Comments Add Comment

ट्वीटरका सीईओको तलब वार्षिक डेढ डलर मात्र !

माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सीले सन् २०१८ मा कम्पनीबाट यति कम तलब बुझे कि जो कोहीलाई पत्याउन गाह्रो हुन्छ ।

हुन त उनले सन् २०१५ मा दोस्रोपटक सीईओ बनेसँगै ट्वीटरबाट कुनै तलब सुविधा लिएका थिएनन् । तर सन् २०१८ मा उनले ट्वीटरबाट कूल १ डलर ४० सेन्ट तलब बुझेका छन् । पछिल्लो चार वर्षमा उनले तलब लिएको यो पहिलोपटक हो ।

ट्वीटरले अमेरिकाको सेक्योरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई बुझाएको रिपोर्ट अनुसार सीईओ डोर्सीले सन् २०१८ को वर्षभरमा जम्मा १.४० डलर तलब पाएका हुन् ।

ट्वीटरका सह–सस्थापकसमेत रहेका डोर्सी कम्पनीको सुरुवातताका दुई वर्षसम्म ट्वीटरको सीईओ थिए । सन् २००८ मा उनले उक्त पद छाडे । त्यसपछि सन् २०१५ मा उनले पुनः ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको पद सम्हाले ।

त्यसपछि उनले सन् २०१५, २०१६ र २०१७ मा ट्वीटरबाट कुनै तलब सुविधा लिएनन् ।

डोर्सीले सन् २०१८ मा ट्वीटरबाट लिएको १.४ डलरको तलब मात्र होइन उनले अर्को कम्पनी स्क्वाएरबाट बुझ्ने तलब पनि यस्तै अपत्यारिलो छ । मोबाइल पेमेन्ट कम्पनी स्क्वाएरबाट उनले वार्षिक २ डलर ७५ सेन्टमात्र तलब बुझ्दछन् ।

गत डिसेम्बरमा उनले स्क्वाएरमा रहेको आफ्नो १७ लाख कित्ता शेयर बेचेका थिए । जसबाट उनले ८ करोड डलर आम्दानी गरेका थिए ।

फोब्र्सको तथ्यांक अनुसार डोर्सीको कूल सम्पत्ति ४ अर्ब ७० करोड छ । जसमा ३ अर्ब ९० करोड डलर मूल्य बराबरको स्क्वाएर कम्पनीको ६ करोड १० लाख कित्ता शेयर पनि समावेश छ । त्योसँगै ट्वीटरको करीब ६० करोड डलर बराबरको शेयर पनि उनीसँग छ । उनले ट्वीटरको शेयर भने हालसम्म बेचेका छैनन् । जबकि ट्वीटरका अर्का सह–सस्थापक इभान विलियम्सले अप्रिल २०१८ देखि हालसम्म आफ्नो स्वामित्वमा रहेको ट्वीटरको शेयरमध्ये झण्डै ५० प्रतिशत शेयर बेचिसकेका छन् ।

वार्षिक डेढ डलरभन्दा पनि कम तलब बुझ्ने डोर्सी एक्ला अर्बपति होइनन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग, ओरेकलका ल्यारी एलिसन तथा गुगलका ल्यारी पेज र सर्गेई ब्रिनले पनि वार्षिक १ डलर तलब लिन्छन् ।

फेसबुक सीईओ मार्क जुकरबर्गले सन् २०१२ मा तलब र बोनसको रुपमा जम्मा ७.७० डलर मात्र तलब बुझेका थिए । अहिले जुकरबर्ग फेसबुकमा सबैभन्दा कम तलब खाने कर्मचारी हुन् ।

अमेरिकी दिग्गज कम्पनीहरुका उच्च पदस्थ अधिकारीहरुले प्रतीकात्मक रुपमा एक डलर आसपासमा तलब लिने चलन चलिरहेको छ । वास्तवमा उनीहरुले शेयर वा अन्य तरिकाबाट यति धेरै कमाई गर्दछन् कि उनीहरुका अगाडि तलबको अंक नगण्य भइदिन्छ । अनि एक डलर मात्र तलब बुझेर उनीहरुले आफू मातहतका कर्मचारीहरुमा राम्रो सन्देश दिने र नैतिक दबाव पनि सिर्जना गर्ने प्रयत्न गर्दछन् ।

स्मरणरहोस् १९ औं शताब्दीको सुरुवातमा युद्धको अवस्था रहेको बेलासमेत अमेरिकाका ठूला कम्पनीका शीर्षस्थ पदाधिकारीहरुले एक डलर तलब लिने चलन सुरु गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment