Comments Add Comment

जेब्रा क्रसिङमा नरोके पाँच सय, सूर्तिजन्य पदार्थ सेवन गरी गाडी चलाए १ हजार जरिवाना

२८ चैत, काठमाडौं । काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ ।  पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तब्य तोकिएको छ ।  ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको छ ।

यो कसुरमा चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।  यस्तै निर्धारित बाहेकका स्थानमा सवारी साधन रोक्ने, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने र निर्धारित पोशाक नलगाई सवारी साधन चलाउने चालकमाथि पनि सोही जरिवाना हुनेछ ।

बस स्टपमा निर्धारित समय भन्दा बढी समय सवारी साधन रोक्ने, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउने चालकमाथि पनि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यो ऐन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको हकमा लागू गर्न लागेको हो । प्रमाणीकरण भई एक महिनाभित्र ऐन कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।

‘यौन दुव्र्यवहार गरे बर्खास्त’

महानगरपालिकाले सवारी चालकमाथि थप निषेधित कार्यहरु तोकि सार्वजनिक यतायातलाई व्यवस्थित र मर्यादित बनाउन खोजेको छ । यसैले कसुरअनुसार जरिवाना रकम पनि बढी राखिएको छ ।

ऐनअनुसार अब सवारी साधनमा अश्लिल फोटो टाँस्ने, अश्लिल गीत बजाउने, जथाभावी पार्किङ गर्ने, निर्धारित रुटमा सवारी साधन चलाउन इन्कार गर्ने चालकमाथि जरिवाना गरिनेछ ।

उल्लेखित कसुर गर्ने चालकमाथि अब पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँ जरिवाना हुनेछ ।  यस्तै मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुब्र्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने चालकमाथि पहिलो पटक हजार रुपैयाँ जरिवाना गरिनेछ ।

अनुगमनका क्रममा दोस्रो पटक पनि सोही कसुर गरेको भेटिए सेवाबाटै हटाउन सम्बन्धित कम्पनी वा संस्थालाई सिफारिश गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

यि कसुरमा अनुगमन समितिको सिफारिस अनुसार सम्बन्धित कम्पनी वा संस्थाले कारवाही गर्नै पर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।

बढी भाडा लिए परिचालकमाथि कारवाही

महानगर क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न भन्दै जारी गरिएको ऐनमा परिचालकहरुको पनि कर्तब्य तोकिएको छ । साथै त्यो पालना नगरे कारवाहीको व्यवस्था ऐनमा छ ।

सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने परिचालकले यात्रु, चालक तथा अन्य व्यक्तिसँग शिष्ट, शालिन र सभ्य व्यवहार गर्नुपर्नेछ ।
यस्तै यात्रुसँग सरकारले तोकेको भाडादर भन्दा बढी रकम लिए, टिकट दिन नमाने, भाडाबाहेकको रकम फिर्ता गर्न आलटाल गरे, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने, निर्धारित पोशाक लगाई काम गरे पनि कारवाहीको भागिदार बन्नुपर्नेछ ।

यी कसुरमा पलिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।  सवारी साधनमा मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गर्ने, यौनजन्य दुब्र्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य कार्य गर्ने परिचालकमाथि सोझै पाँच सय रुपैयाँ जरिवाना गरिनेछ ।

अनुगमनका क्रममा दोस्रो पटक पनि सोही कसुर गरेको भेटिए त्यस्ता परिचालकलाई सेवाबाटै हटाउन अनुगमन समितिले सम्बन्धित कम्पनी वा संस्थालाई सिफारिस गर्नेछ ।

अनुगमन गर्न समिति गठन 

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न भन्दै ल्याइएको ऐन कार्यान्वयनका लागि अनुगमन समिति गठन गरिनेछ । महानगरपालिकाको नगर कार्यपालिकाको कुनै एक सदस्यको संयोजकत्वमा गठन हुने यस्तो समितिमा सरोकारवाला निकायका एक(एक जना प्रतिनिधि सदस्य रहनेछन् ।

समितिमा अधिकृतस्तरको ट्राफिक प्रहरी, अधिकृतस्तरको नगर प्रहरी, सार्वजनिक यातायात सेवा प्रदायकका तर्फबाट तोकिएको एक जना प्रतिनिधि सदस्य हुनेछन् ।

यस्तै उपभोक्ता हित संरक्षण सम्बद्ध संघ संस्थाहरुमध्येबाट महानगरपालिकाले तोकेको एक जना प्रतिनिधि सदस्य र महानगरपालिकाको यातायात व्यवस्थापन हेर्ने विभागको प्रमुख समितिको सदस्य सचिव छन् ।

यस्तो समितिले जुनसुकै स्थान तथा समयमा सार्वजनिक यातायातको साधनको नियमन, जाँच, आवश्यक निर्देशन वा कारवाहीका लागि सम्बन्धित निकायमा लेखेर पठाउन सक्ने छ ।

यो पनि पढ्नुहोस काठमाडौं महानगरमा सवारी चलाउन १० पास अनिवार्य ! यो पनि पढ्नुहोस गाडीमा नक्कली परिचयपत्र देखाए ५ सय, फोहर गरेमा १ हजार जरिवाना यो पनि पढ्नुहोस रुटअनुसार गाडीको रङ फरक-फरक, पालना नगरे दुई हजार जरिवाना यो पनि पढ्नुहोस काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य यो पनि पढ्नुहोस काठमाडौं महानगरभित्रका बस अब राति १० बजेसम्म चल्नैपर्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment