Comments Add Comment

मेरै कप्तानीमा नेपाललाई यू-१९ विश्वकप खेलाउँछु : रोहितकुमार

२८ चैत, काठमाडौं ।  नेपाली युवा क्रिकेट टिम मुख्य प्रतियोगिताको मुखैमा छ । शुक्रबारदेखि मलेसियामा सुरु हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा विजेता बन्दै नेपालले फेरि विश्वकप खेल्ला ? कप्तान रोहितकुमार पौडेल भन्छन्, ‘अवश्य खेल्छ ।’

राष्ट्रिय टोलीबाट समेत खेलिसकेका रोहितको कप्तानीमा रहेका टोली यो पटक निकै उत्साहित छ । आयोजक मलेसिया, यूएई, सिंगापुर, कुवेत र ओमानसहित ६ देश सहभागी प्रतियोगितामा सबैभन्दा बलियो टिमको रुपमा पनि नेपाललाई लिइएको छ ।

राष्ट्रिय टिमका नियमित सदस्य रोहितकुमारले पहिलो पटक नेपाली टिमको कप्तानको जिम्मेवारी सम्हाल्दै छन् । गत वर्ष नामिवियाविरुद्ध आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपाली टिमबाट डेब्यु गरेका रोहित सिनियर टिमका पनि भरपर्दा मिडिल अर्डर ब्याट्सम्यान हुन् । उनकै कप्तानीमा नेपालले विश्वकपको ढोका खोल्ला ?

रोहितकुमारसँग अनलाइनखबरका लागि सरोज तामाङले गरेको कुराकानीको सम्पादित अंश :

मेरै कप्तानीमा नेपाललाई विश्वकप पुर्‍याउने राम्रो अवसर छ, यसलाई सदुपयोग गर्न चाहन्छु । मौका गुमाउँदिनँ

पहिलो पटक कप्तानको भूमिका निभाउँदै हुनुहुन्छ । खेलाडी र कप्तान हुनुमा के फरक रहेछ ?

खेलाडीभन्दा पनि कप्तानमा अलिक धेरै दायित्व हुन्छ । टिमलाई अगाडि बढाउन कप्तानकै मुख्य भूमिका हुन्छ । ब्याटिङ गर्दा राम्रो स्कोर बनाउँ, फिल्डिङ गर्दा बलरसँग तालमेल मिलाएर टिमलाई कसरी जिताउँ भन्ने हुन्छ ।

नयाँ जिम्मेवारी पाएको छु, टिमलाई तनावबाट छुटाउँदै कसरी जिताउन सकिन्छ भन्ने कुरामा केन्द्रित भएको छु । मैले जति राम्रो गर्‍यो, त्यति नै राम्रो टिमलाई हुने हो ।

आफ्नै कप्तानीमा नेपाललाई विश्वकपमा पुर्‍याउँछु जस्तो लाग्छ ?

हाम्रो टिमका चार जना राष्ट्रिय टिममा छन् । सबै जना अनुभवी छन् । सबैजना यू-१९ क्रिकेट टिमबाट २-३ वर्षदेखि सँगै खेल्दै आइरहेका छौं । यो पटक चाहिँ हामी एसिया क्षेत्र छनोटको विजेता हुँदै विश्वकपमा पुग्छौं भन्ने कुरामा म ढुक्क छु ।

मेरै कप्तानीमा नेपाललाई विश्वकप पुर्‍याउने राम्रो अवसर छ, यसलाई सदुपयोग गर्न चाहन्छु । मौका गुमाउँदिनँ ।

सबैभन्दा बलियो प्रतिद्वन्द्वी कुन देशलाई मान्नु हुन्छ ?

हाम्रो लागि सबै टिम उतिकै हो तर, यूएई बलियो टिमकै रुपमा गनिन्छ । यूएईको टिममा केही परिवर्तन भएको छ जस्तो लाग्छ । यसअघि बंगलादेशमा भएको खेलमा पनि यूएईले हामीविरुद्ध २७० रन बनाएको थियो । त्यसकारण पनि हाम्रो मुख्य चुनौती भनेकै यूएई हो । तर हामी यूएईलाई पराजित गर्न सक्छौं । पछिल्लो तयारीले पनि हामीमा केही कमजोरीहरु सुधार भएको छ । सबै खेलाडी विश्वस्त छन् ।

हाम्रो लागि सधैं बाधक अफगानिस्तान थियो तर, यो पटक उसले छनोट खेल्ने छैन । त्यो भएर पनि विश्वकपमा पुग्ने नेपालको बलियो आधार भएको हो ?

त्यो बेला अफगानिस्तानको टिम राम्रो थियो, हाम्रो टिममा अनुभवकै कमी हुन्थ्यो । तयारी पनि राम्रो हुने गरेको थिएन ।

यो पटक राम्रो तयारी गरेका छौं । जुनसुकै टिम हुँदा पनि हामी जित्नैको लागि खेल्छौं । पहिले पनि हामी जित्नैको लागि खेल्थ्यौं । टिम पनि राम्रो थियो तर तयारी राम्रो गरेनौं होला । अहिले धनगढी पि्रमियर लिग (डीपीएल) देखि नियमित क्रिकेट खेलिरहेका छौं । त्यसकारण सबै लयमै छन् । हामी जित्नकै लागि खेल्ने हो ।

विश्वकप छनोटकै लागि भनेर भारत भ्रमण हाम्रो लागि कतिको फलदायी बन्यो ?

हामीले १५ दिनको भारत भ्रमण गर्‍यौं । यो अवधिमा हामीले राम्रो विकेटमा खेल्न पायौं । हामीले यो दौरानमा ६ वटा खेल खेल्यौं । टिमहरु पनि सबै राम्रा थिए । खेलाडीमा पनि एक जना रन्जी ट्रफी खेलेका थिए भने आन्ध्राबाट यू-१९ टिमबाट खेलेका खेलाडी थिए ।

हाम्रा कतिपय खेलाडी नयाँ छन् । उनीहरुका लागि भारत भ्रमणले राम्रो गरेको जस्तो लाग्छ । त्यहाँ गएर खेल्दा एउटै पारीमा पनि गर्मीको कारण अर्को जर्सी परिवर्तन गर्नुपर्ने अवस्था थियो । सबै खेलाडीले त्यो गर्मी आत्मसात गरिसकेका छन् । मलेसिया र त्यहाँको उस्ताउस्तै हो मौसम । हाम्रो योजना पनि त्यहाँको मौसममा घुलमिल हुनु नै थियो । सबै खेलाडीले अभ्यासका दौरानमा राम्रो प्रदर्शन गरेका छन् ।

टिम पहिलेको भन्दा कमजोर छ या बलियो ?

यसअघिको यू-१९ टिमभन्दा अहिलेको टिम सन्तुलन लाग्छ मलाई । किनभने त्यसबेला सिनियर टिमबाट खेलिरहेका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने दाइ मात्रै हुनुहुन्थ्यो । अहिले राष्ट्रिय टिमकै चार जना खेलाडी छौं । त्यसकारण पनि बलियो लाग्छ ।

नयाँ खेलाडीबाट कस्तो अपेक्षा राख्नु भएको छ ?

चार जना नयाँ खेलाडी छन् । कुशल मल्ल, प्रतिस जिसी, हरि चौहान र अविषेक बस्नेत । सबैले कुनै न कुनै खेलमा राम्रो प्रदर्शन गरेका छन् । उनीहरु प्रतिभावान छन्, त्यसकारण अपेक्षा छ । खेल जिताउन सक्ने क्षमता भएका खेलाडी हुन् उनीहरु ।

उमेर समूह मात्र होइन, सिनियर टिममा पनि हाम्रो समस्या ब्याटिङ हो, यो पटक कतिको सुधार भएको छ ?

यो पटक राम्रो छ । पहिलेको भन्दा सुधार भएको छ । १ देखि ७-८ सम्म ब्याटिङ गर्न सक्ने खेलाडी छन् । अलराउन्डर छन् । ब्याटिङ मात्रै होइन, बलिङ पनि राम्रो छ ।

सागर ढकाल, सुर्य लामा, पवन सर्राफ र कुशल जस्ता स्पिनर । फाष्ट बलरहरु पनि राम्रा छन् । जस्तो कमलसिंह ऐरी, राशिद खान भयो । अब हेरौं मैदानमा कस्तो खेल्छन् ?

विश्वकपमा छनोट हुने नेपालको बलियो पक्ष के हो ?

नेपालको बलियो पक्ष ब्याटिङ जस्तो लाग्छ । ब्याट्सम्यानले आफ्नो भूमिका निभाए राम्रो स्कोर बनाउन सक्छौं ।

यो भएपछि बलरलाई सजिलो हुन्छ । भारत भ्रमणले पनि ब्याट्सम्यानमा आत्मविश्वास बढेको छ, राम्रो रन बनाउन सक्ने भएका छौं । सबै ब्याट्सम्यान शतक हान्न सक्ने छन् । हाम्रो एकदेखि ६ नम्बरसम्मका ब्याट्सम्यानले शतक प्रहार गर्न सक्छन् ।

नेपालको सुधार गर्नु पर्ने पक्ष चाहिँ के छ जस्तो लाग्छ ?

हामी सबै जना युवा छौं । खेल्दै गर्दा उत्साहमा हामी केही फरक गर्न खोजिरहेका हुन्छौं । त्यो बेला टिमलाई खतरा हुन सक्छ । जस्तो ६०-६५ को स्कोरमा ३-४ विकेट गयो भने यस्तो अवस्थामा हामीले आफ्नो लागि भन्दा पनि टिमको लागि ध्यान दिएर खेल्नु पर्ने हुन्छ । हामी ४-५ जनाबाहेक अन्य सबै कम अनुभवका खेलाडी छन् । त्यसकारण अनुभवी खेलाडीले नयाँ साथीहरुलाई गाइड गर्न सक्यौं भने राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment