Comments Add Comment

डोटी प्रहरीको बास : हावाहुरी र पानी पर्दा त्रास

पूर्वाधार अभाव झेल्दै डोटीका अधिकांश प्रहरी चौकी

३० चैत, डोटी । सानो टिनको कटेरो । बार टिनकै, छाना अनि ढोका पनि टिनकै । बार र छतमा लगाइएका टिन ठाउँ–ठाउँमा प्वाल परेका छन् । छतको टिनलाई फाटेका टायर र ढुङ्गाले च्यापिएको छ । टाँढाबाट झट्ट हेर्दा कुनै सर्वसाधारण परिवारको शौचालय जस्तै लाग्छ । तर, त्यो शौचालय होइन, ६ जना प्रहरी जवानहरु सुत्ने ब्यारेक हो ।

यस्तै कटेरा छन्, जिल्ला प्रहरी कार्यालयमा । प्रहरी कर्मचारीहरुले निवासदेखि भान्सासम्म यस्तै कटेरोमा दिन बिताउनु परिरहेको छ ।

‘संरचनाहरु यस्तै छन्, यसैमा एड्जष्ट गर्नु परेको छ’, जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक प्रहरी कर्मचारी भन्छन्, ‘पानी पर्दा र हावाहुरी चल्दा डर लाग्छ ।’

जवानदेखि जुनियर प्रहरी अधिकृतसम्मले यसरी नै गुजारा गरिरहनु परेको उनको भनाइ छ । वर्षाको पानीभित्र पसेर कैयौं दिन आफूहरुका पोशाकसमेत भिज्ने गरेको प्रहरी कर्मचारीहरुको भनाइ छ ।

त्यसो त कार्यालय भवन पनि पर्याप्त छैन । पुरानो दुईतले भवनमा दैनिक कार्य सञ्चालनमा समेत समस्या हुने गरेको प्रहरी कर्मचारीहरुको भनाइ छ । प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको कार्यकक्ष सानो एउटै कोठामा छ । मुद्दा फाँट र थुनुवा कोठा साँगुरा छन् । गाउँमा रहेका प्रहरी चौकीका भवनहरुभन्दा सानो छ जिल्ला प्रहरी कार्यालयको भवन । व्यारेकको दुर्दशा अझै उस्तै छ ।


०७२ चैत्र २३ गते तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुदूरपश्चिम भ्रमणको सिलसिलामा डोटी पुग्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय डोटीको भौतिक संरचना बनाउने र जिल्लाका आवश्यक ठाउँहरुमा थप प्रहरी इकाईहरु थप्ने बताएका थिए । अर्यालले प्रहरी संगठनको नेतृत्व सम्पेको कही वर्ष भइसकेको छ तर जिल्ला प्रहरी कार्यालयको भौतिक संरचनामा कुनै सुधार आएको छैन । उनी पछि दुई जना प्रहरी प्रमुख फेरिएका छन् तर जिल्ला प्रहरी कार्यालय डोटीको संरचना उस्तै छ ।

तत्काल भवन बन्ने कुनै संकेत नभएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामी वताउँछन् । करिब एक सय जना प्रहरी कर्मचारीहरु प्रहरी कार्यालयभित्रै बस्ने गरेको धामीको भनाइ छ । परिवार ल्याएर आउने प्रहरी कर्मचारीबाहेक अरु सबैलाई कार्यालयभित्रै बस्नुपर्ने नियम वनाएको जानकारी उनले दिए ।

प्रहरी प्रमुख नै अर्काको घरमा

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षको निवास पनि प्रहरीको आफ्नो होइन । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको उक्त भवन ०४६/४७ सालतिर तत्कालीन सार्वजनिक निर्माण शाखाले निर्माण गरेको हो ।उक्त भवन प्रहरी प्रमुखको निवासको रुपमा प्रयोग हुँदै आएको छ ।

यस्तै प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकहरुको निवास जिल्ला प्रशासन कार्यालयको भवनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment