलोकन र आरोहण गर्न आउने पर्यटकहरुका कारण आफ्नो गाउँ समृद्ध हुने आशामा लामो सयमदेखि जुगलबासी कुरिरहेका थिए ।

आफ्नै आँगनको हिमाल आरोहण खुलाउन र त्यो हिमालमा आफ्नो गाउँपालिकाको झण्डा फहराउनका लागि जुगल गाउँपालिकाले कम्ती मेहनत गरेन । ‘हामीले गाउँपालिकाको नीति तथा कार्यक्रममा नै जुगल हिमालको आरोहण खुलागर्न विशेष प्रस्ताव नै पारित मात्रै गरेनौ बजेट समेत विनियोजन गरेका थियौं’ जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने ।

स्थानीय निकायमा जनप्रतिनिधि आएपछि भर्जिन जुगल खुला हुने स्थानीयको विश्वास झण्डै दुइवर्ष पछि पूरा भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्ष पुग्नै लाग्दा जनप्रतिनिधिले चुनावताका स्थानीयसँग गरेको बाचामध्ये एउटा बाचा पूरा गर्न पाएकोमा जीवनको सबैभन्दा खुसी आफू भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

भर्जिन हिमालमा आरोहीहरुको लस्कर पुग्दा…

राजधानीबाट १४५ किमी टाढामात्रै रहेको जुगल हिमाल भर्जिन हिमालको उपमाले चिनिएको छ । आफ्नै जिल्लाबासी अनि आफैले मतदान गरेर जिताएका जनप्रतिनिधिसमेत जुगल हिमालको पहिलो आरोहणमा आउने खबर सुनेपछि जुगलबासीमात्रै होइन छिमेकी बलेफीगाउँ पालिकाका स्थानीय पनि हर्षित भएका थिए ।

बलेफी गाउँपालिकाका कार्यालय नजिकैबाट स्थानीयले बाजागाजासहित जुगलआरोहण टोलीलाई भव्य स्वागत गरेसँगै आरोहीहरुको यात्रा अघि बढेको थियो । ठाउँ ठाउँमा जुगलबासीले आफ्नो मौलिक परम्परा अनुसार आरोहीहरुलाई स्वागत गरेका थिए ।

जुगल गाउँपालिकामा प्रवेश गर्दा जनप्रतिनिधि र स्थानीयले आरोहीहरुलाई बजागाजासहित स्वागत गरे ।

धुले सडकको ठाउँ ठाउँमा स्थानीयले स्वागतद्धार बनाएर फुलमाल, खादा अबिर लगाइदिँदै सफल आरोहणको शुभकामना दिएका थिए । जुगल गाउँपालिकाको पाङगरपुमा तामाङ समुदायले आरोहीको स्वागत गरेका थिए ।

बोल्देमा पुग्दा लामा र झाँक्रीहरु अनि बेलुकी क्याङसिङ पुग्दा मौलिक भेषभूषामा सजिएका शेर्पा समुदायले आरोहीको स्वागत गरे । गुम्बागाउँ, तेम्बाथानमा मात्रै होइन सिन्धुपाल्चोकतर्फ नेपालकै अन्तिम मानव बस्ती दिपुमा पुग्दा आरोहीलाई स्थानीयले स्वागत गरे । हिमाल आरोहणपछि यस क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्न अनुरोध गरेका थिए ।

अब हाम्रो गाउँमा पनि केही हुन्छ कि ?

जुगल हिमाल आरोहण खुला भएपछि यस क्षेत्रका स्थानीयले अब गाउँमा विकास हुने आशा गरेका छन् । आरोहीहरुलाई स्वागत गर्न लाइनमा उभिएकी तेम्बाथानकी पासाङ शेर्पाले उत्साही हुदै भनिन् ‘अब त हाम्रो गाउँमा पनि बिजुली बल्छ होला, अस्पताल बन्छ होला ।’

आन्तरिक र बाह्य पर्यटक हिमाल आरोहण र यस क्षेत्रमा घुम्न आउँदा गाउँमा पनि विकास हुने वडा सदस्य नर्बु शेर्पाले बताए ।

आधार शिविरमा आरोहण टोली

जुगल हिमालको आरोहण औपचारीक रुपमा खुला भएपछि प्रदेश ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा चैत १५ देखि जुगल आरोहण गर्न सात सदस्य टोली जुगल लागेको थियो ।

टोलीमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्वसांसद सुवास कर्माचार्य, सगरमाथा आरोही माया गुरुङ, सिन्धु पर्यटन परिषदका महासचिव मिलन तामाङ, शर्मिला थापा आरोहण टोलीमा छन् ।

जुगल हिमश्रृङ्ला अन्र्तगतको ग्लाल्चेन पिक यो पटक आरोहण हुनेछ । यसको उचाइ ६ हजार १ सय ५१ मिटर रहेको छ । आरोहीमध्ये नेकपाका नेताद्वय माधव सापकोटा र सुवास कर्माचार्य भने स्वास्थ्य अवस्थाले साथ नदिएपछि ५ हजार मिटरको हाइक्याम्प सम्म पुगेर फर्किएका छन् । मौसमले साथ दिएमा बुधबार सम्म जुगल हिमालको प्रथम आरोहण सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment